भोकै राखेर १९१ जनाको हत्या गरेको अभियोगमा केन्याली पास्टर दोषी ठहर
न्यायाधीश डायना काभेद्जाले गुड न्यूज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीले अनुयायीहरूलाई मृत्युसम्म उपवास बस्न बाध्य पार्ने योजनाबद्ध प्रणाली सञ्चालन गरेको ठहर गरेकी छन्। अदालतका अनुसार उक्त योजनाअन्तर्गत सुरुमा बालबालिकालाई भोकै बस्न लगाइएको थियो। भोकै बस्न अस्वीकार गर्ने, भाग्न खोज्ने वा खाना खान चाहनेहरूलाई रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो। उनीहरूलाई कुटपिटसमेत गरिने गरेको अदालतले जनाएको छ।
म्याकेन्जीले आफ्ना अनुयायीलाई शिक्षा र स्वास्थ्य सेवाबाट समेत टाढा रहन निर्देशन दिएका थिए। चिकित्सा उपचारलाई ‘शैतानको साधन’ भन्दै त्यसबाट टाढा रहन प्रेरित गरिएको न्यायाधीशले बताइन्। धार्मिक आस्थाको आडमा अनुयायीलाई आधारभूत सेवा र उपचारबाट वञ्चित गराउँदै मृत्युको मुखमा पुर्याइएको अभियोजन पक्षको दाबी थियो।
सन् २०२३ मा केन्याको तटीय क्षेत्र किलिफी काउन्टीस्थित साकाहोला जङ्गलका उथला चिहानबाट ४०० भन्दा बढी शव निकालिएका थिए। घटनाले केन्यामा धार्मिक संस्थाको गतिविधि, धर्मगुरुको जवाफदेहिता र अनुयायीको सुरक्षाबारे गम्भीर प्रश्न उठाएको थियो। घटनापछि म्याकेन्जी, उनकी श्रीमतीसहित दर्जनौँ व्यक्तिविरुद्ध मुद्दा चलाइएको थियो। तर, म्याकेन्जीले आफूमाथिका आरोप अस्वीकार गर्दै अनुयायीहरूलाई भोकै बस्न बाध्य नपारेको दाबी गर्दै आएका थिए।
त्यस्तै, घटनामा आफ्नी आमा, दाइ र दुई भतिजा गुमाएका विलियम पोन्डा न्गालाले अदालतको फैसलाले राहत दिएको बताएका छन्। उनले यस फैसलाले भविष्यमा धार्मिक नेताहरूबाट हुने शोषण रोक्न र यस्ता घटनाको पुनरावृत्ति हुन नदिन महत्त्वपूर्ण सन्देश दिने आशा व्यक्त गरेका छन्।
यसअघि उच्च अदालतले म्याकेन्जीविरुद्धका हत्या अभियोग १२ वटामा सीमित गर्न निर्देशन दिएको थियो। तर, सन् २०२५ को अप्रिलमा पुनरावेदन अदालतले कानूनले अभियोगको संख्या सीमित नगरेको ठहर गर्दै उनी र सहअभियुक्तहरूविरुद्ध १९१ वटा हत्या अभियोग अघि बढाउन अनुमति दिएको थियो।
म्याकेन्जीको सजाय निर्धारणसम्बन्धी सुनुवाइ अक्टोबर ३० मा हुने र नोभेम्बर ६ मा सजाय सुनाइने तय भएको छ। साथै, ४०० भन्दा बढी शव फेला परेको घटनामा १९१ जनाको हत्यामा दोषी ठहर भएसँगै धार्मिक विश्वासको आडमा भएको भनिएको अनुयायीमाथिको चरम शोषण र मानवीय क्षतिको विषय फेरि चर्चामा आएको छ।
