`

कर्मचारीतन्त्रले अड्काउँछ काम, व्यवसायीले एक महिनामै बनाए पुल

Nepal One HD १ कार्तिक २०८३ १५:३८
प्रशासन

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले सरकारी प्रक्रियाको झन्झट हटे निर्माण व्यवसायीले तोकिएकै समयमा गुणस्तरीय काम गर्न सक्ने दाबी गरेका छन्।

नुवाकोटको ढुङ्गेबजार र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुङ्गे पुल एक महिनाभित्र निर्माण सम्पन्न भएको उदाहरण दिँदै उनले निर्माणमा ढिलाइको दोष व्यवसायीलाई मात्रै दिन नहुने बताएका हुन्।

पुल उद्घाटनका क्रममा पाण्डेले विकास निर्माणमा पटक-पटक हस्ताक्षर गर्नुपर्ने र फाइल घुमिरहने प्रशासनिक प्रक्रियाले काममा ढिलाइ गरिरहेको बताए। विपद्का बेला सरकारी संयन्त्रसँग आवश्यक उपकरण नहुँदा व्यवसायीले आफ्नै स्रोतसाधन परिचालन गरेर उद्धार तथा पुनर्निर्माणमा सहयोग गरेको उनको भनाइ छ।

त्यस्तै, बेत्रावती क्षेत्र र आसपासका खोलामा बेलिब्रिज तथा अन्य संरचना निर्माण गर्दा नेपाली सेनाको योगदानको चर्चा भए पनि व्यवसायीले उपलब्ध गराएका उपकरण र सहयोगको उचित कदर नभएको उनले गुनासो गरे।

आफ्नै परिवार र आफन्त गुमाउँदाको पीडाबीच पनि स्थानीय व्यवसायी उद्धारमा खटिएको स्मरण गर्दै पाण्डेले प्रशासनिक झन्झट नहुँदा काम समयमै सम्पन्न गर्न सकिने बताए।

महासङ्घले राज्यको विपद् कोषमा हालसम्म करिब १० करोड रुपैयाँ दाखिला गरिसकेको उल्लेख गर्दै उनले निर्माण क्षेत्रका प्रक्रियागत अवरोध हटाउन सरकारसँग माग गरे। साथै, नवनिर्मित पुलबाट दैनिक ७ हजार ५०० भन्दा बढी सर्वसाधारण, विद्यार्थी र बिरामी लाभान्वित भइरहेको बताउँदै उनले पुलले स्थानीय आवतजावत सहज बनाएको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *