गुडिरहेको बसमा एक्कासी आगलागी, यात्रुले भागेर जोगाए ज्यान


काठमाडौं । रौतहटमा आज (बुधवार) गुडिरहेको बसमा एक्कासी भीषण आगो लागेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा गुडिरहेको बसमा आज विहान अचानक आगलागी भएको हो । काठमाडौंबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बुधबार बिहान करिब ७ः२० बजे अचानक आगो लोगेको हो । बसको ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको प्रहरीको भनाइ छ ।
घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेशकुमार झाको नेतृत्वमा घटनास्थलतर्फ प्रहरीको टोली परिचालित भएको थियो । स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब ८ः१५ बजे नियन्त्रणमा आएको थियो ।
घटनामा कुनै मानवीय क्षति भएको छैन । बसमा आगो लाग्न थालेपछि यात्रुले भागेर ज्यान जोगाएका थिए । आगो लागेर बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।
बसमा आगो लागेर करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब तीन किलोमिटर पश्चिममा रहेको छ । बसमा आगो लागेर बल्न थालेपछि दुवैतिरबाट सवारी साधनको आवागमन अवरुद्ध भएको थियो । आगो नियन्त्रणमा आएपछि बाटो खुलाइएको छ । अहिले स्थिति सामान्य भइसकेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।