`

तुलाधर गैरआवासीय राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डेनमार्कका लागि नेपाली राजदूत तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ताको तयारी

काठमाडौं । सरकारले कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा नियुक्त विभिन्न देशका राजनीतिक नियुक्त राजदूत फिर्ता गर्ने भएको छ । भारत, अमेरिका, बेलायतलगायत १३ देशमा राजनीतिक नियुक्तिका राजदूत छन् । तर, उनीहरूमध्ये कतिपय सेवा निवृत कर्मचारी पृष्ठभूमिका रहेकाले राजनीतिक दलका कार्यकर्ताबाहेक अरुलाई यथावत राख्ने विकल्पमा पनि छलफल भएको छ ।

आजै बसिरहेको मन्त्रिपरिषद बैठकमा यो बारेमा पनि चर्चा हुने एक मन्त्रीले बताएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रुसका लागि जंगबहादुर चौहान लगायत छन् ।

यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो । केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।

गृहमन्त्रीसँग पाँच देशका राजदूतको भेटवार्ता

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग विभिन्न पाँच देशका राजदूतहरूले भेट गरेका छन् । बिहीबार मन्त्रालयमा युरोपियन युनियन, फ्रान्स, जर्मनी, फिनल्यान्ड र स्वीट्जरल्यान्डका राजदूतहरूले गृहमन्त्री अर्यालसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपालको हित र समृद्धिबारे छलफल भएको बताइएको छ ।

नेपालको पछिल्लो अवस्था, समसामयिक विषय र नेपाललाई गर्ने सहयोगका बारेमा छलफल भएको बताइएको छ । यसअघि बुधबार प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोय प्रमुखहरूसँग छलफल गरेकी थिइन् ।

 

प्रधानमन्त्री कार्कीलाई एकसाथ चार राजदूतले भेट्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीलाई युरोपेली संघ (ईयु) सहित चार राजदूतले एकसाथ भेट्ने भएका छन् । आज दिउँसो साढे २ बजे उनीहरूले शिष्टाचार भेटका लागि समय लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । भेट सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै हुनेछ ।

भेटमा ईयुका राजदूतका अलावा फ्रान्स, जर्मनी र फिनल्यान्डका राजदूत पनि हुनेछन् । जेनजी आन्दोलनपछिको राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीलाई यसअघि नै भेटिसकेका छन् ।

 

मन्त्री घिसिङसँग के भयो बेलायती राजदूतको कुराकानी ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए ।

उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । भेटमा नेपाल–बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा क्षेत्रमा बेलायतको सहयोग, पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना, जलवायु परिवर्तनबाट सिर्जित समस्या न्यूनीकरणका उपायका लागि आवश्यक सहयोग लगायत विषयमा छलफल भयो ।

भेटमा मन्त्री घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारको मुख्य प्राथमिकताका रूपमा आन्दोलनका कारण क्षति भएका संरचना पुनर्निर्माण, आमचुनाव र सुशासन कायम गर्नु रहेको बताए । नेपालको पुरानो मित्र बेलायतले नेपालको आर्थिक विकासमा गरेको सहयोगको सराहाना गर्दै नेपाललाई कार्बनरहित बनाउन विद्युतीय सवारीसाधन प्रयोग बढाउन चार्जिङ स्टेसन स्थापनाका लागि भइरहेको सहयोग प्रभावकारी रहेको बताए ।

उनले बेलायतमा पूर्वाधार निर्माणमा सफल मानिएको सार्वजनिक–निजी साझेदारी लगानी मोडेललाई नेपालमा पनि अनुशरण गर्ने, ग्रिन हाइड्रोजन, जलवायु परिवर्तनका कारण सम्भावित हिमताल विस्फोटको जोखिम अध्ययन लगायत क्षेत्रमा सहयोग गर्न आग्रह गरे । बेलायत–नेपालको पूरानो मित्र भएकाले नेपालको सफलता आफ्नो देशको सफलता भएको उल्लेख गर्दै राजदूत फेनले नेपालको आर्थिक रूपान्तरणमा सहयोग गर्ने बताए ।