अघिल्लो सरकारले नियुक्त गरेका राजदूत फिर्ताको तयारी


काठमाडौं । सरकारले कांग्रेस–एमाले नेतृत्वको सरकारका पालामा नियुक्त विभिन्न देशका राजनीतिक नियुक्त राजदूत फिर्ता गर्ने भएको छ । भारत, अमेरिका, बेलायतलगायत १३ देशमा राजनीतिक नियुक्तिका राजदूत छन् । तर, उनीहरूमध्ये कतिपय सेवा निवृत कर्मचारी पृष्ठभूमिका रहेकाले राजनीतिक दलका कार्यकर्ताबाहेक अरुलाई यथावत राख्ने विकल्पमा पनि छलफल भएको छ ।
आजै बसिरहेको मन्त्रिपरिषद बैठकमा यो बारेमा पनि चर्चा हुने एक मन्त्रीले बताएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि चन्द्रकुमार घिमिरे, इजरायलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शाहिल रुपाखेती, स्पेनका लागि शनिल नेपाल, रुसका लागि जंगबहादुर चौहान लगायत छन् ।
यस्तै मलेसियाका लागि नेत्रप्रसाद तिम्सिना, कतारका लागि रमेशचन्द्र पौडेल, साउदी अरेबियाका लागि डा. नरेशविक्रम ढकाल लगायत पनि सरकारले फिर्ता बोलाउन लागिएका राजदूहरुको सूचीमा रहेको स्रोतले बतायो । केही राजदूतहरूलाई फिर्ता हुने तयारीका लागि परराष्ट्र मन्त्रालयमार्फत् सन्देश पठाइसकिएको स्रोतले बतायो ।