`

कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु

Nepal One HD ४ कार्तिक २०८३ १२:३४
विश्व

काठमाडौं । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार राति दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य सम्पन्न भएको क्षेत्रीय अधिकारीहरूले जनाएका छन्।

नारिनो प्रान्तीय सरकारका अनुसार सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै खानी भत्किएको हो। घटनाले अनुमति नलिई सञ्चालन गरिने खानीमा मजदुरहरूले सामना गर्नुपर्ने जोखिमलाई पुनः उजागर गरेको सरकारले जनाएको छ। पछिल्लो तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दुईवटा खानी भत्किँदा २७ जनाको ज्यान गइसकेको छ।

त्यस्तै, घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम भौगोलिक अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थलसम्म पुग्न कठिन भएको थियो।

नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाले धेरै परिवार प्रभावित भएको बताएका छन्।

कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेको बताइन्छ। दुर्घटना भएको क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यहरूको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय छन्।

साथै, कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउन अवरोध नगर्न आग्रह गरेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *