धरानमा दसैँमा २६ करोड बढीको खसी बोका कारोबार
सुनसरी । बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष रु २६ करोड २५ लाख बराबरको खसी बोका कारोबार भएको छ ।
कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि ल्याएका खसी बोकाको माग बढेपछि गत वर्षको तुलनामा यस वर्ष करिब १५ प्रतिशतले कारोबार वृद्धि भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
गत वर्ष २०८२ को दसैँमा कृषि उपज बजारबाट रु २३ करोड बराबरको खसी बोका कारोबार भएको थियो । दसैँमा मासुको खपत बढ्ने भएकाले धरानको खसी बोका बजारमा हरेक वर्ष कारोबार बढ्ने गरेको व्यवस्थापक भट्टराईले बताए ।
कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसी बोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् । धरान कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी बोकाको किनबेच हुने गरेको छ । हप्तामा विशेष गरी बिहीबार र शुक्रबारका दिन खसी बोकाको बजार लाग्ने भएकाले उल्लेख्य सङ्ख्यामा व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।
धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, मोरङको कानेपोखरी, बेलबारीसहित तराई क्षेत्रबाट पनि किसान तथा व्यापारी खसी बोका खरिदबिक्रीका लागि यहाँ आउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए ।
धरानमा खरिद बिक्री हुने खसी बोका छिमेकी देश भारतसम्म निर्यात हुने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ । कोशी प्रदेशकै व्यवस्थित खसीबजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमासमेत योगदान पुर्याएको व्यवस्थापक भट्टराईले बताए ।
