`

चार सुझावसहित बाबुराम भन्छन्–जेनजी आन्दोलनको परिणाम के हुन्छ, अझै प्रष्ट छैन

Nepal One HD २५ असोज २०८२ ९:०७
प्रमुख खबर

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी आन्दोलनको ऐतिहासिक मर्मलाई विकृत गर्न खोज्ने ‘घुसपैठिया’ र ‘गोहीको आँशु झार्ने साखुल्ले’ नेतृत्वबाट सतर्क रहन चेतावनी दिएका छन् । उनले हालको अन्तरिम सरकारको मूल वैधता जेन–जी विद्रोहबाट आएको भन्दै त्यसको निष्ठा र जिम्मेवारी आन्दोलनप्रति हुनुपर्नेमा जोड दिएका छन् ।

‘जेन–जीको प्रतिनिधित्वमा अन्योल विडम्बना’
डा. भट्टराईले आन्दोलनको प्रष्ट प्रतिनिधित्वमा देखिएको अन्योलप्रति चिन्ता व्यक्त गर्दै आन्दोलनको औपचारिक शुरुवातमा अगुवाइ गर्नेहरूलाई नै ‘मुख्य प्रतिनिधि’ मान्नु पर्ने तर्क गरेका छन् । ‘जसले भदौ २३ मा औपचारिक रुपमा आन्दोलनको नेतृत्व गरे, तिनीहरू नै मूल धार हुन् । त्यसपछि सहयोग गर्नेहरू सहायक हुन् । तर आन्दोलनभित्र छिरेर प्रतिगामी नारा दिने र तोडफोड गर्नेहरूलाई यथोचित व्यवहार गर्नु जरुरी छ’, उनले भने ।

‘गोहीको आँशु झार्दै अघि बढ्नेहरूबाट सावधान’
सामाजिक सञ्जाल ट्वीटर (एक्स) मा धारणा राख्दै उनले चेतावनी दिएका छन् कि विगतमा बारम्बार सत्तामा रही जनविरोधी काम गरेका र अहिलेको विद्रोहकै कारण जन्मिएको सरकारलाई पनि भित्रैदेखि कमजोर बनाउने प्रयासमा लाग्नेहरू अहिले साखुल्लेका रूपमा अगाडि नआउन् । ‘अझ खतरनाक त के भने, तीमध्ये कतिपय अहिले गोहीको आँशु झार्दै नेतृत्वमा देखिन थालेका छन्’, उनले भनेका छन् ।

‘सरकारले जनतासँग निष्ठा राख्नु पर्छ, डरत्रास होइन’
भट्टराईका अनुसार अन्तरिम सरकार कुनै शक्तिको कृपाबाट नभई आन्दोलनको बलमा बनेको भएकाले यसले आन्तरिक वा बाह्य शक्तिको डरत्रास बिना काम गर्नुपर्ने बताएका छन् । ‘सत्कर्मको जस इतिहासले अवश्य दिन्छ’, भन्दै उनले सरकारलाई आन्दोलनको मर्म अनुरूप कार्यादेश पूरा गर्न आग्रह गरेका छन् ।

‘संवैधानिक निकायदेखि प्रशासनसम्म सबैले बद्लिएको सन्देश आत्मसात गर्नुपर्छ’
उनले राज्यका अन्य अंगहरू—न्यायपालिका, कर्मचारीतन्त्र, सुरक्षा निकाय, आयोग, प्रदेश र स्थानीय सरकारहरूलाई पनि परिवर्तित सन्देशको गहिरो आत्मसात गर्दै सहयोग गर्न आह्वान गरेका छन् । ‘यदि चित्त नबुझे, इमानदारीपूर्वक पदत्याग गरेर बाटो खुला गर्नु उचित हुन्छ’, उनको सुझाव छ ।

‘गैरराज्य क्षेत्रको भूमिकामा पनि स्पष्टता आवश्यक’
भट्टराईले गैरराज्य क्षेत्रका उद्यमी, व्यवसायी, सार्वजनिक बौद्धिक तथा आम नागरिकलाई पनि यस संक्रमणकालीन समयमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । लोकतन्त्रको बलियो आधार त्यही हो भन्ने उनको विश्वास छ ।

‘आन्दोलनलाई मार्गभ्रष्ट बनाउने चाल र ‘राजनीतिक अवसरवाद’ को खतरा’
उनका अनुसार अहिले आन्दोलनको वास्तविक मर्मलाई ओझेल पार्ने प्रयासहरू तीव्र छन् । ‘सफलताको सय बुवा हुन्छन्, असफलता टुहुरो हुन्छ’ भन्ने भनाइ उद्धृत गर्दै उनले राजनीतिक अवसरवाद र नेतृत्व कब्जाको सम्भावित खतरा औंल्याए ।

डा. भट्टराईको सन्देशले अहिलेको अन्तरिम सरकार, राज्यका निकायहरू र आन्दोलनको नेतृत्व गरिरहेका युवाहरुलाई स्पष्ट रूपले मार्गनिर्देशन दिएको छ । जेन–जी विद्रोहलाई ‘ऐतिहासिक परिवर्तनकारी ध्येय’ मा पुर्‍याउन उनले राजनीतिक इमानदारी, जनउत्तरदायित्व र दूरदृष्टिको आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *