`

प्रधानमन्त्री नियुक्ति र संसद विघटनबारे बाबुराम भट्टराईको प्रतिक्रिया : दोस्रो राम्रो विकल्प

Nepal One HD २८ भदौ २०८२ ११:०२
प्रमुख खबर

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरूले भने बमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र संसद् विघटन दोस्रो राम्रो विकल्प भएको टिप्पणी गरेका छन् । लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै नव गठित सरकारको सिफारिसबमोजिम संसद् विघटन गराइसकेका छन् ।

‘हामीले भने बमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो । जेन–जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो । त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो’, शनिबार बिहान विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन् ।

‘अर्थात् राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने (भलै संविधानमा प्रष्ट छैन !) अधिकार र जिम्मेवारी प्रयोग गर्दै पहिले संसद बाहिरबाट नयाँ प्रम नियुक्त गर्ने र शपथ ग्रहणपछि नयाँ प्रमले सिफारिस गरेबमोजिम राष्ट्रपतिले नयाँ निर्वाचन र संसद्को विघटन सँगसँगै गर्ने विधि नै दोस्रो राम्रो विधि हो। मैले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको थिएँ’, उनले थपेका छन् ।

यो नेपाली इतिहासको अर्को महत्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाइ ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न उनले अपिलसमेत गरेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन् ।

भ्रष्टाचारविरुद्धको जेन–जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनको बहिर्गमनसँगै मुलुकमा नयाँ अन्तरिम सरकार गठन गरिएको हो ।
जेन–जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए । तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए । जेन–जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *