रातो मासुमा पाइने चिनीले मधुमेहको जोखिम ६३ प्रतिशतसम्म बढाउन सक्ने
युरोपेली मधुमेह अध्ययन सङ्घको वार्षिक बैठकमा प्रस्तुत गरिएको अनुसन्धानमा फ्रान्सको दीर्घकालीन पोषण, जीवनशैली तथा स्वास्थ्यसम्बन्धी अध्ययनका ८९ हजार ९५३ जनाको तथ्याङ्क विश्लेषण गरिएको थियो। सहभागीलाई औसत ७.२ वर्षसम्म पछ्याउँदा ९६६ जनामा टाइप-२ मधुमेह देखिएको थियो।
अध्ययनमा उक्त चिनी सबैभन्दा बढी सेवन गर्ने समूहमा मधुमेहको जोखिम ६३ प्रतिशत र दोस्रो उच्च सेवन गर्ने समूहमा ४१ प्रतिशत बढी देखिएको थियो। उमेर, लिङ्ग, शारीरिक गतिविधि, खानपानको गुणस्तर र धूमपानजस्ता पक्षलाई ध्यानमा राखेर विश्लेषण गर्दा पनि यो सम्बन्ध देखिएको थियो।
धेरैजसो स्तनधारी जनावरको शरीरमा यो चिनी प्राकृतिक रूपमा उत्पादन हुन्छ। तर, प्राचीन समयमा भएको आनुवंशिक परिवर्तनका कारण मानिसको शरीरले यसलाई आफैँ बनाउन सक्दैन। रातो मासु तथा केही दुग्धजन्य पदार्थबाट यो शरीरमा प्रवेश गर्न सक्छ। शरीरका कोषमा बाह्य पदार्थ समावेश हुँदा प्रतिरक्षा प्रणालीले त्यसविरुद्ध प्रतिपिण्ड उत्पादन गर्न सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
यसबाट उत्पन्न हुने दीर्घकालीन प्रतिरक्षा प्रतिक्रियालाई वैज्ञानिक भाषामा ‘जेनोसियालाइटिस’ भनिन्छ। यसअघि यस प्रक्रियालाई मुटुसम्बन्धी रोग र क्यान्सरसँग जोडेर अध्ययन गरिएको थियो। पछिल्लो अनुसन्धानले मधुमेहसँग पनि यसको सम्बन्ध हुन सक्ने सम्भावना देखाएको छ।
अध्ययनमा सबैभन्दा बढी उक्त चिनी सेवन गर्ने समूहका पुरुषले दैनिक औसत ९७ ग्राम र महिलाले ७३ ग्राम रातो मासु खाने गरेको पाइएको थियो। प्रशोधित मासुसमेत जोड्दा पुरुषको दैनिक सेवन १३६ ग्राम र महिलाको ९६ ग्राम पुगेको थियो। सबैभन्दा कम सेवन गर्ने समूहमा प्रशोधित मासुसहित कुल मासुको दैनिक मात्रा पुरुषमा २१ ग्राम र महिलामा नौ ग्राम थियो।
शरीरको तौल र उचाइका आधारमा गणना गरिने शारीरिक तौल सूचकाङ्कलाई ध्यानमा राख्दा उक्त चिनी र मधुमेहबीचको सम्बन्ध केही कमजोर भए पनि कायम रहेको थियो। अनुसन्धानकर्ताहरूले मोटोपनले यस सम्बन्धको करिब १३ प्रतिशत हिस्सा व्याख्या गर्न सक्ने अनुमान गरेका छन्। शरीरमा हुने सूजनले इन्सुलिन उत्पादन गर्ने कोष तथा इन्सुलिनप्रति प्रतिक्रिया दिने तन्तुमा असर पार्न सक्ने सम्भावना पनि औँल्याइएको छ।
तर, कुल रातो मासुको सेवनलाई समेत हिसाब गर्दा उक्त चिनी र मधुमेहबीचको सम्बन्ध तथ्याङ्कीय रूपमा महत्त्वपूर्ण रहेन। यसले मधुमेहको जोखिममा उक्त चिनीको मात्रै प्रभाव छ वा रातो मासुमा पाइने अन्य तत्त्वको पनि भूमिका छ भन्ने स्पष्ट हुन नसकेको देखाउँछ।
दूध तथा दुग्धजन्य पदार्थबाट प्राप्त हुने उक्त चिनी र मधुमेहबीच भने उल्लेखनीय सम्बन्ध भेटिएन। सबै खाद्य स्रोतबाट प्राप्त हुने चिनीको कुल मात्रा विश्लेषण गर्दा सबैभन्दा बढी सेवन गर्ने समूहमा मधुमेहको जोखिम ३७ प्रतिशत बढी देखिएको थियो।
अनुसन्धानकर्ताहरूले आगामी अध्ययनमा रातो मासुमा पाइने उक्त चिनीका साथै हेम आइरन अर्थात् मासुबाट प्राप्त हुने एक प्रकारको फलामको भूमिकासमेत जाँच गर्ने योजना बनाएका छन्।
साथै, उक्त चिनीविरुद्ध शरीरले उत्पादन गर्ने प्रतिपिण्डको प्रत्यक्ष मापन गरेर प्रतिरक्षा प्रणालीको भूमिकाबारे थप प्रमाण जुटाउने उनीहरूको तयारी छ।
