बैंकहरूले ‘लोन प्याकेज’ पुनरवलोकन गर्नुपर्छ : गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरूले ‘लोन प्याकेज’हरू पुनरवलोकन गर्नुपर्ने बताएका छन् ।
सोमबार (मंसिर १५) नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिक साधारणसभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरूबाट बैंकहरूको ‘लोन’का बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरूले त्यस्ता प्याकेजहरू पुनरावलोकन गर्ने बेला आएको बताए । उद्योगी, व्यवसायीहरूसँग छलफल गरेर बैंकका सीईओहरूले त्यस्ता प्याकेजहरू डिजाइन गर्नुपर्ने उनको भनाइ छ ।
अहिलेका प्याकेजहरू त्यसरी डिजाइन नगर्दा प्रभावकारी रूपमा ऋण प्रवाह हुन नसकेको पौडेलले बताए । जसका कारण व्यापक रूपमा बैंकमा पैसा थ्रुपिएको उनको भनाइ छ । बैंकहरूको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत उनले बताए । यस विषयमा आफूले बैंकका सीईओहरूसँग आगामी हप्ता छलफल गर्न लागेको पौडेलको भनाइ छ ।
मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै गभर्नर पौडेलले यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीलाई ऋणका लागि सहजता थप्ने बताए । राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने उनको भनाइ छ ।
बैंकहरूलाई महानगरभित्र शाखा खोल्ने, गाभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको पौडेलको भनाइ छ । त्यसले बैंकहरूले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको उनले बताए ।
