जेनजीले ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भनेर सचेत गराए : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुदलीय लोकतन्त्रको मेरुदण्डका रूपमा रहेको आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन् । उनले निर्वाचन प्रतिष्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्नेमा जोड दिँदै यसले लोकतन्त्रको खम्बालाई कमजोर हुन नदिने बताएका छन् ।
भट्टराईले तोकिएकै मितिमा निर्वाचन गराउनका लागि राजनीतिक दलहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी जस्ता पुराना दलहरूको पुनर्संरचना हुनेमा भने आशंका व्यक्त गरे । भट्टराईले भने, ‘बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदै । निश्चित मितिमै चुनाव गर्नुपर्छ ।’
पुराना दलहरूमा अझै पनि पुराना नेताहरूकै ‘उकुस–मुकुस’ रहेको उनको भनाइ छ । उनले आगामी दिनमा एउटा बृहत् खालको राजनीतिक पुनर्संरचनाको खाँचो औंल्याए । डा. भट्टराईका अनुसार, २८ वर्षभन्दा मुनिका युवा पुस्ता (जेन जी) ले दबाब सिर्जना गरिरहे राजनीतिक पुनर्संरचना सम्भव छ । उनले यस सन्दर्भमा ‘भुँइको टिप्छु भन्दा पोल्टाको पनि खस्छ’ भन्ने उखानको प्रयोग गर्दै सचेत गराएका छन् ।
वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकेको छ । यद्यपि, प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन गलत भएको बताउँदै आएका छन् । यस अवस्थामा डा. भट्टराईको निर्वाचन समयमै हुनुपर्ने र राजनीतिक पुनर्संरचनाको आवश्यकतासम्बन्धी धारणालाई महत्वपूर्ण मानिएको छ ।
