`

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसैको ३१ ठाउँमा जग्गा त कसैको चारवटा घर

Nepal One HD १ कार्तिक २०८३ १४:१४
राजनीति

काठमाडौं । कर्णाली प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। विवरणमा कसैको नाममा ३१ ठाउँमा जग्गा र लाखौँ रुपैयाँको सेयर लगानी रहेको देखिएको छ भने कसैको परिवारका नाममा चारवटा घर छन्। घरजग्गा, सुनचाँदी, बैंक मौज्दात र ऋणसमेत समेटिएको विवरणले मन्त्रीहरूको सम्पत्ति र आर्थिक दायित्वबारे चासो बढाएको छ।

सार्वजनिक विवरणअनुसार आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाईको विभिन्न वित्तीय संस्थामा सेयर लगानी र घरजग्गा रहेको छ। पछाईको सम्पदा लघुवित्तमा मात्रै ७२ लाख ३५ हजार ६ सय रुपैयाँ बराबरको सेयर छ। उनको नाममा ३१ ठाउँमा जग्गा, २० तोला सुन, दुईवटा दुईपाङ्ग्रे सवारीसाधन र बैंकमा ८ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

सामाजिक विकासमन्त्री जितबहादुर मल्लको आफ्नो र श्रीमतीको नाममा चारवटा घर रहेको विवरणमा उल्लेख छ। उनकी श्रीमतीको नाममा १० ठाउँमा रहेको जग्गाको मूल्य ९७ लाख रुपैयाँ देखाइएको छ। त्यस्तै, बैंकमा ३ लाख रुपैयाँ मौज्दात रहेको र श्रीमतीका नाममा ६३ लाख रुपैयाँ ऋण रहेको विवरणमा जनाइएको छ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमालको हुम्लामा पुर्ख्यौली घर र २५ कित्ताभन्दा बढी पुर्ख्यौली जग्गा रहेको छ। उनको नाममा २ तोला सुन, ४० तोला चाँदी र बैंकमा २ लाख ७० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ। साथै, विभिन्न व्यक्तिबाट ८ लाख रुपैयाँ ऋण लिएको विवरणमा जनाइएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामाले पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनको विवरणमा सुनचाँदी, घरजग्गा र बैंक मौज्दातसम्बन्धी विवरण समेटिएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काले भने आफ्नो नाममा घर नभएको विवरण बुझाएकी छन्।

मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै उनीहरूको घरजग्गा, लगानी र ऋणको अवस्थाबारे चासो बढेको छ। यद्यपि, सार्वजनिक विवरणमा उल्लेखित सम्पत्तिको वास्तविक मूल्य, त्यसको स्रोत र दायित्वको समग्र अवस्थाबारे यकिन गर्न थप विवरण आवश्यक पर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *