काठमाडौं । ‘हामी नेपाल’ का संस्थापक तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको तत्काल राजीनामा माग गर्दै सरकारलाई कडा चेतावनी दिएका छन् । उनले हत्यारा र भ्रष्टाचारविरुद्ध कुनै कारबाही नगरी उल्टै जेनजी आन्दोलनका अभियन्तामाथि दमन गरेको भन्दै गृहमन्त्रीप्रति असन्तुष्टि प्रकट गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत ‘अलोकप्रिय गृहमन्त्रीका लागि सन्देश’ शीर्षकमा लेख्दै गुरुङले भनेका छन्, ‘शहीदको रगत सम्झनुहोस्, नेपाल र नेपालीको आशा र आँशु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो—अब त्यो वाचा पूरा गर्नुहोस् ।’ उनका अनुसार दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि आन्दोलनका क्रममा मारिएका युवाहरूका हत्यारा अझै पक्राउ नपरेकोले सरकारप्रति जनआस्था समाप्त हुँदै गएको छ ।
‘जेनजीको माग सम्बोधन नभए चुनाव हुन दिने छैनौ’
गुरुङले जेनजी आन्दोलनका मागहरू पूरा नभए आगामी २०८४ सालको निर्वाचन रोक्ने चेतावनी पनि दिएका छन् । उनले भनेका छन्, ‘हामीले भदौ २३ र २४ को आन्दोलन चुनाव सार्नका लागि होइन, देश परिवर्तनका लागि गरेका थियौं । यदि जनता र जेनजीको आवाजलाई बेवास्ता गरियो भने यो चुनाव हुन दिनेछैनौं ।’
प्रहरीमाथि छानबिन अघि बढ्दै
यसैबीच, जाँचबुझ आयोगले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा उपत्यकामा खटिएका प्रहरीहरूको सूची काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट प्राप्त गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार ती प्रहरीहरूको बयान लिन तयारी भइरहेको छ । ‘सूची प्राप्त भएको छ । आजैदेखि बयानका लागि प्रक्रिया सुरु हुँदैछ’, शर्माले बताएका छन् ।
आयोगले यसअघि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङसँग पनि २४ घण्टे स्पष्टीकरण सोधेको थियो । आयोगले विवरण समयमा नपठाएको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिनमा अवरोध गरेको आरोप लागेको छ । उनले निकोलस भुसाल पक्राउका बारेमा पनि आपत्ति जनाएका छन् । देशमा भइरहेको जेन–जी आन्दोलन र त्यसप्रति सरकारको कठोर कदमका कारण राजनीतिक वातावरण फेरि तात्न थालेको छ । सुधन गुरुङले सरकारलाई ‘जनताको आवाज सुन्ने’ अन्तिम मौका दिएको बताउँदै चेतावनी दिएका छन् ‘यदि यो आवाज दबाइयो भने अबको आन्दोलनले पद र प्रतिष्ठा दुवै बगाउनेछ ।’
