अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जादै
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने भारत भ्रमणमा जाने भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको उनको सचिवालयले जनाएको छ ।
उनी बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नेछन् । भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी हुनेछन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
बिहीबार साँझ ५ः०० बजे उनले आफ्ना भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। यस्तै, शुक्रबार अर्थमन्त्री डा वाग्लेले भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नेउच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उनीप्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
