`

पत्रकारप्रति बालेनको चेतावनी, बेनको मजाक 

Nepal One HD १६ कार्तिक २०८३ २२:४३
बिशेष

काठमाडौं । पत्रकार पक्राउको घटनालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री बालेन शाहले चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले २८ जना पत्रकारको नाम सार्वजनिक गर्दै व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री र उनका सल्लाहकारका यी अभिव्यक्तिप्रति पत्रकारितासम्बद्ध क्षेत्रका सरोकारवालाले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री बालेनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’

पत्रकार पक्राउको विरोध भइरहेका बेला आएको प्रधानमन्त्रीको यो अभिव्यक्ति कसलाई लक्षित थियो भन्‍ने खुलेको छैन ।

तर, पत्रकार पक्राउको विरोध गर्ने र प्रहरीको खोजीमा रहेका व्यक्तिहरूलाई लक्षित गरिएको हुन सक्ने आशंका गरिएको छ ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बेनले २८ जना पत्रकारको नाम सार्वजनिक गर्दै लेखेका थिए, ‘यो २८ जना पत्रकारमा को को पर्‍यो हो । २८ मा नपर्ने नि के पत्रकार भन्‍नु हैन साथी हो ।’

बेनको स्टाटसमा प्रधानमन्त्रीले टिप्पणी गर्दै लेखेका थिए, ‘कुपोन्डेल जाने मात्रै पत्रकार ? अरु कलाकार ?’ प्रधानमन्त्रीको चेतावनीपूर्ण स्टाटसमा बेनले नै ‘सही समय कहिले आउँछ ? शनिबार कि आइतबार ?’ भन्दै व्यङ्ग्य गरेका थिए ।

प्रधानमन्त्री र उनका सल्लाहकारका अभिव्यक्तिलाई नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रतासम्बन्धी स्थापित मान्यताकै उपहास भनेका छन् ।

‘यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, नेपालको संविधान, हाम्रा कानुनहरू र स्थापित मान्यताहरूकै हाँसिमजाक गरेका हुन्,’ दाहालले भनेका छन् ।

फ्रिडम फोरमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पनि प्रधानमन्त्री र उनका सल्लाहकारका स्टाटसप्रति आपत्ति जनाएका छन् । उनले पत्रकार पक्राउको घटनामा भइरहेको आलोचनाबाट ध्यान मोड्न यस्तो अभिव्यक्ति आएको टिप्पणी गरेका छन् ।

‘पत्रकारलाई समाचार लेखेकै आधारमा बिना पक्राउ पुर्जी पक्राउ गरिएको घटनाको चौतर्फी आलोचना भएपछि ध्यान अन्तै मोड्न खेलिएको खेल हो यो,’ दाहालले भनेका छन् ।

गत शुक्रबार प्रहरीले नेपाल प्रेसका पत्रकार विश्‍ममणि सुवेदी, मोटिभेट न्युजका सम्पादक शोभराज बराल र डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेर समाचारसँग सम्बन्धित विषयमा सोधपुछ गरिएको थियो।

त्यसैगरी, नयाँ पत्रिकाका सुरक्षा संवाददाता नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी सञ्‍चारगृह पुगेको थियो ।

सम्पादक खगेन्द्र पन्त र पत्रकारहरूले पक्राउ पुर्जी तथा कानुनी आधार मागेपछि प्रहरी फर्किएको थियो । डियो पोस्टका सम्पादक सुदीप विश्‍वकर्मा र समाचार संयोजक मदन ढुंगानाको खोजीमा पनि प्रहरी कार्यालय पुगेको थियो ।

घटनापछि नेपाल पत्रकार महासंघ, फ्रिडम फोरम, प्रेस काउन्सिल नेपाल, नेपाल बार एसोसिएसन, राजनीतिक दल तथा नागरिक समाजले विरोध जनाएका थिए ।

व्यापक आलोचनापछि नियन्त्रणमा लिइएका पत्रकार रिहा भए पनि पक्राउको कानुनी आधारबारे सरकारले स्पष्ट जवाफ दिएको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *