फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव प्रभावित हुँदैन : गृहमन्त्री अर्याल
कैलाली । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई धनगढीमा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियारले चुनावी वातावरण अस्थिर नबनाउने स्पष्ट गरे ।
उनका अनुसार फरार कैदीबन्दी पक्राउ गर्ने र हराएका हतियार बरामद गर्ने अभियान तीव्रगतिमा चलिरहेको छ । ‘फरार कैदीबन्दी फिर्ता ल्याउने र लुटिएका हतियार बरामद गर्ने काम पछिल्लो समय बढेको छ । यी घटनाका कारण चुनाव बिथोलिने अवस्था हामी आउन दिँदैनौं’, मन्त्री अर्यालले बताए । उनले फरार अवस्थामै रहेका अभियुक्तलाई समात्न विशेष अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै ‘सबैलाई नियन्त्रणमा ल्याएरै छाड्ने’ दृढता व्यक्त गरे ।
जेनजी आन्दोलनका दिन कारागारबाट निस्किएका ४ हजार ५५२ कैदीबन्दी तथा बालबन्दीमध्ये ठूलो संख्यालाई अझै फिर्ता ल्याउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपि, जघन्य अपराधमा संलग्न फरारको संख्या कम रहेको दाबी गर्दै अर्यालले सुरक्षामा कुनै खलल पर्ने अवस्था नभएको दोहोर्याए । सरकारका अनुसार लुटिएका हतियारमध्ये ७२७ थान बरामद भइसकेका छन् भने बाँकी केही संख्या बाहिर रहे पनि सुरक्षा निकाय उनीहरूको खोजीमा सक्रिय छन् ।
सुरक्षा गोष्ठीमा राजनीतिक दलका गतिविधिमा विभिन्न अवरोध परेको विषयमा उठेका प्रश्नको जवाफ दिंदै अर्यालले सरकार सबै राजनीतिक दलप्रति निष्पक्ष रहने प्रतिबद्धता व्यक्त गरे । ‘यो साझा सरकार हो, हामी कसैलाई विभेद गर्दैनौं । कुनै दलका कार्यक्रम वा चुनावी गतिविधिमा अवरोध हुन दिइँदैन’, उनले स्पष्ट पारे। सरकारको मुख्य दायित्व शान्ति–सुरक्षाको सुनिश्चितता र वेककमै निर्वाचन गराउनु भएको उनले जोड दिए ।
गोष्ठीमा सहभागी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले देशलाई स्थिरता दिन निर्वाचन अपरिहार्य भएको टिप्पणी गरे । उनले सबै पक्ष एकजुट भई भयमुक्त वातावरण निर्माण गर्न आग्रह गरे। आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले भने अझै पूर्णरूपमा भयरहित वातावरण बनाउन चुनौती भएको बताउँदै सुरक्षा संयन्त्रलाई अझ सुदृढ बनाउन सुझाव दिए ।
गृहसचिव रामेश्वर दंगाल, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अधिकारीहरूको उपस्थिति रहेको गोष्ठीमा सीमा सुरक्षादेखि अपराध नियन्त्रण, चुनावी व्यवस्थापनसम्मका विषयमा विस्तृत छलफल भएको छ । सरकारका संयन्त्र पूर्णरूपमा परिचालन भइसकेको बताउँदै गृहमन्त्री अर्यालले अन्त्यमा पुनः आश्वस्त गरे, ‘भयरहित, निष्पक्ष र समयमा हुने निर्वाचनको वातावरण बनाउने जिम्मेवारी सरकारले पूरा गर्छ ।’
