`

घाँसामा शीतोष्ण बागवानीको एकाइ फार्म स्थापना

Nepal One HD १६ मंसिर २०८२ १३:५२
प्रमुख खबर

मुस्ताङ ।  यहाँको थासाङ गाउँपालिका–४ घाँसास्थित शीतोष्ण बागवानी विकास केन्द्रको जग्गामा केन्द्रको एकाइ फार्म स्थापना गरिएको छ ।

चौबिस वर्षसम्म नेपाली सेनाले प्रयोग तथा भोगचलन गर्दै आइरहेको सो जग्गा गत असार १३ गते नेपाली सेनाद्वारा बागवानी विकास केन्द्रलाई हस्तान्तरण गरेको थियो । म्याग्दी र मुस्ताङको सिमाक्षेत्र घाँसामा केन्द्रको २० रोपनी जग्गा नेपाली सेनाले २०५८ सालदेखि प्रयोग गरेको थियो ।

सशस्त्र द्वन्द्वकालीन समयमा नेपाली सेनाको सुरक्षा पोस्ट शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका नाममा रहेको जग्गामा सुरक्षा प्रयोजनका लागि बसेको थियो । गत असारमा नेपाली सेनाले यहाँस्थित सैनिक सुरक्षा पोस्ट जिल्लामा समायोजन गरेको थियो ।

जग्गा फिर्ता पाएसँगै केन्द्रले एकाइका रुपमा प्रयोग गर्न प्रक्रिया अघि बढाइसकेको केन्द्रका निमित्त कार्यालय प्रमुख नवीन भुसालले जानकारी दिएका छन् ।

यहाँ नर्सरी तथा बगैँचा व्यवस्थापनलगायतका कार्यहरु अघि बढाउन गह्रा सुधार, सिँचाइको व्यवस्थापन तथा आवश्यक पूर्वाधार निर्माणका काम अघि बढाइएको केन्द्रका निमित्त प्रमुख भुसालले बताएका छन् ।

यहाँ ओखरका कलमी बिरुवा उत्पादन स्विट चेरी, आरु, आरुबखडा, खुर्पानी, किवी, अङ्गुर लगायतका फलफूलखेतीलाई अघि बढाइने केन्द्रले जनाएको छ । यहाँको हावापानीमा विभिन्न प्रजातिका फलफूल तथा तरकारी उत्पादन सुरु गरेपछि स्थानीय किसानलाई प्रविधि सिकाइ र जीवनस्तर उकास्नमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *