`

अफगानिस्तानमा भोकमरीको कहर, ५३ लाख महिला-बालबालिका कुपोषणको चपेटामा

Nepal One HD १ कार्तिक २०८३ १५:४८
जीवनशैली/स्वास्थ्य

एजेन्सी। अन्तर्राष्ट्रिय सहायता घट्दै गएको र खाद्यान्नको मूल्य बढेको असर अफगानिस्तानमा गम्भीर रूपमा देखिन थालेको छ। भोकमरी र कुपोषणको संकट चुलिँदा हजारौँ बालबालिका उपचारबाट वञ्चित हुने जोखिममा छन्। संयुक्त राष्ट्रसङ्घीय निकायहरूको प्रक्षेपणअनुसार सन् २०२७ मा अफगानिस्तानका करिब ५३ लाख महिला तथा बालबालिकालाई कुपोषणको उपचार आवश्यक पर्नेछ।

काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षमा पनि संकट देखिएको छ। त्यहाँ रहेका २० वटै शय्या कुपोषित बालबालिकाले भरिएका छन्। उपचारका लागि आउने सबै बालबालिकालाई सेवा दिन स्वास्थ्य संस्थासँग पर्याप्त स्रोतसाधन छैनन्। अन्तर्राष्ट्रिय सहायता घट्दा पोषण उपचार कार्यक्रम प्रभावित भएका छन् भने जीवनरक्षक उपचार आवश्यक भएका बालबालिकासमेत सेवाबाट वञ्चित हुने जोखिम बढेको छ।

तीन वर्षीया कलसौमकी आमा मलिकाका लागि यो संकट आफ्नै परिवारको जीवनमरणको लडाइँ बनेको छ। केही महिनाअघि मात्रै उनले कुपोषणकै कारण पाँच वर्षीया छोरी खदिजालाई गुमाएकी थिइन्। अहिले कान्छी छोरी पनि त्यही समस्यासँग जुधिरहेकी छन्। दुवै छोरीका हातखुट्टा पातला हुनुका साथै हात, खुट्टा र पेट सुन्निएका थिए, जुन गम्भीर कुपोषणका लक्षण हुन्।

२५ वर्षीया मलिका छोरीको शय्याछेउ बसेर आँसु पुछ्दै भन्छिन्, ‘म कान्छी छोरीलाई लिएर चिन्तित छु। उनको पनि मृत्यु हुन सक्छ।’ उनका श्रीमान् दैनिक ज्यालादारीमा काम गर्छन्। आम्दानी निकै कम भएकाले परिवारको खर्च धान्न र बालबालिकालाई पोषिलो खाना खुवाउनसमेत कठिन छ।

विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अफगानिस्तानस्थित देशीय निर्देशक जोन एलिफका अनुसार आगामी महिनाहरूमा करिब एक करोड ९० लाख मानिसले जीवन जोखिममा पार्ने स्तरको तीव्र भोकमरी सामना गर्नुपर्नेछ। यो अफगानिस्तानको कुल जनसङ्ख्याको झन्डै ४० प्रतिशत हो। सन् २०२६ नोभेम्बरदेखि २०२७ अप्रिलसम्मको अवधिमा करिब एक करोड ९२ लाख मानिस खाद्य असुरक्षाको उच्च जोखिममा रहने अनुमान छ। तीमध्ये करिब ५० लाख मानिसले आपत्कालीन स्तरको भोकमरी सामना गर्नुपर्ने देखिएको छ।

अन्तर्राष्ट्रिय सहायता कटौतीले संकट थप चर्काएको छ। डब्लुएफपीसँग सन् २०२२ को तुलनामा अहिले करिब १२ प्रतिशत मात्रै आर्थिक स्रोत बाँकी रहेको एलिफले बताएका छन्। स्रोत अभावका कारण कुपोषित महिला तथा बालबालिकालाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्‍याउँदा पनि सात जनामध्ये छ जनालाई फर्काउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

खाद्यान्नको मूल्यवृद्धि, रोजगारीको अभाव, पाकिस्तानसँगको सीमा नाकामा जारी अवरोध, छिमेकी देशबाट फर्काइएका लाखौँ अफगानी नागरिक र प्राकृतिक विपत्तिले पनि परिवारको जीवन कठिन बनाएको छ। खाद्यान्न महँगिँदा गरिब परिवारले आवश्यक पोषणयुक्त खाना किन्न सकिरहेका छैनन्। यसले विशेषगरी बालबालिका तथा गर्भवती र स्तनपान गराइरहेका महिलालाई बढी जोखिममा पारेको छ।

अनुमानअनुसार सन् २०२७ मा ४० लाखभन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको उपचार आवश्यक पर्नेछ। तीमध्ये करिब १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणबाट प्रभावित हुने अनुमान छ। गर्भवती तथा स्तनपान गराइरहेका करिब १३ लाख महिलासमेत कुपोषणको जोखिममा रहनेछन्।

समयमै उपचार नपाए गम्भीर कुपोषणले बालबालिकाको ज्यानै लिन सक्छ। तर सहायता घट्दै जाँदा उपचार केन्द्रहरूको क्षमता सीमित भएको छ। खाद्यान्न र पोषण सेवामा पहुँच कठिन बन्दै गएकाले अफगानिस्तानका लाखौँ मानिसको खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ। अन्तर्राष्ट्रिय सहायता पर्याप्त मात्रामा उपलब्ध हुन नसके भोकमरी र कुपोषणका कारण थप बालबालिकाले ज्यान गुमाउनुपर्ने जोखिम बढ्ने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *