युक्रेनबिनै युद्ध वार्ता गर्न पुटिनको प्रस्ताव, ट्रम्प र सीसँग बैठकको तयारी
काठमाडौं । युक्रेन युद्धको अन्त्य खोज्ने नाममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ कूटनीतिक दाउ अघि सारेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव राखेका छन् । तर युद्धको प्रत्यक्ष मार खेपिरहेको युक्रेनलाई नै वार्ताबाट बाहिर राख्ने सम्भावनाले यो प्रस्तावलाई थप चासो र विवादको विषय बनाएको छ ।
पुटिनले अक्टोबर ९ मा ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा यस्तो प्रस्ताव अघि सारेको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकबारे छलफल भइरहेको पुष्टि गरे पनि मिति र कार्यसूचीमा सहमति भइनसकेको बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार ट्रम्पले पनि सम्मेलनमा सहभागी हुने औपचारिक निर्णय गरिसकेका छैनन् ।
रुसले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा त्रिपक्षीय वार्ता गर्ने प्रस्ताव गरेको बताइएको छ । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीहरूसमक्ष प्रस्ताव राखिसकेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने संकेत पाएको स्रोतहरूको दाबी छ ।
प्रस्ताव कार्यान्वयन भएमा युक्रेन युद्धबारे रुस, अमेरिका र चीनका शीर्ष नेताबीच छलफल हुनेछ । तर युद्धको एक प्रमुख पक्ष युक्रेन र अमेरिकाका युरोपेली सहयोगीहरूलाई सहभागी नगराई समाधान खोज्ने प्रयासले युद्ध अन्त्यको प्रक्रिया कता मोडिन्छ भन्ने प्रश्न उब्जाएको छ ।
यसैबीच, ट्रम्पले आइतबार रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको वार्तामा ‘ठूलो प्रगति’ भएको दाबी गरेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट टाढा राख्न नहुने बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गरेका छन् । उनको अभिव्यक्तिले युद्ध अन्त्यका लागि कूटनीतिक पहल अघि बढिरहेको संकेत गरे पनि प्रस्तावित सम्झौताको स्वरूप र त्यसमा सम्बन्धित पक्षहरूको सहमति भने स्पष्ट भइसकेको छैन ।
यस महिनाको सुरुतिर पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार वार्तामा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । दुवै नेताले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पनि चर्चा गरेका थिए ।
उक्त वार्तापछि ट्रम्पले रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप ढुवानी हुने घोषणा गरेका थिए । उशाकोभले एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने बताएका छन् ।
अब पुटिनको प्रस्तावले औपचारिक रूप लिन्छ वा लिँदैन भन्ने विषयमा अमेरिका र चीनको निर्णय महत्त्वपूर्ण हुनेछ । तर युक्रेनको भविष्यबारे हुने छलफलमा युक्रेनकै सहभागिता नहुने अवस्था बनेमा त्यसले शान्ति वार्ताको वैधता र सम्भावित सहमतिको कार्यान्वयनमाथि समेत प्रश्न उठाउन सक्छ ।
