`

चाडपर्वमा उपहार नलिन र नदिन रास्वपाको निर्देशन

Nepal One HD १ कार्तिक २०८३ १४:५८
राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार लिनेदिने काम नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले शनिबार असोज ३१ गते शुभकामना सन्देश जारी गर्दै चाडपर्वका नाममा उपहार आदानप्रदान नगर्न आग्रह गरेका हुन्।

रास्वपाले स्थापनाकालदेखि नै चाडपर्वका अवसरमा उपहार आदानप्रदान गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको उनले स्मरण गराएका छन्।

“राजनीतिमा नागरिकको सद्भाव, आशीर्वाद र विश्वास नै सबैभन्दा ठूलो उपहार हो,” महामन्त्री आचार्यले भनेका छन्।

उनले चाडपर्वको वास्तविक सन्देश निःस्वार्थ प्रेम, सद्भाव र आत्मीयता भएको उल्लेख गर्दै राजनीतिक क्षेत्रमा पनि यस्तै संस्कार विकास गर्नुपर्नेमा जोड दिएका छन्।

साथै, सुसंस्कृत राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गर्दै महामन्त्री आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई चाडपर्वको शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *