`

अमेरिकाका ७ करोड बालबालिकालाई स्पेसएक्सको सेयर बाँड्दै मस्क

Nepal One HD ४ कार्तिक २०८३ १३:३२
अर्थ समाचार
काठमाडौं । अमेरिकी अर्बपति इलोन मस्कले आगामी वर्ष अमेरिकाका करिब ७ करोड २० लाख बालबालिकालाई आफ्नो रकेट कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने घोषणा गरेका छन्। हालको मूल्यअनुसार उक्त सेयरको कुल मूल्य करिब एक खर्ब रुपैयाँ पुग्ने अनुमान छ।

मस्कले सामाजिक सञ्जालमार्फत योजना सार्वजनिक गरे पनि सेयर वितरणको प्रक्रिया, उमेर सीमा र गैरनागरिक बालबालिकाको योग्यताबारे खुलाएका छैनन्। सेयर बालबालिकाको नाममा कसरी राखिनेछ र अभिभावकले बिक्री वा हस्तान्तरण गर्न पाउनेछन् कि पाउने छैनन् भन्ने पनि स्पष्ट छैन।

त्यस्तै, हाल स्पेसएक्सको एक कित्ता सेयरको मूल्य १४६ अमेरिकी डलर अर्थात् करिब १४ हजार रुपैयाँ रहेको बताइएको छ। सन् २०२६ जुन ३० सम्मको विवरणअनुसार कम्पनीमा मस्कको ४८.४ प्रतिशत स्वामित्व छ, जसको मूल्य करिब ८६० अर्ब अमेरिकी डलर रहेको उल्लेख छ।

मस्कको घोषणासँगै नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनमा यसको सम्भावित राजनीतिक प्रभावबारे पनि चर्चा सुरु भएको छ। यद्यपि, निर्वाचनमा लाभ लिनकै लागि उनले यस्तो घोषणा गरेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले पनि निश्चित सर्त पूरा गर्ने सन् २०२५ देखि २०२८ सम्म जन्मिएका बालबालिकाका खातामा एक हजार अमेरिकी डलर जम्मा गर्ने योजना अघि सारेको छ।

साथै, सन् २००२ मा स्थापना भएको स्पेसएक्सले पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको विकासमार्फत अन्तरिक्ष अभियान र उपग्रह प्रक्षेपणको लागत घटाउन योगदान दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *