`

दसैँ तिहारमा प्रहरीको २४ घण्टे निगरानी, मापसेदेखि बढी भाडासम्म कडाइ

Nepal One HD ४ कार्तिक २०८३ १३:१०
प्रशासन
काठमाडौं । दसैँतिहारमा यात्रुको सुरक्षा र ठगी नियन्त्रण गर्न नेपाल प्रहरीले देशभर २४ सै घण्टा सुरक्षा निगरानी बढाएको छ। लामो दूरीका सवारीचालकको मापसे-लापसे परीक्षण, सवारीसाधनको अवस्था जाँच, बढी भाडा असुली नियन्त्रण तथा राजमार्गका होटलमा छड्के अनुगमनलाई तीव्र पारिएको छ।

प्रहरी प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेका अनुसार चाडपर्वलक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा छ। नागरिकको सुरक्षाका लागि प्रहरी कर्मचारीको नियमित बिदासमेत स्थगित गरी सुरक्षाकर्मी परिचालन गरिएको छ।

त्यस्तै, लामो दूरीका सवारीसाधन छुट्ने स्थानमै चालकको अनुमतिपत्र, सवारीको यान्त्रिक अवस्था तथा मादकपदार्थ र लागुऔषध सेवन गरे-नगरेको जाँच भइरहेको छ। मापसे-लापसे गरेको पाइएमा चालकलाई कानुनी कारबाही गरी यात्रु अलपत्र पर्न नदिन वैकल्पिक चालकको व्यवस्था मिलाइने प्रहरीले जनाएको छ।

राजमार्गका होटल तथा पसलमा गुणस्तरहीन खाना बिक्री, बढी मूल्य असुली र ठगी नियन्त्रण गर्न प्रहरीसहित सम्बन्धित सरकारी निकायले छड्के अनुगमन गरिरहेका छन्। काठमाडौंका नागढुंगा, फर्पिङलगायत प्रमुख नाकामा यात्रुसँग बढी भाडा लिए-नलिएको विषयमा पनि निगरानी बढाइएको छ।

राजमार्ग र सहरका भित्री क्षेत्रमा क्यूआरटी तथा सीआरभी टोली नियमित गस्तीमा छन्। भीडभाड हुने बजार, धार्मिक स्थल र मेलापर्वमा सीसीटीभी, ड्रोन, तालिमप्राप्त कुकुर तथा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।

आपत्कालीन अवस्थामा १०० नम्बरमा सम्पर्क हुन नसके नेपाल प्रहरीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयका डिउटी अधिकृतमार्फत सहयोग माग्न सकिने व्यवस्था गरिएको प्रवक्ता काफ्लेले बताए।

साथै, बाढीपहिरो तथा आकस्मिक दुर्घटनामा तत्काल उद्धार गर्न केन्द्रीय विपद् तालिम केन्द्र, प्रदेशस्तरीय गुल्म र देशभरका प्रहरी इकाइलाई तयारी अवस्थामा राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *