बाबुराम भट्टराईको टिप्पणी : पुराना दल र नेताहरु ‘सुतुरमूर्ग’ जस्ता
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अभिभावक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेन–जी विद्रोहपछि देखिन थालेको राजनीतिक र प्रशासनिक गतिरोधलाई अत्यन्त गम्भीर चिन्हका रूपमा व्याख्या गर्दै सबै दल र नेताहरू समस्याको मूल स्रोतप्रति उदासीन बन्दै गएको आरोप लगाएका छन् ।
उनले देशका राजनीतिक, आर्थिक, प्रशासनिक, सुरक्षा तथा परराष्ट्र क्षेत्रका संरचनात्मक कमजोरीहरू सुधार गर्ने अत्यन्त अनुकूल अवसर विद्रोहले खोले पनि सिंगो राजनीतिक वृत्त पुरानै ढर्रामा फर्किदै ‘सुतुरमूर्गले बालुवामा टाउको लुकाएझैं’ व्यवहार गर्न थालेको देखिएको टिप्पणी गरेका छन् । भदौ २४ को घटनाले पुराना राजनीतिक दल र नेताहरूलाई गहिरो आत्मसमीक्षामा उत्रन बाध्य पारेको भए पनि उनीहरू पुनः आत्ममुग्धतामा फर्किएको डा. भट्टराईको आरोप छ । उनले नयाँ र वैकल्पिक दाबी गर्ने दलहरू पनि स्पष्ट नीति, मार्गचित्र र दीर्घकालीन समाधानभन्दा ‘पपुलिज्म र आत्मकेन्द्रितता’ तर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।
उनले विशेष ऐतिहासिक परिस्थितिमा गठन गरिएको अन्तरिम सरकारले समेत जेन–जी आन्दोलनका आधारभूत माग पूरा गर्नेतर्फ स्पष्ट प्रतिबद्धता नदेखाएको भन्दै ‘कुइरोमा हराएको काग जस्तै’ दिशाहीनता झल्काएको बताए । देश जटिल आन्तरिक तथा बाह्य परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै डा. भट्टराईले अब सबै राजनीतिक शक्ति साँघुरो दलगत स्वार्थभन्दा माथि उठेर दिगो समाधानका लागि सहकार्यमा उत्रनुपर्ने आवश्यकता दोहोर्याए । उनको चेतावनी दिंदै भनेका छन्, ‘यदि अब पनि जिम्मेवारीपूर्वक कदम चालिएन भने भोलि धेरै ढिलो हुनसक्छ, इतिहासले कसैलाई माफी दिने छैन ।’
सारा देश र अन्तर्राष्ट्रिय जगत समेत हल्लाउने गरी भएको जेन-जी विद्रोहपछि देशका राजनीतिक,आर्थिक,प्रशासनिक, सुरक्षा, परराष्ट्र लगायत सबै क्षेत्रमा महत्वपूर्ण अग्रगामी रूपान्तरण र सुधारकानिम्ति गम्भीर विमर्श र पहल हुनुपर्नेमा सबैजना 'सुतुरमूर्गले बालुवामा टाउको घुसारेर सुरक्षित ठाने… pic.twitter.com/aPDXhJlLaS
— Baburam Bhattarai (@brb1954) November 26, 2025
