`

नयाँ बर्षको पार्टी चलिरहेको बारमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु

स्विट्जरल्याण्ड । नयाँ वर्षको पूर्व सन्ध्यामा स्विट्जरल्याण्डको एक बारमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । आगलागीमा सय बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।

मृतक र घाइतेहरूको राष्ट्रियताबारे कुनै स्पष्ट जानकारी जारी गरिएको छैन । अधिकारीहरूले घाइतेमध्ये ६० जनाको सायन अस्पतालमा उपचार भइरहेको बताएका छन् भने अन्यको अन्य अस्पतालहरूमा उपचार भइरहेको छ । दक्षिणपश्चिम स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा रहेको ले कन्स्टेलेसन बारमा यो घटना भएको थियो, जहाँ मानिसहरू उत्सव मनाउन भेला भएका थिए ।

स्विस राष्ट्रपतिले आगलागीलाई देशले अहिलेसम्म सामना गरेको सबैभन्दा ठूलो त्रासदीमध्ये एक भनेका छन् । आगलागीको कारण अझै पुष्टि भएको छैन । यद्यपि, केही प्रत्यक्षदर्शीहरूले शैम्पेनका बोतलहरूमा रहेको मैनबत्तीले छतमा आगो लागेको अनुमान गरेका छन् । फोरेन्सिक टोलीहरूले घटनास्थलबाट प्रमाण सङ्कलन गरिरहेका छन् र त्यहाँ उपस्थित व्यक्तिहरूसँग अन्तर्वार्ता लिइरहेका छन् ।

प्रहरी अधिकारीहरूले अनुसन्धानले सबै सम्भावित पक्षहरूलाई ध्यानमा राखेको बताएका छन् । स्विस आल्प्समा अवस्थित प्रमुख स्की रिसोर्ट सहर क्रान्स–मोन्टाना जाडो मौसम र नयाँ वर्षको पूर्व सन्ध्यामा पर्यटकहरूले भरिएको हुन्छ । लगभग १५ हजार जनसंख्या भएको यस शहरको अर्थतन्त्र धेरै हदसम्म पर्यटनमा निर्भर छ । घटनाले स्थानीय अधिकारीहरू र पर्यटन उद्योगमा संलग्न व्यक्तिहरूमा चिन्ता उत्पन्न गरेको छ ।

गोवा नाइट क्लवमा आगलागी : मृत्यु भएका २५ मध्ये चार जना नेपाली (नामावली)

काठमाडौं । भारतको गोवास्थिति एक नाइट क्ल्वमा गत शनिबार मध्यरात भएको आगलागीमा मारिने २५ जनामध्ये चार जना नेपाली भएको खुलेको छ । भारतीय अधिकारीका अनुसार मारिनेमध्ये २० जना नाइट क्लवकै कर्मचारी र पाँच जना पर्यटक हुन् । कर्मचारीमध्ये तीन जना नेपालका भएको अधिकारीहरुले बताएका छन् ।

भारतीय सञ्चारमाध्यमले मारिने २५ जनाको नाम सार्वजनिक गरेका छन् । उनीहरुमध्ये नेपालका चुर्णबहादुर पुन, विवेक कटवाल, सविन (थर नखुलेको) र सुदीप (थर नखुलेको) नेपालका हुन् । नेपालीहरुको पुरा ठेगाना खुलाइएको छैन । गोवाको बिर्च एन्ड रोमियो नाइट क्लवमा १०० जनाजति मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।

गोवा आगलागीमा मृत्यु भएका व्यक्तिहरूको सूची
चुर्णबहादुर पुन — नेपाल
विवेक कटवाल — नेपाल
सबिन — नेपाल
सुदीप — नेपाल
मोहित— झारखण्ड
प्रदीप महतो— झारखण्ड
बिनोद महतो— झारखण्ड
सतीश सिंह — उत्तराखण्ड
सुरेन्द्र सिंह — उत्तराखण्ड
जितेन्द्र सिंह — उत्तराखण्ड
सुमित नेगी — उत्तराखण्ड
मनिश सिंह — उत्तराखण्ड
दिगम्बर पटिर — असम
राहुल तन्ती— असम
मनोजित माल — असम
सुनील कुमार — उत्तर प्रदेश
रोहन सिंह — उत्तर प्रदेश
डोमिनिक — महाराष्ट्र
मनोज जोरा — महाराष्ट्र
इसहाक — कर्नाटक
सुभास क्षेत्री— दार्जिलिङ, पश्चिम बंगाल
सरोज जोशी — दिल्ली
विनोद कुमार — दिल्ली
अनिता जोशी — दिल्ली
कमला जोशी — दिल्ली

मार्तडीमा आगलागी, करोडौंको क्षति

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ । बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासी आगलागी भएको हो ।

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएको छ । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए । क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए । दमकल नहुँदा आगो निभाउन निकै समस्या भएको उनको भनाइ छ ।

 

नेपाली चढेको बस भारतमा ट्रकसँग बोक्किएर आगलागी, को–को परे ? (सूचीसहित)

काठमाडौं । भारत–नेपाल सीमा नजिकैबाट दिल्लीतर्फ जाँदै गरेको एक निजी बस मंगलबार बिहान उत्तरप्रदेशको बलरामपुरमा दुर्घटनामा पर्दा ठूलो जनधनको क्षति भएको छ । मध्यराति करिब २ः३० बजे बस र ट्रक एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको भारतीय प्रहरी र स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डीटी ५२३७ नम्बरको ट्रक फुलबरिया सडक खण्डमा ठोक्किएपछि बस करिब १०० मिटर घिस्रिँदै गएर हाइटेन्सन लाइनको पोलमा ठोक्किएको थियो । पोल भाँचिएर बसमाथि खस्दा करेन्ट फैलिएको र त्यसपछि आगो सल्किएको अनुमान गरिएको छ । बलरामपुरका एसपी विकास कुमारका अनुसार ट्रकको ट्यांकी फुटेर आगो तीव्र बनेको सम्भावना छ । घटनाको अनुसन्धान भइरहेको छ ।

दुर्घटनामा बसमा सवार ३ जनाको जलेर मृत्यु भएको पुष्टि भएको छ भने २४ जना घाइते छन् । तीमध्ये ६ जनाको अवस्था गम्भीर छ । बसमा जम्मा ४५ जना यात्रु थिए, जसमा अधिकांश नेपाली रहेको बताइएको छ ।
समाचार स्रोतमा उल्लेख भएअनुसार, घाइतेमध्ये धेरै जना नेपालका विभिन्न जिल्लाका छन् । पहिचान खुलिएका घाइतेहरू यस प्रकार छन्—
गुल्मी-तम्घास र आसपासकाः
शिवबहादुर परियार (गुल्मी, तम्घास)
विशाल गुरुङ (गुल्मी, तम्घास)
लालबहादुर (छत्रकोट, गुल्मी)
उसा (गुल्मी)
वसन्त सर्तुंगी (तम्घास, गुल्मी)
गुनबहादुर (गुल्मी)
बुटवल क्षेत्रका

पूर्णिमा परियार

दिवाकर न्यौपाने (बुटवल)
दिया योगी (बुटवल)
सोनाम (बुटवल)
अनिसा (बुटवल)
अन्य नेपाली जिल्ला÷स्थानका ः
कृष्णबहादुर (कावासोती)
विष्णुबहादुर
अनिलबहादुर
सरस्वती
सुबोध अर्याल (स्याङ्जा)
कमलबहादुर पौडेल (मोरङ)
भुवन
ओमबहादुर (पाल्पा)
बोधबहादुर (सुनवल, नवलपरासी)
धनकुमारी
भारतीय नागरिक घाइतेः
खैरुल बुभ (भगवानपुर, बिहार)
नाउद अली (भगवानपुर, बिहार)
विक्रम (कर्नाल, हरियाणा)

दुर्घटनापछि उद्धारमा स्थानीय, प्रहरीले तथा दमकलको टोलीले सहकार्य गरेका थिए । आगो नियन्त्रणमा लिन निकै समय लागेको तथा धेरै जना यात्रु बसबाट फालिएर बाँच्न सफल भएको बताइएको छ । घटनामा मृतकहरूको पहिचान भने अझै खुल्न बाँकी छ । भारतीय प्रहरी तथा स्थानीय प्रशासनले घाइतेको उपचार र परिवारजनलाई सूचित गर्ने कार्य अघि बढाइरहेका छन् ।

मार्तडी बजारमा भीषण आगलागी

बाजुरा । बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास जारी छ । आगलागीको कारण खुलेको छैन । जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२ः२० बजेतिर आगलागी सुरु भएको हो । दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

विराटनगर ‘मेनरोड’ को उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

विराटनगर । विराटनगर महानगरपालिका मेनरोड नजिक रहेको एक प्लाष्टिक उद्योगको गोदाममा आगलागी भएको छ । आज विहानबाट सुरु भएको भिषण आगलागी केहीबेर अघि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरिक्षक अनमोल खड्काका अनुसार वडा नियन्त्रण बाहिर गएको आगलागी नियन्त्रणका लागि विराटनगर महानगरपालिकाबाट दुई वटा र सुनसरीको दुहबीबाट एउटा वारुणयन्त्र, स्थानीय र सुरक्षा निकायले सहजीकरण गरेका थिए ।

प्रहरीका अनुसार सरस्वती प्लाष्टिक उद्योगको गोदाममा विहान एकाएक आगलागी भएपछि स्थानीयमा केही समय त्रास फैलिएको थियो । उद्योग नजिक थुपारिएको प्लास्टिकका फोहोरको डंगुरमा अचानक आगो सल्किएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्लास्टिक फोहोर जलाउने क्रममा आगो अनियन्त्रित भएको थियो । निजी आवासतर्फ आगो फैलन नदिन विराटनगर महागनरपालिकाको दमकलसहित प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ ।

 

बसमा आगलागी, कम्तिमा १० जनाको मृत्यु

काठमाडौं । भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य केही यात्रु घाइते भएका छन् । कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२ जना यात्रु सवार थिए ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । बीबीसी तेलुगुको रिपोर्टका अनुसार एउटा बाइक बससँग ठोक्किएर बसको मुनि गएर तेल ट्यांकीमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ । तर, स्थानीय प्रशासनले भने यसको कारण भने पुष्टि गर्न सकेको छैन ।

मुख्यमन्त्री चन्द्रबाबु नायडूले कुर्नुल दुर्घटनामा दुः ख व्यक्त गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भयानक बस आगलागी दुर्घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ । यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति मेरो गहिरो समवेदना छ । सरकारले घाइते र प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्नेछ ।’ कुर्नुल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईलाई भने, ‘दुर्घटनामा दुई बालबालिकसहित १९ जना यात्रु सकुशल छन् । प्रहरीका अनुसार बसको ढोका सर्ट सर्किटका कारण बन्द भएको थियो र केही मिनेटमै गाडी पूर्ण रुपमा जलेको थियो ।

 

गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रुले भागेर जोगाए ज्यान

काठमाडौं । रौतहटमा आज (बुधवार) गुडिरहेको बसमा एक्कासी भीषण आगो लागेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा गुडिरहेको बसमा आज विहान अचानक आगलागी भएको हो । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब ७ः२० बजे अचानक आगो लोगेको हो । बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको प्रहरीको भनाइ छ ।

घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेशकुमार झाको नेतृत्वमा घटनास्थलतर्फ प्रहरीको टोली परिचालित भएको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा आएको थियो ।
घटनामा कुनै मानवीय क्षति भएको छैन । बसमा आगो लाग्न थालेपछि यात्रुले भागेर ज्यान जोगाएका थिए । आगो लागेर बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।

बसमा आगो लागेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिममा रहेको छ । बसमा आगो लागेर बल्न थालेपछि दुवैतिरबाट सवारी साधनको आवागमन अवरुद्ध भएको थियो । आगो नियन्त्रणमा आएपछि बाटो खुलाइएको छ । अहिले स्थिति सामान्य भइसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

 

रोमानियाको होटलमा आगलागी, दुई नेपाली महिलाको मृत्यु

पोल्याण्ड । रोमानियाको एक होटलमा लागेको आगोमा परी दुई नेपाली महिलाको ज्यान गएको छ । रोमानियाको ‘होटल डाले’ मा हिजो भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको हो । उक्त होटल रोमानियाको राजधानी बुखारेष्टबाट लगभग ५२ किलोमिटरमा दूरीको प्रहोभा सहरमा पर्छ ।

आगलागीमा परेर २१ र २४ वर्षका राई तथा तामाङ थरका दुई नेपाली महिलाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको नाम खुलिसकेको छैन । मृत्यु भएका दुई नेपाली महिलाहरू सोहि होटलमा काम गर्ने भएको बताइएको छ ।

‘होटलको माथिल्लो तलामा सुतेको अबस्थामा दुई जनाको मृत्यु भएको हो । एक जनाको अस्पतालमा उपचार भइरहेको होटल बाहिर सुतेका अर्को एक जना सकुशल छन्’ आगलागीबाट घाइते भएका व्यक्तिलाई उदृत गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पातेन्जी लामा शेर्पाले जानकारी दिए ।

अग्नि सुरक्षासम्बन्धी अनियमितताका कारण उक्त होटल एक हप्ता अघि नै प्रशासनले बन्द गरेको बताइएको छ । रोमानियाका स्थानीय सञ्चार माध्यम र नेपाली समुदायबाट घटनाको जानकारी प्राप्त भएको र आवश्यक समन्वयका लागि पहल भइरहेको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

 

काठमाडौंको काष्ठमण्डप नजिकै भीषण आगलागी

काठमाडौं । काठमाडौं काष्ठमण्डप नजिकै घरमा भीषण आगलागी भएको छ । आज बिहानीपख आगलागी सुरु भएको हो । कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि सल्किएको छ । बिहान साढे ३ बजेतिरबाट आगलागी सुरु भएको स्थानीयहरूको भनाई छ ।

आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।