`

‘ढाकछोप र पपुलिस्ट नाराले देशलाई अझ ठूलो संकटमा धकेल्न सक्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनले नेपाली अर्थ–राजनीतिको समग्र पुनर्संरचनाको ऐतिहासिक आवश्यकता स्पष्ट पारेको टिप्पणी गरेका छन् । उनले हालको तरङ्गलाई सामान्य सुधारको नाममा ढाकछोप गर्ने वा पपुलिस्ट नाराले मोड्न खोजिएको खतरनाक प्रयासले देशलाई अझ ठूलो संकटतर्फ धकेल्न सक्ने चेतावनी दिए ।

भट्टराईका अनुसार अहिलेको अवस्था सतहमा देखिने असन्तुष्टिसँगै राज्य र समाजको गहिराइमा थुप्रै अन्तरविरोधहरूको ‘ज्वालामुखी’ चलिरहेको संकेत हो । ‘यसलाई स्याउलाले छोपेर थाम्न खोज्नु इतिहासमै कहिल्यै सफल हुँदैन’, उनले भनेका छन् । जेन–जी आन्दोलनपछिको परिस्थितिलाई दीर्घकालीन समाधानतर्फ मोड्न उनले चार प्रमुख कदम तुरुन्तै चालिनुपर्ने सुझाव दिएका छन् :-

१. जेन–जी समूहहरूले पेश गरेको सहमतिपत्र (म्यान्डेट) मा सरकार र आन्दोलन पक्ष बीच तुरुन्त सहमति भई कार्यान्वयनको चरणमा प्रवेश गर्नुपर्छ ।
२. भदौ २३ र २४ का घटनाबारे कार्की आयोगले गर्दै आएको छानबिनलाई ‘कछुवागत’ होइन, ‘रकेटको गतिमा’ अघि बढाएर छिटो निष्कर्षमा पुर्‍याउनु र त्यसका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्छ ।
३. निर्धारित मितिमा स्वतन्त्र, निष्पक्ष र अवरोधरहित निर्वाचन सम्पन्न गरियोस् भन्नेमा सरकार गम्भीर हुनुपर्ने उनले बताए ।
४. निर्वाचनपछि पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक प्रक्रियाबाट ससम्मान विदाइ गर्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूबीच वृहद् सहकार्य, ध्रुवीकरण र मोर्चावन्दी निर्माण गरेर देशलाई नयाँ लोकतान्त्रिक नेतृत्व दिने वातावरण तयार पार्नुपर्ने उनको भनाइ छ ।
भट्टराईले नयाँ पुस्ताले उठाएको परिवर्तनको मागलाई दिशाबिहीन बनाउने वा अवसरवादले कब्जा गर्ने प्रयास असफल र जोखिमपूर्ण हुने भन्दै सबै सरोकारवालालाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन् ।

बाबुराम भट्टराईको टिप्पणी : पुराना दल र नेताहरु ‘सुतुरमूर्ग’ जस्ता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहपछि देखिन थालेको राजनीतिक र प्रशासनिक गतिरोधलाई अत्यन्त गम्भीर चिन्हका रूपमा व्याख्या गर्दै सबै दल र नेताहरू समस्याको मूल स्रोतप्रति उदासीन बन्दै गएको आरोप लगाएका छन् ।

उनले देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र क्षेत्रका संरचनात्मक कमजोरीहरू सुधार गर्ने अत्यन्त अनुकूल अवसर विद्रोहले खोले पनि सिंगो राजनीतिक वृत्त पुरानै ढर्रामा फर्किदै ‘सुतुरमूर्गले बालुवामा टाउको लुकाएझैं’ व्यवहार गर्न थालेको देखिएको टिप्पणी गरेका छन् । भदौ २४ को घटनाले पुराना राजनीतिक दल र नेताहरूलाई गहिरो आत्मसमीक्षामा उत्रन बाध्य पारेको भए पनि उनीहरू पुनः आत्ममुग्धतामा फर्किएको डा. भट्टराईको आरोप छ । उनले नयाँ र वैकल्पिक दाबी गर्ने दलहरू पनि स्पष्ट नीति, मार्गचित्र र दीर्घकालीन समाधानभन्दा ‘पपुलिज्म र आत्मकेन्द्रितता’ तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।

उनले विशेष ऐतिहासिक परिस्थितिमा गठन गरिएको अन्तरिम सरकारले समेत जेन–जी आन्दोलनका आधारभूत माग पूरा गर्नेतर्फ स्पष्ट प्रतिबद्धता नदेखाएको भन्दै ‘कुइरोमा हराएको काग जस्तै’ दिशाहीनता झल्काएको बताए । देश जटिल आन्तरिक तथा बाह्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै डा. भट्टराईले अब सबै राजनीतिक शक्ति साँघुरो दलगत स्वार्थभन्दा माथि उठेर दिगो समाधानका लागि सहकार्यमा उत्रनुपर्ने आवश्यकता दोहोर्‍याए । उनको चेतावनी दिंदै भनेका छन्, ‘यदि अब पनि जिम्मेवारीपूर्वक कदम चालिएन भने भोलि धेरै ढिलो हुनसक्छ, इतिहासले कसैलाई माफी दिने छैन ।’

घर जलेका बेला ‘को ठूलो कोठामा सुत्ने’ भनेर झगडा गर्ने होइन : बाबुराम भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल अहिले इतिहासकै सबैभन्दा कमजोर मनोबलको अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक सबै पक्ष अस्थिर र अन्योलग्रस्त बन्दै गएको विश्लेषण गरेका हुन् । ‘नेपाल र नेपाली राष्ट्र, राज्य, समाज, अर्थतन्त्र, लोकतन्त्र, संस्कृति, मनोबल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थिर र अन्योलको अवस्थामा छ,’ भट्टराईले भने ।

देश गम्भीर चुनौतीमा परेको बेला दलहरूबीच भएको सत्ता–प्रतिष्पर्धा र आरोप–प्रत्यारोपले समस्या झनै चुलिएको भट्टराईको टिप्पणी छ । उनले राष्ट्र संकटमा हुँदा ‘को ठूलो कोठामा सुत्ने’ र ‘को ठूलो भाग खाने’ भन्ने विवादको कुनै अर्थ नरहेको उल्लेख गर्दै सबै पक्ष मिलेर समस्या समाधानमा उभिनु पर्नेमा जोड दिएका छन् ।

‘घरमा आगो लागेको बेला झगडा गर्ने समय होइन । बरु सबै मिलेर आगो निभाउने र नयाँ, अझ सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो,’ उनले भने । सबै राजनीतिक शक्तिहरूले आत्मसमीक्षा गर्न नसके इतिहासले कसैलाई पनि क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन् ।

डा. बाबुराम भट्टराईको व्यंग्यात्मक टिप्पणी : अबको वाम बहस ‘अ’ कार कि ‘ई’ कार ?

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा समाजवादी नेता डा. बाबुराम भट्टराईले नेपाली वाम आन्दोलनमा पछिल्ला नाम, प्रतीक र स्वरूपका विवादप्रति तीखो व्यंग्य गरेका छन् । उनले यस्ता विवादले वास्तविक जनजीवनका समस्या समाधान गर्न नसक्ने भन्दै वाम नेतृत्वलाई यथार्थपरक र समयसापेक्ष वैचारिक दिशातर्फ उन्मुख हुन आग्रह गरेका छन् ।

आज (सोमबार) सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै भट्टराईले अहिलेको वाम राजनीतिक बहसलाई ‘निरर्थक शब्दजाल’ को संज्ञा दिएका छन् । उनले लेखेका छन्, ‘हाम्रो युवा उमेर मोटो ‘श’ (मशाल) कि पातलो ‘स’ (मसाल) राम्रो ? भन्ने अन्तहीन विवादमा गुज्रेको थियो। अब अर्को पुस्ताको जीवन ‘अ’ कार (नेपा ‘ल’ कम्युनिष्ट पार्टी) राम्रो कि ‘ई’ कार (नेपा ‘ली’ कम्युनिष्ट पार्टी) राम्रो ? भन्ने गलफत्तीमा जाने भो ।’

भट्टराईका अनुसार वामपन्थी दलहरूबीचको नाम र प्रतीकको संघर्षले मुलुकका गम्भीर समस्या– बेरोजगारी, श्रम–निर्यात र आयात–निर्भर अर्थतन्त्रलाई स्पर्श गर्न सकेको छैन । उनले व्यंग्य गर्दै भनेका छन्, ‘लाखौं बेरोजगार सर्वहारा विदेशिने र श्रम–निर्यात तथा वस्तु–आयातको परनिर्भरताको दुष्चक्र चाहिँ तोडिने भन्दा कस्सिने क्रम यथावत् छ; तिनले यो बहसलाई ‘बे’ कार नभनून् !’

उनले वाम नेतृत्वलाई माक्र्सको द्वन्दात्मक भौतिकवाद, आधुनिक विज्ञान र चौथो औद्योगिक क्रान्तिको यथार्थ बुझेर नयाँ विचार, नीति र संगठन निर्माण गर्न आह्वान गरे । भट्टराईले नयाँ पुस्ताको सोच र विद्रोही ऊर्जा बुझ्न राजनीतिक नेतृत्व असफल भएको टिप्पणी गर्दै भनेका छन्, ‘देश–काल सापेक्ष नयाँ विचार र विकल्पको खोज नै अबको मार्ग हो ।’

उनले हाल विश्वभर देखा परिरहेको जेन–जेड (Gen Z) पुस्ताको चेतनालाई ‘चमत्कारिक विद्रोह’ भन्दै त्यसलाई समयको रूपान्तरणको संकेतका रूपमा लिएको उल्लेख गरेका छन् । भट्टराईका अनुसार, नयाँ पुस्ताको सोचसँग तालमेल नगर्ने नेतृत्व अन्ततः इतिहासको गर्तमा हराउनेछ ।

यसै सन्दर्भमा उनले वाम राजनीतिमा वैचारिक पुनर्निर्माण र नवीन दृष्टिको आवश्यकता औंल्याउँदै भनेका छन्, ‘नाम र चिन्हको जुधाइ होइन, समयअनुसारको दृष्टिकोण नै अबको राजनीतिक पुनर्जागरणको आधार बन्नु पर्छ ।’

हेर्नुस् भट्टराईको स्टाटस

 

वैकल्पिक राजनीतिक शक्ति निर्माणमा बाबुराम, डीपी र जनार्दन पनि सहभागी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ । नयाँ र वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच यस्तो छलफल सुरु भएको हो । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

छलफलमा पूर्व प्रधानमन्त्री भट्टराईसँगै पूर्व माओवादी नेता जनार्दन शर्मा, सुदन किराँती, रास्वपा छाडेकी नेतृ सुमना श्रेष्ठ, डीपी अर्याल लगायत सहभागी छन् । जेनजी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माण गर्ने विषयमा छलफल केन्द्रित रहेका बाबुरामको सचिवालयले जनाएको छ ।

निर्वाचन भएन भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्छ : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उनले यस्तो धारणा राखेका हुन् ।

भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नु पर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए ।

उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलग–अलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त।’ भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।

डा. भट्टराईले कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । भट्टराईले भने, ‘उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।

चार सुझावसहित बाबुराम भन्छन्–जेनजी आन्दोलनको परिणाम के हुन्छ, अझै प्रष्ट छैन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको ऐतिहासिक मर्मलाई विकृत गर्न खोज्ने ‘घुसपैठिया’ र ‘गोहीको आँशु झार्ने साखुल्ले’ नेतृत्वबाट सतर्क रहन चेतावनी दिएका छन् । उनले हालको अन्तरिम सरकारको मूल वैधता जेन–जी विद्रोहबाट आएको भन्दै त्यसको निष्ठा र जिम्मेवारी आन्दोलनप्रति हुनुपर्नेमा जोड दिएका छन् ।

‘जेन–जीको प्रतिनिधित्वमा अन्योल विडम्बना’
डा. भट्टराईले आन्दोलनको प्रष्ट प्रतिनिधित्वमा देखिएको अन्योलप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनको औपचारिक शुरुवातमा अगुवाइ गर्नेहरूलाई नै ‘मुख्य प्रतिनिधि’ मान्नु पर्ने तर्क गरेका छन् । ‘जसले भदौ २३ मा औपचारिक रुपमा आन्दोलनको नेतृत्व गरे, तिनीहरू नै मूल धार हुन् । त्यसपछि सहयोग गर्नेहरू सहायक हुन् । तर आन्दोलनभित्र छिरेर प्रतिगामी नारा दिने र तोडफोड गर्नेहरूलाई यथोचित व्यवहार गर्नु जरुरी छ’, उनले भने ।

‘गोहीको आँशु झार्दै अघि बढ्नेहरूबाट सावधान’
सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा धारणा राख्दै उनले चेतावनी दिएका छन् कि विगतमा बारम्बार सत्तामा रही जनविरोधी काम गरेका र अहिलेको विद्रोहकै कारण जन्मिएको सरकारलाई पनि भित्रैदेखि कमजोर बनाउने प्रयासमा लाग्नेहरू अहिले साखुल्लेका रूपमा अगाडि नआउन् । ‘अझ खतरनाक त के भने, तीमध्ये कतिपय अहिले गोहीको आँशु झार्दै नेतृत्वमा देखिन थालेका छन्’, उनले भनेका छन् ।

‘सरकारले जनतासँग निष्ठा राख्नु पर्छ, डरत्रास होइन’
भट्टराईका अनुसार अन्तरिम सरकार कुनै शक्तिको कृपाबाट नभई आन्दोलनको बलमा बनेको भएकाले यसले आन्तरिक वा बाह्य शक्तिको डरत्रास बिना काम गर्नुपर्ने बताएका छन् । ‘सत्कर्मको जस इतिहासले अवश्य दिन्छ’, भन्दै उनले सरकारलाई आन्दोलनको मर्म अनुरूप कार्यादेश पूरा गर्न आग्रह गरेका छन् ।

‘संवैधानिक निकायदेखि प्रशासनसम्म सबैले बद्लिएको सन्देश आत्मसात गर्नुपर्छ’
उनले राज्यका अन्य अंगहरू—न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षा निकाय, आयोग, प्रदेश र स्थानीय सरकारहरूलाई पनि परिवर्तित सन्देशको गहिरो आत्मसात गर्दै सहयोग गर्न आह्वान गरेका छन् । ‘यदि चित्त नबुझे, इमानदारीपूर्वक पदत्याग गरेर बाटो खुला गर्नु उचित हुन्छ’, उनको सुझाव छ ।

‘गैरराज्य क्षेत्रको भूमिकामा पनि स्पष्टता आवश्यक’
भट्टराईले गैरराज्य क्षेत्रका उद्यमी, व्यवसायी, सार्वजनिक बौद्धिक तथा आम नागरिकलाई पनि यस संक्रमणकालीन समयमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । लोकतन्त्रको बलियो आधार त्यही हो भन्ने उनको विश्वास छ ।

‘आन्दोलनलाई मार्गभ्रष्ट बनाउने चाल र ‘राजनीतिक अवसरवाद’ को खतरा’
उनका अनुसार अहिले आन्दोलनको वास्तविक मर्मलाई ओझेल पार्ने प्रयासहरू तीव्र छन् । ‘सफलताको सय बुवा हुन्छन्, असफलता टुहुरो हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै उनले राजनीतिक अवसरवाद र नेतृत्व कब्जाको सम्भावित खतरा औंल्याए ।

डा. भट्टराईको सन्देशले अहिलेको अन्तरिम सरकार, राज्यका निकायहरू र आन्दोलनको नेतृत्व गरिरहेका युवाहरुलाई स्पष्ट रूपले मार्गनिर्देशन दिएको छ । जेन–जी विद्रोहलाई ‘ऐतिहासिक परिवर्तनकारी ध्येय’ मा पुर्‍याउन उनले राजनीतिक इमानदारी, जनउत्तरदायित्व र दूरदृष्टिको आग्रह गरेका छन् ।

मुलुकमा थप मुठभेड हुन नदिन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका चार बुँदे सुझाव

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनको गम्भीर आत्मसमीक्षा गर्दै मुलुकमा थप मुठभेड हुन नदिन आह्वान गरेका छन् । त्यसका निम्ति उनले चार बुँदामा सुझाव पनि दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ऐतिहासिक जेनजी विद्रोहको महिना दिन पूरा हुँदा सबैले गम्भीर आत्मसमीक्षा गर्दै थप मुठभेड र विग्रह हैन, अग्रगामी रूपान्तरण सहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गरौं ।
हेर्नुस् भट्टराईका सुझावहरु

–जेन–जी विद्रोह पुराना दल र नेतृत्व, मुख्यतः गत दश बर्षमा पालैपालो सरकारको नेतृत्व गर्ने तीन दलका तीन टाउका, –को चरम सत्तालिप्सा,कुशासन र भ्रष्टाचारले युवाहरू र आम जनतामा ल्याएको आक्रोशको परिणाम हो भन्ने तथ्यलाई आत्मसात गरौं ।

– देशभित्र आम जनतामा असन्तुष्टी छाउँदा, राज्यका सबै अंगहरूको दलीयकरण र क्षयीकरण हुँदा, अकस्मात् जनविद्रोह बिष्फोटित हुँदा कति भयावह स्थिति उत्पन्न हुँदो रहेछ र संवेदनशील भूराजनीति क्रियाशील हुँदो रहेछ भन्ने दरोसंग बुझौं ।

– लोकतन्त्रमा राजनीतिक दलहरू नै राज्यका प्रमुख खम्बा र सुशासन तथा समृद्धिका वाहक हुनाले पुराना दलहरूको रूपान्तरण सहित पुस्तान्तरण र नयाँ तथा वैकल्पिक शक्तिहरूको बृहद ध्रुवीकरण÷मोर्चावन्दीमार्फत देशलाई पुनर्निर्माण र नवनिर्माणको द्रुतमार्गमा डोर्‍याऊँ ।

–तत्काल विद्रोहका नायक जेन–जी युवाहरूका जायज मागहरू (आन्दोलनमाथि हिंस्रक दमन गर्नेहरू र ठूला भ्रष्टाचारीहरूमाथि तुरून्त कार्वाही, जेन–जी युवाहरू उम्मेदवार बन्न पाउने गरी न्यूनतम उमेरको हद २५ बर्षबाट २१ बर्ष कायम, विदेशबाट मतदानको व्यवस्था आदि ) पूरा गरेर तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गरौं ।

स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्तन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्ने छैन ।

 

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लगाए टीका

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पिता भोजप्रसाद भट्टराईको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । भट्टराईले बिहीबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शिवाद ग्रहण गरेको परिवारसहितको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राखेका हुन्।

थोत्रा र भ्रष्ट पुराना दललाई टाउको उठाउन दिनु हुँदैन : बाबुराम भट्टराई

काठमाडौं । नेसपा (नयाँ शक्ति) नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नातिनातिना पुस्तालाई अवसर दिनुपर्ने भएकाले आफूले अध्यक्ष पद त्याग गरेको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष पद त्याग घोषणा गरेपछि आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनले अब केही दशक देशलाई नेतृत्व गर्न नयाँ पुस्ता ल्याएको बताए ।

डा. भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन दिन नहुने बताएका छन् । नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका हुन् ।

‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’ उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हामीले नयाँ पुस्तालाई अब अवसर दिनुपर्छ । पुराना दलहरू कि रूपान्तरण भएर कि सच्चिनु पर्छ कि सच्चिनु पर्छ । त्यसैले अब वैकल्पिक शक्तिहरूले पनि आफ्नो समूह र पार्टीहरू छन्, सबैले नयाँ पुस्तालाई अघि सार्नुपर्छ भनेर मैले पद त्याग गरेको छ। म अभियान र आन्दोलनबाट अलग भएको होइन ।’

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति नभएसम्म देशले स्थायित्व नपाउने बताएका छन् । उनले थपे, ‘नयाँ शक्ति अभियान एउटा, अर्को विवेकशील साझा छ । अर्को स्वतन्त्रको रूपमा आएको छ, बालेन, हर्कलगायतले स्वतन्त्र अभियान चलाइराख्नु भएको छ । अहिले जेनजी नयाँ पुस्ताको रूपमा आएको छ । स्वतन्त्र ठुलो शक्ति छ । त्यसैले यी सबै शक्तिलाई अघि ल्याउन हाम्रो पुस्ताले मार्ग प्रशस्त गर्नुपर्छ ।’

 

 

जेनजी आन्दोलनले सरकार ढले पनि पुरानो सत्ता ढलेको छैन : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको राजनीतिक परिवर्तन ‘आंशिक सफलता’ मात्र भएको बताएका छन् । उनले दीर्घकालीन स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन् ।
पार्टीको अध्यक्ष त्यागेको भोलिपल्ट आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका कारण सरकार ढलेको तर पुरानो सत्ता नढलेको उल्लेख गरे ।

‘तपाईंहरुले आंशिक जित हासिल त गर्नुभयो, सरकार त ढाल्नु भयो,’ भट्टराईले भने, ‘तर, पुरानो सत्ता ढलेको छैन ।’ उनका अनुसार, सत्ता परिवर्तन भए पनि मुलुकमा राजनीतिक स्थायीत्व र सुशासन सुनिश्चित हुन सकेको छैन । भ्रष्टाचार र अस्थायित्व जन्माउने संरचना तोड्न व्यवस्थागत सुधार अपरिहार्य भएको भट्टराईको भनाइ छ । उनले भने, ‘व्यवस्था नै बदल्न खोजेको त होइन, तर व्यवस्थामा महत्वपूर्ण सुधार गरेर जुन भ्रष्टहरु जन्मिए, फेरि भ्रष्टहरू नजन्मिउन । त्यसका लागि केही सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’

संविधान निर्माणको समयदेखि नै निर्वाचन प्रणालीमा त्रुटि रहेको उनले बताएका छन् । ‘मैले संविधान बनाउने बेलादेखि नै यो संविधान आधा गिलास खाली, आधा गिलास भरी भनेको थिएँ । किनकी यो शासकीय त्रुटि छ, त्यसले गर्दा कसैलाई पनि बहुमत ल्याउन दिँदैन,’ भट्टराईले स्पष्ट पारे । उनले वर्तमान प्रणालीलाई स्थायित्वत्वविहीन ठहर गर्दै भने, ‘कुनै पनि सरकारलाई ५ वर्ष टिक्न दिँदैन । जब देशमा लोकतान्त्रिक स्थिरता हुँदैन, त्यतिबेलासम्म सुशासन र समृद्धि हुँदैन ।’

समाधानको उपाय सुझाउँदै भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीलाई विकल्पका रूपमा अघि सारे। ‘प्रत्यक्ष निर्वाचित प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन । यिनै भ्रष्टहरु चलखेल गरेर फेरि आउने र तपाईंहरूको बलिदान खेर जान्छ,’ उनले चेतावनी दिए । उनले जेनजीहरुलाई सरकारसँग संवाद गरेर व्यवहारिक सम्झौता खोज्न सुझाव दिए ।

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सुदूरपश्चिम कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ । बुधबार प्रदेशस्तरीय नेताहरूको बैठकले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधान संशोधन गर्नुपर्ने माग गरेको हो । ‘राष्ट्रिय राजनीतिको निकास दिनका लागि संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाहरूबीच राष्ट्रिय सहमति गर्नुपर्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना गर्ने र पुनःस्थापित प्रतिनिधिसभामार्फत संविधान संशोधन गरेर आमनिर्वाचनमा जानुपर्छ,’ सुदूरपश्चिम कांग्रेसले भनेको छ ।

सुदूरपश्चिम कांग्रेसले यस प्रक्रियामा जेनजी युवाहरूलाई समेत सहभागी गराउनु पर्ने बताएको छ । बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेशका कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, मुख्यमन्त्री कमलबहादुर शाह, राष्ट्रियसभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीलगायत सहभागी थिए ।

जेनजीले ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भनेर सचेत गराए : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिँदै यसले लोकतन्त्रको खम्बालाई कमजोर हुन नदिने बताएका छन् ।

भट्टराईले तोकिएकै मितिमा निर्वाचन गराउनका लागि राजनीतिक दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरूको पुनर्संरचना हुनेमा भने आशंका व्यक्त गरे । भट्टराईले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदै । निश्चित मितिमै चुनाव गर्नुपर्छ ।’

पुराना दलहरूमा अझै पनि पुराना नेताहरूकै ‘उकुस–मुकुस’ रहेको उनको भनाइ छ । उनले आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचनाको खाँचो औंल्याए । डा. भट्टराईका अनुसार, २८ वर्षभन्दा मुनिका युवा पुस्ता (जेन जी) ले दबाब सिर्जना गरिरहे राजनीतिक पुनर्संरचना सम्भव छ । उनले यस सन्दर्भमा ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भन्ने उखानको प्रयोग गर्दै सचेत गराएका छन् ।

वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । यद्यपि, प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् । यस अवस्थामा डा. भट्टराईको निर्वाचन समयमै हुनुपर्ने र राजनीतिक पुनर्संरचनाको आवश्यकतासम्बन्धी धारणालाई महत्वपूर्ण मानिएको छ ।

प्रधानमन्त्री नियुक्ति र संसद विघटनबारे बाबुराम भट्टराईको प्रतिक्रिया : दोस्रो राम्रो विकल्प

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले भने बमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दोस्रो राम्रो विकल्प भएको टिप्पणी गरेका छन् । लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै नव गठित सरकारको सिफारिसबमोजिम संसद् विघटन गराइसकेका छन् ।

‘हामीले भने बमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो । जेन–जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो । त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो’, शनिबार बिहान विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन् ।

‘अर्थात् राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने (भलै संविधानमा प्रष्ट छैन !) अधिकार र जिम्मेवारी प्रयोग गर्दै पहिले संसद बाहिरबाट नयाँ प्रम नियुक्त गर्ने र शपथ ग्रहणपछि नयाँ प्रमले सिफारिस गरेबमोजिम राष्ट्रपतिले नयाँ निर्वाचन र संसद्को विघटन सँगसँगै गर्ने विधि नै दोस्रो राम्रो विधि हो। मैले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको थिएँ’, उनले थपेका छन् ।

यो नेपाली इतिहासको अर्को महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाइ ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न उनले अपिलसमेत गरेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन् ।

भ्रष्टाचारविरुद्धको जेन–जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनको बहिर्गमनसँगै मुलुकमा नयाँ अन्तरिम सरकार गठन गरिएको हो ।
जेन–जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए । तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए । जेन–जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन् ।

बाबुराम भट्टराईले गरे सुशीला कार्कीलाई छिटो शपथ खुवाउन आग्रह

काठमाडौं । नेसपा (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्तरिम सरकार प्रमुख पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई बनाउने निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाएका छन् । कार्कीलाई अग्रिम बधाई दिँदै उनले उनीप्रति सिंगो देशले सहयोग र समर्थन गर्नुपर्ने अपिल समेत गरेका छन् । कार्कीलाई अन्तरिम प्रधानमन्त्रीका रूपमा विधिवत् शपथ ग्रहण गराएर अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गर्न उनले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह पनि गरेका छन् ।

‘नयाँ नेपालको नेतृत्व गर्न उद्दत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ । उहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नु पर्दछ । हाम्रो तर्फबाट पनि उहाँलाई पूर्ण समर्थन र अग्रिम बधाई’, भट्टराईले शुक्रबार बिहान विज्ञप्ति जारी गरी भनेका छन्, ‘अब उहाँलाई वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनु पर्छ । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुन सक्छ, संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुन्छ ।’ अहिलेको अवस्था २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिरभन्दा फरक रहेकाले यसमा संवेदनशील बन्न पनि भट्टराईले जेनजीलाई आग्रह गरेका छन् ।

‘यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजीर भने कत्ति पनि मेल खाँदैन । त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा ’राजनीतिक सहमतिका आधारमा’ कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र ’राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको सहमति बुझ्नु पर्छ’ भनेर स्पष्टीकरणसमेत त्यहीँ राखिएको थियो’, उनले भनेका छन्, ‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नु पर्छ । अहिलेको आन्दोलनभन्दा पनि ठूलो बलिदानीपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेनजीको दीर्घकालीन हितमा हुनेछ ।’

 

बाबुराम भट्टराईको घरमा पनि आगजनी

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । काठमाडौँको टोखामा रहेको उनको घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन् ।
अहिले पनि प्रदर्शनकारीहरू भट्टराई घरअगाडि नाराबाजी गरिरहेका छन् । प्रत्यक्षदर्शीका अनुसार परिवारका सदस्यहरू हारगुहार गर्दै सामान ओसार्न थालेका छन् ।

‘जेनजी’ आन्दोलनबाट गौरवान्वित छु : बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले ‘जेनजी’ पुस्ताले सुरु गरेको आन्दोलनप्रति एक्यवद्धता व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमा उनले देशको नयाँ पुस्ताले नयाँ इतिहास निर्माणको शुरूवात गरेको भन्दै यसबाट आफू असाध्यै गौरवान्वित भएको पनि बताएका हुन् ।

‘भनिन्छ– नेतृत्व इतिहासको आवश्यकता र आकस्मिकताले जन्मिन्छ । अनि नयाँ नेतृत्व संघर्ष मार्फत पुरानो विचार र पुरानो नेतृत्वलाई विस्थापित गरेर मात्र स्वयं स्थापित हुन्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा त्यसको शुरूवात हुनु ऐतिहासिक महत्वको परिघटना हो । त्यसनिम्ति तपाईंहरूलाई हार्दिक वधाइ !’

उनले आन्दोलनमा सहभागी युवा पुस्तालाई आन्दोलन बिचमै नछाड्न पनि आग्रह गरेका छन् । त्यसै गरी भट्टराईले आन्दोलनको अधिकतम र न्यूनतम लक्ष्य किटान गर्न, कसैको वहकावमा नलाग्न, आन्दोलनमा गलत तत्वहरूको घुसपैठ हुन नदिन पनि सुझाव दिएका छन् ।

‘भूइँको टिप्न खोज्दा पोल्टाको नखसोस्’ भन्ने हाम्रो लोकोक्तिलाई हमेशा स्मरण गर्नुपर्छ । नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थीरता प्राप्त गर्नकानिम्ति यो संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्छ । तर सार्वभौम जनताले संविधानसभाबाट बनाएको संविधाननै भत्काउने वा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्र जस्ता आधारस्तम्भहरूमाथि छेडछाड गर्ने गल्ती गर्नुहुन्न,’ भट्टराईले भनेका छन्, ‘तपाईंहरू सबैलाई पूर्ण सफलता र उज्ज्वल भविष्यको हार्दिक शुभकामना !’