निर्वाचन भएन भने देश डरलाग्दो अँध्यारो सुरुङमा फस्छ : बाबुराम भट्टराई
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारमार्फत नै निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वपक्षीय सरकारको प्रस्ताव अघि सारिरहेका बेला उनले यस्तो धारणा राखेका हुन् ।
भट्टराईले तोकिएकै समयमा मुलुकमा निर्वाचन नभए देश डरलाग्दो सुरुङमा फस्ने चेतावनी दिँदै यही संविधानमा टेकेर दलहरुले छिटो निर्वाचन गराउने दिशामा अघि बढ्नु पर्ने बताए । वर्तमान कार्की नेतृत्वको अन्तरिम सरकारमा भएका कमीहरु हटाएर मुलुकलाई निर्वाचन सम्पन्न गराउनेतिर अघि बढाउनुपर्ने उनको भनाई थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले नेपालको वर्तमान संविधानलाई आधार बनाएर मुलुकमा रास्वपालगायतका वैकल्पिक राजनीतिक दलहरुले अघि बढ्दा नै उपयुक्त हुने समेत बताए ।
उनले भने, ‘अब निर्वाचनमा त हामीले जसरी पनि गर्नुपर्छ । कथमकदाचित निर्वाचन भएन भने डरलाग्दो अँध्यारो सुरुङमा देश फस्छ । त्यसैले हामी सबैले सहयोग गरेर यो अन्तरिम सरकार, यो सुशीला कार्की नेतृत्वको जुन सरकार छ । यसका अपूर्णता, कमी, कमजोरी छन् भने यसलाई सच्याउन लगाऔं । तर यसैमार्फत नै छिटो चुनाव गराउनेतिर नै हामी जानुपर्छ । त्यसमा निम्ति जुन हाम्रा अलग–अलग दलहरु छन् । अलग अगल दल पनि चुनावमा जान सकिन्छ । रास्वपाका साथीहरुलाई हामी एक्लै जान सकि हाल्छौ भन्ने आधारहरु पनि छन् त।’ भट्टराईले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउनका लागि सम्बन्धित निकायहरुलाई बलियो बनाएर अघि बढन उपयुक्त पनि स्पष्ट पारे ।
डा. भट्टराईले कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्ने बताएका छन् । भट्टराईले भने, ‘उनीहरूले जनतालाई पटक–पटक ठगेर सत्तामा पुगेका छन् । सङ्गठन तलैसम्म छन् । जेनेजी विद्रोहले जरा त हल्लिएको छ, तर उखेलिएको छैन। कांग्रेस र कम्युनिष्ट नामका ब्राण्डलाई जरैदेखि हटाउन जेनजी समूह एकजुट हुनुपर्छ ।’ उनले जेनजी र नयाँ वैकल्पिक शक्ति एकजुट भएर चुनावमा जानुपर्ने उल्लेख गर्दै त्यसको नेतृत्व जेनजीले लिनुपर्ने बताए ।
