दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सञ्चालन
काठमाडौ। दसैँका बेला सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा दुईवटा निःशुल्क बस सञ्चालन गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार निःशुल्क बस सेवा सोमबार, कात्तिक २ गतेदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। कात्तिक ४ गतेसम्म चल्ने बस बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछन्।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीका अनुसार पहिलो बस प्रधान कार्यालयबाट छुटेर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै सञ्चालन हुनेछ। त्यस्तै, दोस्रो बसले प्रधान कार्यालयबाट सीतापाइला, कलङ्की, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई सेवा दिनेछ।
दुवै बसमा यात्रुले निःशुल्क यात्रा गर्न पाउनेछन्। साथै, दसैँका बेला सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुँदा सर्वसाधारणले भोग्नुपर्ने असुविधा कम गर्ने र गन्तव्यसम्मको यात्रा सहज बनाउने उद्देश्यले सशस्त्र प्रहरीले यो सेवा सञ्चालन गरेको हो।
