`

रास्वपाको झण्डा लुक्दैन, अब देशभर घण्टी बज्छ : तोसिमा कार्की (भिडियाेसहित)

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तोसिमा कार्कीले आफू वर्तमान परिस्थितिहरुको सामना गर्दै राजनीतिमा अगाडि बढ्ने बताएकी छन् । ललितपुरमा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै नेतृ कार्कीले ‘अब पनि रास्वपाको झण्डा लुकाएर हिँड्ने ?’ भन्ने कार्यकर्ता र घरभित्रैको प्रश्नले देशको वर्तमान राजनीति कति विरोधाभासपूर्ण छ भन्ने प्रष्ट देखाउने उनको भनाइ छ ।

कार्कीले अब आधा र अधुरो परिवर्तन होइन, निर्णायक मोडको समय आएको दाबी गरिन् । उनले भनिन्, ‘यो केवल चुनाव चिन्ह फेर्ने समय होइन, पूरै राजनीतिक संस्कार र दल फेर्ने समय हो ।’ प्रधानमन्त्री बन्ने प्रस्ताव समेत आएको तर आफूले अस्वीकार गरेको प्रसंग सार्वजनिक गर्दै कार्कीले भनिन्, ‘पद ठूलो होइन, जनता र परिवर्तन ठूलो हो ।’

उनका अनुसार पछिल्ला दुई वर्षमा परिवर्तनको यात्रामा करिब ४० प्रतिशत काम अघि बढेको छ, तर पुराना राजनीतिक शक्तिहरूले बाँकी ६० प्रतिशत काम हुन नदिएको गुनासो गरिन् । ‘महलमा सत्ताधारीहरू पुगे, तर जनता अझै त्यहीं छन्’, भन्दै उनले व्यवस्थाप्रति आक्रोश पोखेकी छन् ।

पार्टीभित्र र बाहिर फैलाइएका हल्लाप्रति कडा प्रतिक्रिया दिँदै कार्कीले आफू रास्वपा र ललितपुरलाई कहिल्यै नछोड्ने स्पष्ट पारिन् । ‘म ललितपुरबाटै इतिहास लेख्न चाहन्छु’, भन्दै उनले यो क्षेत्रलाई परिवर्तनको प्रयोगशाला बनाउने प्रतिबद्धता जनाइन् ।

रास्वपा सभापति रवि लामिछानेको योगदान स्मरण गर्दै उनले आन्दोलन यहाँसम्म आइपुग्नुमा उनको बलिदान निर्णायक रहेको बताइन् । ‘अब यो आन्दोलनलाई अगाडि लैजाने जिम्मा जनताकै काँधमा छ’, उनले भनिन् । उनले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूलाई आगामी पुस्ता परिवर्तनको नेतृत्वका रूपमा अघि सार्नुपर्ने धारणा व्यक्त गरिन् ।

आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउने दाबी गर्दै कार्कीले दीर्घकालीन दृष्टि प्रस्तुत गरिन् । ‘२० वर्षपछि फर्केर हेर्दा भन्न सकियोस्–देश भनेको यस्तै हुनुपर्छ’, उनले भनिन् । ललितपुर मात्र होइन, हुम्ला, जुम्ला, मधेश, सिन्धुपाल्चोकलगायत सबै भूगोलबाट जित निकाल्ने लक्ष्य पार्टीले लिएको उनको दाबी छ ।
विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको बहानामा स्वदेश फर्किएर प्रत्यक्ष राजनीतिक सहभागिता जनाउन आग्रह गर्दै उनले भनिन्, ‘अब भाइबर र ह्वाट्सएपमा होइन, छाती पिटेर देश बनाउनु पर्छ ।’ कार्कीले भनिन्, ‘अब घण्टी बजाउने दिन नजिकिएको छ । भोट घण्टीमै हाल्नुहोस् ।’

आज–भोलिमै सहमति गर्ने तयारीसहित रवि–बालेनको टोली गृहकार्यमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच पछिल्ला दिनहरूमा तीव्र संवाद भइरहेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै धारमा ल्याउने उद्देश्यसहित दुवै नेताका सहकर्मीहरू सहमतिको खाका बनाउन व्यस्त छन् । स्रोतहरूका अनुसार आज वा भोलिसम्म सहकार्य वा एकतासम्बन्धी औपचारिक घोषणा हुने गरी गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने मिति नजिकिँदै गर्दा पुस १३ अगावै समझदारीमा पुग्नुपर्ने दबाब दुवै पक्षमा छ । यही कारण पुस ७ र पुस १० गते दुई चरणमा भएका छलफलमा रवि र बालेन सहमतिनजिक पुगेको रास्वपा निकट स्रोतको दाबी छ । ती भेटघाटमा चुनावी मोडालिटी, नेतृत्वको हैसियत, शक्ति बाँडफाँट र दीर्घकालीन राजनीतिक यात्राका विषयमा गम्भीर संवाद भएको बताइन्छ । छलफलमा सहभागी एक स्रोतका अनुसार आगामी चुनावमा नयाँ वैकल्पिक शक्तिहरू मिलेर जानुपर्नेमा दुवै नेताबीच मतभेद छैन । तर सहकार्य कुन ढाँचामा हुने, पार्टी एकता तत्काल गर्ने कि चुनावी तालमेलबाट अघि बढ्ने भन्ने विषय अझै अन्तिम टुंगोमा पुगिसकेको छैन । पावर सेयरिङ र नेतृत्वको क्रमबारे प्रारम्भिक सहमति बने पनि केही बुँदामा थप छलफल आवश्यक रहेको बताइन्छ ।

यसबीच उज्यालो नेपाल पार्टीका अवधारणाकार कुलमान घिसिङलाई समेत समेटेर फराकिलो वैकल्पिक मोर्चा बनाउने प्रस्तावमाथि पनि छलफल भइरहेको छ । बालेन र कुलमानबीच हालै छुट्टाछुट्टै भेटवार्ता भएका छन् । कुलमानलगायत विभिन्न सामाजिक–राजनीतिक व्यक्तित्वलाई एउटै मञ्चमा ल्याउने पहलको अगुवाइ बालेनले लिएको बताइन्छ । बालेन काठमाडौं महानगरको नगरसभामा व्यस्त रहे पनि उनको टिमले निरन्तर छलफल र समन्वय गरिरहेको छ ।

रवि–बालेन संवादमा आन्दोलनमा सक्रिय जेनजी पुस्ताका प्रतिनिधिहरूलाई समेत समेटेर नयाँ वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने सम्भावनाबारे पनि कुरा भइरहेको स्रोतहरू बताउँछन् । लामो समय मौन रहेका बालेनले पछिल्लो भेटघाटमा संसदीय राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने संकेत दिएको चर्चा छ । उनले पहिलो संसदीय निर्वाचन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध झापाबाट लड्न सक्ने संकेत निकटवर्तीसँग व्यक्त गरेको बताइन्छ ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि बालेन राष्ट्रियस्तरमै चर्चित बनेका थिए । सोही वर्ष भएको संसदीय निर्वाचनमा पहिलो प्रयासमै चौथो शक्तिका रूपमा उदाएको रास्वपा अब आगामी चुनावमा वैकल्पिक शक्तिहरूलाई एउटै मोर्चामा उभ्याउने रणनीतिमा जुटेको छ । प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सक्रिय भइरहँदा वैकल्पिक भनिएका दलहरू भने त्यसले निकास नदिने ठहर गर्दै चुनावी तयारी तीव्र बनाइरहेका छन् । रवि र बालेनबीचको संवादलाई निष्कर्षमा पुर्‍याउन असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय छन् । उनीहरूले विस्तृत सहमतिको खाका तयार पारेर आज रातिसम्म अन्तिम निर्णयमा पुर्‍याउने प्रयास गरिरहेका छन् । स्रोतका अनुसार तत्काल पार्टी एकता वा औपचारिक सहकार्यको घोषणा हुन सक्ने सम्भावना बलियो छ ।

निकटस्थहरूले जनाएअनुसार सम्भावित एकीकृत संरचनामा रवि शीर्ष नेतृत्वमा रहने र बालेन दोस्रो वरियतामा रहने समझदारी बनिरहेको छ । साथै पहिलो चरणमै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने पुरानो प्रतिबद्धतामा रवि कायम रहेको बताइन्छ । यही बुँदालाई आधारभूत सहमतिको मुख्य आधार मानिएको छ । यसअघि संवाद अपेक्षित गतिमा नबढेपछि बालेनले आफ्ना निकट सहयोगीहरूको सल्लाहमा वैकल्पिक रूपमा ‘देश विकास पार्टी’को ब्यानरमा अघि बढ्ने तयारी थालेका थिए । पुस ७ गते कमलपोखरीमा भएको छलफलका विषय सार्वजनिक रूपमा फरक ढंगले प्रस्तुत भएको भन्दै उनी असन्तुष्ट बनेका थिए । तर पछिल्ला भेटवार्तापछि दुवै पक्ष फेरि सहमतिको दिशातर्फ फर्किएको देखिन्छ ।

पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे पनि छलफल भएको छ । रास्वपामा पहिले नै धेरै आकांक्षी रहेकाले समानुपातिक सूची ७०–३० को अनुपातमा बनाउने प्रस्ताव रविले राखेका थिए । त्यसमा लचिलो भएर संख्या तलमाथि गर्न सकिने विकल्प खुला राखिएको छ । बालेनले भने समानुपातिक संख्यामा खास चासो नदेखाएको बुझिएको छ र यसबारे सहकर्मीहरूलाई जिम्मा दिने संकेत गरेका छन् । रास्वपाको चुनाव चिह्न ‘घण्टी’ अन्तर्गत अघि बढ्न बालेनलाई ठूलो समस्या नभएको बुझिएको छ । पत्रकारहरूले चुनाव चिह्नबारे सोध्दा रविले ‘समयले बताउने’ प्रतिक्रिया दिए पनि अन्ततः सहमतिमा पुग्ने संकेत दिएका छन् ।

संवाद तिक्ततातर्फ मोडिन थालेपछि दुवै नेताका सहकर्मीहरूले अविलम्ब मिल्न दबाब दिएका थिए । कुलमान घिसिङसँग बालेनको छुट्टै छलफल, विभिन्न शक्ति र व्यक्तित्वलाई एउटै धागोमा बाँध्ने प्रयास र जेनजी पुस्ताको भावनालाई समेट्ने चाहनाले अहिलेको संवादलाई सकारात्मक मोडमा ल्याएको नेताहरू बताउँछन् । रास्वपा नेता असीम शाहका अनुसार छलफल सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको छ । उनका शब्दमा, नयाँ शक्तिहरूबीचको एकता जेनजी पुस्ताको समेत चाहना भएकाले त्यसलाई सम्मान गर्दै छिट्टै सकारात्मक सन्देश आउनेछ ।

 

यस्तो छ रास्वपाको समानुपातिकतर्फका आकांक्षीको अन्तिम सूची

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो ।

रास्वपाका अनुसार उम्मेदवारका लागि ४१४ जना आकांक्षीहरूले पार्टीमा आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम सार्वजनिक सूचीमा समावेश गरिएको छैन । सूचीमा नाम समावेश नगरिएकाहरूलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने रास्वपाले जनाएको छ।

हेर्नुस् सूची

 

रवि र बालेन भित्र वार्तामा, बाहिर सुदन भन्छन्–नमिलेसम्म चुकुल खोल्दैनौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ललितपुरको कुपण्डोलमा निर्णायक छलफल चलिरहेको छ । बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई नेता एक्ला–एक्लै वार्तामा जुटेका हुन् । छलफलका क्रममा बाहिर भने जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङ उपस्थित छन् । उनले ठट्यौली शैलीमा ‘नमिलेसम्म गेट नखोल्ने’ भन्दै ढोकामा चुकुल लगाएर बसिरहेको बताएका छन् ।

‘जबसम्म सहमति हुँदैन, तबसम्म बाहिर निस्कन पाइँदैन’, गुरुङको भनाइ छ। यसअघि पनि रवि र बालेनबीच कमलपोखरीमा करिब ६ घण्टा लामो भेटवार्ता भएको थियो । तर त्यस भेटमा रविका तर्फबाट ठोस राजनीतिक प्रस्ताव नआएको भन्दै बालेन असन्तुष्ट थिए र अन्य नेताहरूसँग विकल्पबारे छलफल अघि बढाएका थिए । बालेनले लौरो चुनाव चिन्ह भएको ‘देश विकास पार्टी’ मार्फत राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन् ।

तर त्यसअघि रवि लामिछानेसँगको सहकार्य टुंग्याउने चाहना बालेनको रहेको निकट स्रोत बताउँछन् । बालेन आगामी निर्वाचनमा संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित हुने स्पष्ट खाका चाहन्छन् । आजको छलफलले दुई नेता मिलेर अघि बढ्ने वा आ–आफ्नो बाटो रोज्ने भन्ने टुंगो लाग्ने अपेक्षा गरिएको छ । भित्र राजनीतिक समिकरणको गहिरो संवाद चलिरहँदा बाहिर सुदन गुरुङको ठट्यौली ‘गेट राजनीति’ ले कुपण्डोलको माहोल थप रोचक बनेको छ।

 

रास्वपाले भन्यो–निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबैभन्दा प्रमुख रहेको बताएका छन् । सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । निर्वाचनमा शान्ति सुरक्षा, प्रचार प्रसारको विषय प्रमुख रहेको बताए ।भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताए । उनले अन्तरजिल्ला मतदान व्यवहारिक रूपमा सम्भव रहेको बताइएको र राजनीतिक दलहरूको प्रतिबद्धता मात्रै चाहिएको भए रास्वपा तयार रहेको बताए।

उनले भने, ‘अन्तर जिल्ला मतदान व्यवहारिक रूपमा सम्भव छ भनेर निर्वाचन आयोगले जेनजी प्रतिनिधिलाई भन्नु भएको छ । यसमा राजनीतिक प्रतिबद्धता चाहियो भन्ने कुरा भनिएको छ । राजनीतिक प्रतिबद्धताका कारणले मात्रै असम्भव हो भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हामी तयार छौँ । चुनावमा शान्ति सुरक्षाको विषय नै हो । प्रचार प्रसारको विषय नै हो । भयरहित वातावरणमा सहभागिता, नेताहरूको, पार्टीहरूको, उम्मेदवारहरूको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको हो ।’ उनले सरकारले ल्याएको अध्यादेशमा रास्वपाको समर्थन रहेको बताए ।

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन् । सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका उनले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन् । प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो । रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान सरकारलाई रास्वपाको साथ रहेको बताएका थिए ।

रविको चेतावनी : संसद पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जेलबाट रिहा भएर करिब आठ महिनापछि पार्टी केन्द्रीय कार्यालयमा फर्किदा जनताको शक्तिमा आफ्नो विश्वास व्यक्त गरेका छन् । उनले ४० लाख नागरिकले हस्ताक्षर अभियानमार्फत समर्थन देखाएर ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने हौसला दिएको बताए । लामिछानेले भने, ‘मलाई जनताको ताकतमा पूर्ण विश्वास छ । मैले अझै विभिन्न व्यक्तिसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ, त्यसपछि राजनीतिक टिप्पणी विस्तारमा गर्नेछु । न्यायको लडाइँ अझै जारी छ, तर म विश्वास गर्छु–सत्यले कहिल्यै हार्दैन ।’

उनले आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हालेका कार्यवाहक सभापति डीपी अर्यालको योगदानको प्रशंसा गर्दै अन्य सबै सहकर्मीको योगदानलाई पनि स्मरण गरे । साथै, पार्टीबाट छुट्टिएका साथीहरूलाई शुभकामना दिँदै भने, ‘आफ्नै कारणले छुट्टिएर गएका साथीहरूलाई पनि म शुभकामना दिन चाहन्छु । हाम्रा लागि तपाईंहरूले धेरै योगदान दिनुभयो ।’

लामिछानेले संसद पुनर्स्थापनाका लागि भइरहेको गतिविधिप्रति चासो व्यक्त गर्दै षड्यन्त्रमा नचम्किन आग्रह गरे। उनले भने, ‘सुनिरहेको छु, संसद पुनर्स्थापनाका लागि दौडधुप सुरु भइसकेको छ । कुन संसद ब्युँझाउन खोजिएको हो ? जनताको मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोजिएको हो ? षड्यन्त्रको आँखा बन्द गर्नुहोस्, धेरै आँखा नचम्काउनुहोस् ।’

सिंहदरबारको भत्किएको संरचनालाई मात्र पुनर्निर्माण गर्ने होइन, त्यसलाई पूर्ण रूपमा बदल्नुपर्ने आवश्यकता भएको लामिछानेको भनाइ थियो । उनले जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि नयाँ संरचना निर्माण र सुधारको आवश्यकता रहेको पनि जोड दिए । लामिछानेले भने, ‘जनताको साथ र हौसला पाएका हामी अझै न्याय र परिवर्तनको यात्रामा लागिरहनेछौँ ।’

 

 

 

 

साढे ८ महिनापछि घण्टीघर फर्किदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने साढे आठ महिनापछि पार्टीको केन्द्रीय कार्यालयमा पुनः उपस्थित हुँदैछन् । सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत बुटवल इजलासको आदेशअनुसार रुपन्देही जिल्ला अदालतमा झण्डै पौने चार करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि उनी पार्टी गतिविधिमा सक्रिय देखिएका हुन् ।

गत शुक्रबार नक्खु कारागारबाट रिहा भएका लामिछाने आज पुस ६ गते दिउँसो ३ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा प्रवेश गर्दैछन् । रास्वपा प्रवक्ता मीनष झाले लामिछानेको स्वागतका लागि पार्टीले औपचारिक कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । उनका अनुसार लामिछाने यसअघि अन्तिम पटक गत चैत १८ गते पार्टी कार्यालयमा उपस्थित भएका थिए ।

धरौटी बुझाउन रुपन्देही पुगेका पूर्व गृहमन्त्री समेत रहेका लामिछाने रिहा भएपछि शनिबार चितवन पुगेका थिए । त्यहाँ उनले पार्टी कार्यकर्ता तथा समर्थकलाई सम्बोधन गर्दै आफ्नो राजनीतिक यात्रामा आएको कठिन समयलाई धैर्य र विश्वासका साथ पार गरेको सन्देश दिएका थिए । त्यसपछि शनिबारै उनी काठमाडौं फर्किएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपाका नेता–कार्यकर्ता र समर्थकहरूले उनलाई बाजागाजा र नाराबाजीसहित स्वागत गरेका थिए ।

काठमाडौं आइपुगे लगत्तै लामिछानेले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूलाई भेट्न उपत्यकाका विभिन्न अस्पताल पुगे । घाइतेहरूसँग भेट्दै उनले आफू सधैं उनीहरूको साथमा रहेको र उनीहरूको सपना पूरा गराउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनले बबरमहलस्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका शहीद परिवारसँग पनि छलफल गरेका थिए ।

शहीद परिवारसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या भएको उल्लेख गर्दै शहीद परिवारलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी दृढतापूर्वक लड्ने बताए । उनले जेनजी आन्दोलन र त्यसका पीडित परिवारका मागप्रति रास्वपा पूर्ण रूपमा ऐक्यबद्ध रहेको जिकिर गरे ।

लामिछानेका अनुसार शहीद परिवारहरूले जेनजी आन्दोलनका क्रममा छानिछानी हत्या हुँदा समेत सरकारले प्रभावकारी कारबाही अघि नबढाएको गुनासो गरेका छन् । उनले सुशासन कायम गर्ने सवालमा सरकारलाई रास्वपाको पूर्ण साथ रहने दोहो¥याउँदै पीडितको न्याय र उत्तरदायित्व सुनिश्चित गर्न दबाब सिर्जना गर्ने बताए । सहकारी ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका लामिछानेलाई अदालतले थुनामुक्त गरेसँगै उनी पुनः राजनीतिक रूपमा सक्रिय भएका छन् । पार्टी कार्यालयमा उनको पुनरागमनलाई रास्वपाले नयाँ ऊर्जा र संगठनात्मक सक्रियताको संकेतका रूपमा हेरेको छ ।

 

रास्वपा संघीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संघीय नेतृत्व मञ्चमा १७ जना नेताहरू मनोनीत भएका छन् । रास्वपाको आज (शुक्रबार) बसेको सचिवालय बैठकले पार्टीको संघीय नेतृत्व मञ्चको सदस्यमा पहिलो चरणमा १७ जनालाई मनोनीत गर्ने निर्णय गरेको हो । विवेकशील साझाबाट रास्वपामा गएका नेताहरूलाई संघीय नेतृत्व मञ्च सदस्य बनाउने सहमति थियो ।

हेर्नुस् मनोनीतको सूची
१. समीक्षा बास्कोटा, ललितपुर
२. प्रकाशचन्द्र परियार, सुनसरी
३. बिमला अधिकारी, चितवन
४. रन्जु दर्शना, काठमाडौं
५. पवित्रा थापा, कास्की
६. बिमल तामाङ, नुवाकोट
७. समुन्द्र केसी, ललितपुर
८. दामोदर नेपाल, नुवाकोट
९. आशुतोष प्रधान, चितवन
१०. नवराज थापा, गोरखा
११. सुरज प्रधान, भक्तपुर
१२. धनेज थापा, काठमाडौं
१३. सुदन श्रेष्ठ, सुनसरी
१४. अजित खड्का, काठमाडौं
१५. रुस्तम अन्सारी, बारा
१६. सुशील शाह, बारा
१७. शीतल भुसाल, रुपन्देही

चितवन पुगे रवि, स्थलमार्गबाट भैरहवा प्रस्थान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् । रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् । लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ।

संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । सोहीअनुसार रवि भैरहवा जान लागेका हुन् । रवि लामिछानेले भोलि (पुस ५ गते) चितवनमा सम्बोधन गर्ने भएका छन् ।

चितवन गेष्ट हाउस चौर , जिल्ला प्रहरी कार्यालय अगाडीको चौरमा बिहान ठिक ११ बजे लामिछानेले बृहत् भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नेछन् । रास्वपा चितवनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘शनिवारका दिन हाम्रा आदरणीय पार्टी सभापति श्री रबी लामिछाने ज्युद्वारा आम चितवनवासी आमाबुबा, दाजुभाइ, दिदी बहिनी तथा पार्टी पङ्क्तिका साथीहरूसँग बृहद भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुँदा चितवनका टोल तथा वडा तहदेखि जिल्ला तह सम्मका समितिका सम्पूर्ण साथीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिन्छ ।’

 

 

 

समीक्षा, रञ्जु, क्रान्तिशिखा, ज्वालादेखि रमेश प्रसाईसम्म रास्वपाको समानुपातिक सूचीमा

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । विवेकशील साझाबाट पार्टीमा प्रवेश गरेका समीक्षा बास्कोटा र रञ्जु दर्शना बागमती प्रदेशबाट सूचीमा परेका छन् । पार्टीले प्रारम्भिक निर्वाचन (प्राइमरी) का लागि इच्छुक उम्मेदवारहरूको आवेदन मागेको थियो । सबैभन्दा बढी आवेदन बागमती प्रदेशबाट आएको छ, जहाँ ९४ जनाले दाबी गरेका छन् । यसमा रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारी र केन्द्रीय सदस्य अरनिको पाण्डेको नाम पनि छन् ।

कोशी प्रदेशबाट ६० जना, मधेसबाट ६१ जना, गण्डकीबाट ४३, लुम्बिनीबाट ४४, सुदुरपश्चिमबाट ३० र कर्णालीबाट २१ जनाले आवेदन दिएका छन्। कोशी प्रदेशमा सहप्रवक्ता रमेश प्रसाईं, व्यवसायी राज्यलक्ष्मी गोल्छा र प्रकाशचन्द्र परियारका नाम प्रारम्भिक सूचीमा छन् । सुदुरपश्चिमबाट केन्द्रीय सदस्य ज्वाला संग्रौला र लुम्बिनीबाट क्रान्तिशिखा धितालको नाम समावेश छ ।

बास्कोटा गत निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि प्रतिस्पर्धा गरेकी थिइन् भने दर्शनाले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । पार्टीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने तयारी गर्दै प्रारम्भिक सूची तयार पारेको हो, तर चुनावको निश्चितता भने अझै स्पष्ट छैन । रास्वपाले प्रारम्भिक सूचीमार्फत ३५३ आकांक्षीलाई समानुपातिक सांसद बन्ने अवसर दिनेछ । सूची सार्वजनिक भएपछि अब प्राइमरी निर्वाचनमार्फत फाइनल उम्मेदवार तय हुने प्रक्रिया अगाडि बढ्नेछ ।

 

 

 

 

 

 

 

 

 

 

 

रास्वपाको समानुपातिक सूचीमा राज्यलक्ष्मी गोल्छा, उम्मेदवारहरूसँग छलफल सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी (राजलक्ष्मी) गोल्छा परेकी छन् । सूचीमा परेपछि उनले निर्वाचित हुने अवसर पाए देशका लागि योगदान गर्ने प्रतिक्रिया दिएकी छन् ।

रास्वपाले समानुपातिक उम्मेदवारीका लागि आवेदन दिएका व्यक्तिहरूमध्ये पहिलो चरणको प्रारम्भिक सूची सार्वजनिक गरेको हो । सो सूचीमा गोल्छाको नाम मधेशी कोटामा समावेश गरिएको छ । पार्टीले सूचीमा परेका उम्मेदवारहरूसँग पुस ५ गतेदेखि छलफल तथा घरदैलो गर्ने जनाएको छ । यी गतिविधि काठमाडौं र बागमती प्रदेश केन्द्रित हुनेछन् ।

गोल्छा दोस्रो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । त्यतिबेला पार्टीलाई चन्दा दिएको आधारमा सांसद बनेको आरोप एमालेमाथि लागेको थियो । २०७२ कात्तिक १ गते प्रधानमन्त्री निर्वाचनका बेला संसद बैठकमा अनुपस्थित भएपछि एमाले स्थायी कमिटीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो, तर उनले राजीनामा दिएकी थिइनन् । त्यसपछि एमालेसँग उनको सम्बन्ध चिसिएको थियो ।

एमालेबाट अलग भएपछि गोल्छा विवेकशील साझा पार्टीमा आबद्ध भएकी थिइन् । विवेकशील साझा पार्टी केही दिनअघि रास्वपासँग एकता भएपछि उनी रास्वपामा समाहित भएकी हुन् । रास्वपाले प्रारम्भिक सूची सार्वजनिक भएसँगै उम्मेदवारमाथि दाबी–विरोध प्रक्रिया पनि सुरु भएको जनाएको छ । दाबी–विरोध सम्बन्धित प्रदेश सभापति, पार्टी निर्वाचन आयोग, केन्द्रीय कार्यालय वा इमेलमार्फत गर्न सकिनेछ । अन्तिम बन्द सूची र क्लस्टर कम्पोजिसन भने निर्वाचन आयोग नेपालको निर्देशनअनुसार तय हुने पार्टीको भनाइ छ । प्रारम्भिक सूचीमा परेकी गोल्छाले आफूलाई पार्टीले दिएको अवसर सकारात्मक रहेको बताउँदै भनिन्, ‘निर्वाचित हुने मौका पाए देशका लागि केही योगदान गर्न पाउनु ठूलो कुरा हुन्छ ।’

 

रविलाई रुपन्देही अदालत लगिंदै, आज शर्तसहित छुट्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार थुनामुक्त हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो बापतको धरौटी र बैंक जमानत स्वीकार गर्दै उनलाई शर्तसहित रिहा गर्न आदेश दिएपछि आज आवश्यक प्रक्रिया पूरा गरी छुट्ने भएका हुन् ।

लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा छन् । उच्च अदालतको आदेश बिहीबार नै आए पनि जिल्ला अदालतबाट छुट पुर्जी जारी हुन नसक्दा उनी सोही दिन रिहा हुन सकेका थिएनन् । अदालत प्रशासनका अनुसार शुक्रबार मात्रै जिल्ला अदालत रूपन्देहीबाट छुट पुर्जी जारी हुनेछ । त्यसका लागि उनलाई आज बिहान काठमाडौँबाट बुद्ध एयरको पहिलो उडानमार्फत रुपन्देही लगिँदै छ । उनका सहयोगी प्रमोद न्यौपानेका अनुसार बिहान करिब ८ बजेतिरको उडानमा उनलाई भैरहवा लगिने तयारी गरिएको छ ।

उच्च अदालत तुलसीपुरका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार अदालतको आदेशअनुसार अब जिल्लामै उपस्थित गराई कागजी प्रक्रिया पूरा गरेपछि लामिछाने रिहा हुनेछन् । उनले यसअघि नै बैंक जमानत बुझाइसकेकाले अब औपचारिक प्रक्रिया मात्र बाँकी रहेको बताइएको छ ।

न्यायाधीशहरू वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न आदेश दिँदै पाँच वटा शर्त तोकेको छ । आदेशअनुसार जिल्ला अदालत रूपन्देहीले २०८१ माघ १३ गते थुनछेकका क्रममा तोकेको एक करोड रुपैयाँ धरौटी स्वीकार गर्नुपर्नेछ । सो समय रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले उनलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

यसका साथै सुप्रिम सहकारीसँग सम्बन्धित बिगो रकम सुरक्षित गर्न लामिछानेले पेश गरेको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पनि मान्य हुने आदेशमा उल्लेख छ । व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नुपरे अदालतलाई पूर्व जानकारी गराउनु पर्ने शर्त पनि राखिएको छ । त्यस्तै, जिल्ला अदालत रूपन्देहीले यसअघि जमानत लिन अस्वीकार गर्दै दिएको आदेश उच्च अदालतले बदर गरिदिएको छ । अन्तिम फैसलाबाट बिगोका हकमा थप दायित्व सिर्जना भएमा त्यसअनुसार बुझाउन मञ्जुर भएको कागज गराई थुनामुक्त गर्न भनिएको छ ।

अदालतको आदेशमा प्रतिवादीले आफू कार्यरत संस्थामा सुप्रिम सहकारीबाट प्रवाह भएको रकममध्ये दामासाहीका आधारमा पर्ने बिगो बैंक ग्यारेन्टीमार्फत सुरक्षित गरेको देखिएको उल्लेख छ । बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता पहिलो प्राथमिकता भएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार बैंक ग्यारेन्टी स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउन उपयुक्त देखिएको अदालतको ठहर छ ।

यसअघि जिल्ला अदालतले बैंक ग्यारेन्टीका आधारमा जमानतमा छाड्न अस्वीकार गरेपछि लामिछाने उच्च अदालत पुगेका थिए । उच्च अदालतले २०८१ चैतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि उनलाई भैरहवा कारागार चलान गरिएको थियो । पछि आफूलाई काठमाडौँ सरुवा गर्न माग गरेपछि साउन ३१ गते रुपन्देही कारागारबाट नख्खु कारागार सरुवा गरिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । तीमध्ये रवि, छवि र जीबीसहित चार जनाले १० करोड ९९ लाख ३६ हजार रुपैयाँ छुट्टै अपचलन गरेको आरोप अभियोगपत्रमा उल्लेख छ । लामिछानेले सोही बिगोमध्ये आफ्नो भागमा पर्ने रकम दामासाहीका आधारमा सुनिश्चित गरी धरौटीमा रिहा गर्न माग गरेका थिए, जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।

 

रविको रिहाइ आदेशपछि तोशिमा भन्छिन्–न्याय ढिलो भए पनि ढोका खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोशिमा कार्कीले सार्वजनिक धारणा राख्दै न्यायिक प्रक्रियाको ढिलासुस्ती र कठोरतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।

पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले हिजो धरौटीमा छाड्न दिएको आदेशको सन्दर्भ जोड्दै उनले एक जनप्रतिनिधि, दुई–दुई पटक भारी मतले निर्वाचित व्यक्तिलाई धरौटीमा छुट्न समेत महिनौं कुर्नुपर्ने अवस्थाले आम नागरिकहरू वर्षौदेखि कसरी मुद्दा–मामिलामा अल्झिरहेका होलान् भन्ने यथार्थ चित्रण गरेको टिप्पणी गरेकी छन्।

कार्कीका अनुसार ‘म भाग्दिन, देश छोडेर जाँदिन, धरौटी र विगो तिर्छु, अनुसन्धानमा पूरा सहयोग गर्छु’ भन्ने स्पष्ट प्रतिबद्धताका बाबजुद पनि न्यायिक प्रक्रियाले समय लिँदा त्यसले न्याय प्रणालीको संवेदनशीलता र गतिशीलतामाथि प्रश्न खडा गरेको छ । ढिलै भए पनि पार्टी सभापति रवि लामिछाने अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसलाई न्यायको ढोका खुलेको संकेतका रूपमा लिएकी छन्।

उनले रवि लामिछानेमाथि अन्याय र प्रतिशोध भएको विषयमा ४० लाख हस्ताक्षरले जनमत व्यक्त गरिसकेको स्मरण गराउँदै बुटवल उच्च अदालतको फैसलाले न्याय प्रणाली कठोर भए पनि अन्ततः धैर्यता, निडरता र निरन्तरतासामु झुक्न बाध्य भएको सन्देश दिएको टिप्पणी गरेकी छन् । यद्यपि पूर्ण न्याय अझै बाँकी रहेको भन्दै उनले अब पेसी सर्ने मात्र नभई चाँडै मुद्दाहरूको छिनोफानो भएर न्याय सुनिश्चित होस् भन्ने कामना व्यक्त गरेकी छन् ।

विगो र धरौटी दुवै तिर्छु भन्ने अभियुक्तको अधिकारलाई लिएर देशभर उत्सव जस्तो माहोल देखिनु आफैंमा हाम्रो न्याय प्रक्रिया कति क्रुर, निर्दयी र सुस्त छ भन्ने उदाहरण भएको कार्कीको भनाइ छ । उनले न्यायिक सुधारको आवश्यकता औंल्याउँदै ‘दुश्मनलाई बरु दिन लागोस्, मुद्दा नलागोस्’ भन्ने भनाइ यस्तै यथार्थबाट जन्मिएको बताएकी छन् ।

रवि लामिछानेको रिहाइलाई खुशीभन्दा बढी आशाको क्षणका रूपमा व्याख्या गर्दै कार्कीले यसले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको बताइन् । अब सभापतिको भौतिक उपस्थिति र प्रत्यक्ष पहलमा वैकल्पिक शक्तिहरू एकीकृत हुँदै मध्यमार्गी मूलधारको निर्णायक शक्ति बन्ने विश्वास उनले व्यक्त गरिन् । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतसहित विजयी भई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचारमुक्त सरकार निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

उनका अनुसार रवि लामिछानेको रिहाइसँगै पार्टीभित्र र बाहिर नयाँ शक्तिहरू एकीकृत हुने क्रम तीव्र भएको छ । रास्वपा थप सबल, सुदृढ र विस्तारित हुँदै भ्रष्टाचारविरुद्धको संघर्षमा अग्रपंक्तिमा उभिने संकेत देखिएको उनले दाबी गरिन् । अन्त्यमा उनले देशले खोजेको निकास र विकासको मार्ग अब रास्वपाले अघि बढाइरहेको भन्दै धैर्य गर्न आग्रह गरिन् । रास्वपा निलो क्रान्ति–अबको आशा रास्वपा’ भन्ने नारासहित उनले परिवर्तन, सुधार र आशाको दियो बलिरहेको सन्देश दोहोर्‍याएकी छन् ।

 

पुस्तान्तरण र निर्वाचनमार्फत संकट समाधान अनिवार्य : कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान राजनीतिक अवस्थामा नेतृत्व पुस्तान्तरण अपरिहार्य भइसकेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले पुराना दलहरूले समयको माग बुझेर नेतृत्व हस्तान्तरणतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

उनले नेतृत्व पुस्तान्तरण अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै एमालेले पनि यो यथार्थलाई बुझेको आफूले महसुस गरेको बताए । जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक र सामाजिक अवस्थाले पुराना दलहरूलाई आत्मसमीक्षा र केही त्याग गर्न बाध्य बनाएको उनको भनाइ थियो । उनले एमालेसहित स्थापित दलहरूले नयाँ दलहरूबाट पनि सिक्ने मनस्थिति बनाउनुपर्ने विश्वास व्यक्त गर्दै देशको हितका लागि उदारता देखाउन आग्रह गरे ।

महामन्त्री बुर्लाकोटीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाप्रति पनि ध्यानाकर्षण गराए । उनले प्रमाणविनै लामिछानेलाई जेलमा राखिएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष ढंगले सोच्न एमाले नेतृत्वलाई आग्रह गरे । सहकारी प्रकरणमा आफ्नो पार्टी सभापतिलाई प्रतिशोधका आधारमा थुनिएको दाबी गर्दै अन्य दलका नेताहरू ठूला आर्थिक आरोपका बाबजुद खुलेआम हिँडिरहेको अवस्थाप्रति प्रश्न उठाए ।

त्यसैगरी उनले आगामी निर्वाचन समयमै गरिनु नै वर्तमान राजनीतिक संकटको समाधानको मुख्य आधार भएको बताए । लामो समयदेखि निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएको अनुभवी दल एमालेले घोषित मितिमै निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने उनको धारणा थियो । निर्वाचनमार्फत नयाँ नेतृत्वको विकल्प खोज्नु नै संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउने उपाय भएको उनले बताए ।

जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा सामाजिक क्षतिका विषयमा बोल्दै बुर्लाकोटीले विगत साढे तीन दशकदेखि सरकार सञ्चालनमा रहेका सबै दलहरूले जिम्मेवारी लिनुपर्ने बताए । आफूहरूको पार्टी पनि केही समय सरकारमा रहेकाले दोषको प्रतिशतका आधारमा जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो । उनले असन्तुष्टि र विद्रोहको पृष्ठभूमिमा केही उक्साहट पनि देखिएको उल्लेख गर्दै त्यसको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताए । महामन्त्री बुर्लाकोटीले लोकतान्त्रिक मुलुकमा दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ हुनु अनिवार्य रहेको उल्लेख गरे । साथै विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन र देशभित्र पनि स्थायी ठेगानाबाहिर रहेका नागरिकलाई सहज रूपमा मतदान गर्न सक्ने प्रणाली विकास गर्न आग्रह गरे ।

शिक्षा क्षेत्रमा देखिएको राजनीतिक संरक्षण र हस्तक्षेप हटाउन सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले सुधार बिना जनताको विश्वास पुनःस्थापना हुन नसक्ने धारणा व्यक्त गरे । उनले समग्रमा राजनीतिक दलहरूले आत्मालोचना, सहकार्य र सुधारको बाटो समाउन सके मात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने निष्कर्ष प्रस्तुत गरे ।

निर्वाचन लक्षित वाचापत्र तयार गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी केन्द्रीय वाचापत्र निर्माणका लागि सुझाव संकलन गर्दैछ ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित केन्द्रीय वाचापत्र कार्यदलले पार्टीका सबै संयन्त्रबाट आज सुझाव संकलन गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार सुझावका लागि आज साँझ भर्चुअल माध्यम (जुम)मा बैठक आह्वान गरिएको छ । उक्त कार्यदलमा डा. वाग्लेसँगै केन्द्रीय सदस्यहरू डा. अरनिको पाँडे, डा. नन्दन यादव र क्रान्तिशिखा धिताल छन् ।

योसँगै रास्वपाले निर्वाचनलक्षित गतिविधि पनि तीव्र बनाएको छ । रास्वपाले निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधिसँगै प्रचारप्रसारलाई थप सक्रिय बनाएको हो । पार्टीले हाल अधिवेशन, संगठन विस्तार र समानुपातिक प्रणालीमार्फत उम्मेदवारी दिन आह्वान गरिरहेको छ । सोही क्रममा प्रारम्भिक निर्वाचनका गतिविधि व्यवस्थापनका लागि अडिट समितिले काम सुरु गरेको रास्वपाले जनाएको छ । समितिले उम्मेदवार छनोटसम्बन्धी सम्पूर्ण पक्षलाई तथ्यपरक रूपमा मूल्याङ्कन गर्ने जनाएको छ ।

आगामी निर्वाचन केन्द्रित प्रशिक्षणका लागि केन्द्रीय प्रशिक्षण विभागले अनलाइन तालिमका माध्यमबाट कार्यक्रम सञ्चालन गरेको छ । जिल्ला भेला, पूर्व उम्मेदवारहरूसँग छलफल र संगठन सुदृढीकरणका कार्यक्रम पनि अघि बढाइएको प्रवक्ता झाले जानकारी दिए । निर्वाचन तयारीलाई व्यवस्थित बनाउन रास्वपाले राजनीतिक अध्ययन कार्यदल, निर्वाचन रणनीति कार्यदल र सञ्चारमाध्यम अध्ययन कार्यदल गठन गरेको छ । यी कार्यदलले नीति विश्लेषणदेखि रणनीति निर्माणसम्मको कार्य गर्ने जनाइएको छ ।

रास्वपाले भन्यो–आफूखुशी उम्मेद्वारी घोषणा नगर्नू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको जस्ता अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उम्मेदवार छनोट समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा ध्यानाकर्षण भएको बताएको हो ।

‘पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ । सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा अनुरोध पनि गरेको छ ।
‘उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुस् विज्ञप्ती

 

रवि लामिछानेलाई यो सरकारले पनि पेल्यो भने सडकमै उत्रिन्छौं : डीपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डीपी अर्यालले सरकारले पार्टी अध्यक्ष रवि लामिछानेप्रति कुनै प्रकारको पूर्वाग्रह देखाए प्रतिवाद गर्न पछि नहट्ने चेतावनी दिएका छन् । विवेकशील साझा पार्टीसँग भएको एकता घोषणा सभामा बोल्दै उनले सरवि लामिछानेको विषय नजरअन्दाज नगर्न सरकारलाई सचेत गराए ।

अर्यालका अनुसार विगतको सरकारले नै ‘राजनीतिक प्रतिशोध’ का नाममा लामिछाने र रास्वपालाई दवाबमा पार्ने रणनीति अपनाएको थियो । ‘तत्कालीन सरकारले प्रशासन र प्रहरी निकायलाई राजनीतिक रूपमा प्रयोग गर्न खोज्यो, कुनै कसर बाँकी राखिएन’, उनले भने ।

उनले अहिलेको सरकारलाई पनि त्यही बाटो नअपनाउन आग्रह गरे । ‘यो सरकारले रवि लामिछाने र रास्वपालाई बेवास्ता गर्छ भने, हामीका लाखौँ समर्थकहरू चुपचाप टुलुटुलु हेरेर बस्दैनन्’, अर्यालको कडा चेतावनी थियो । उनका अनुसार रास्वपाले वर्तमान सरकारलाई समर्थन गरिरहेको भए पनि त्यसले आफ्नो सीमा नाघे सडक आन्दोलनसम्म जान बाध्य हुन सक्ने उल्लेख गरे ।

अर्यालले सरकारले पाएको म्यान्डेट अनुसार चुनाव तयारी र आवश्यक काममा सीमित रहनुपर्ने बताए । ‘हामीले शंका सुविधा दिइरहेका छौँ, तर हामीलाई सडकमा धकेल्ने परिस्थिति सिर्जना नगरियोस्’, उनले आग्रह गरे ।

विवेकशील साझासँगको एकतालाई उनले रास्वपाका लागि नयाँ ऊर्जा र ‘निलो क्रान्ति’ को नयाँ चरणको रूपमा व्याख्या गरे । उनका अनुसार विभिन्न नयाँ समूह र व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेकाले रास्वपाको संगठनात्मक शक्ति विस्तार भइरहेको छ । अर्यालले अध्यक्ष लामिछानेको उद्धरण सुनाउँदै भने, ‘रविजीले कारागारमा बसेर पनि आफू कमजोर भएको महसुस गर्नु भएन । राजनीतिमा आएर कुनै गल्ती गरेको छैन भन्ने आत्मविश्वास उहाँमा छ ।’

विवेकशील साझाका नेता–कार्यकर्तालाई स्वागत गर्दै अर्यालले साझा अभियान अब अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे । ‘निलो क्रान्तिले मूर्त रूप लिन थालेको छ, हामी अहिले झनै बलियो भएका छौँ’, उनले जोड दिए ।

रास्वपामा बिलाउन होइन, मिलाउन आएका हौं : रञ्जु दर्शना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेकी नेता रञ्जु दर्शनाले आफू बिलाउन नभइ मिलाउन आएको दाबी गरेकी छिन् । आज (आइतबार) काठमाडौंमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । उनले आफूलाई धेरैले बिलाउन गएको भनेर टिप्पणी गरिरहेको पनि बताइन् । ‘मलाई बारम्बार मिडियाका साथीहरूले र एकता मन नपराएका साथीहरूले तिमिहरूले बिलाउन गयौं भनिरहनुभएका छन् । हामी बिलाउन हैन, मिलाउन आएका हौं । यो सबैले स्पष्टसँग सुन्नु होला,’ उनले भनिन् ।

उनले टुटफुट झेलेर पाठ सिक्दै अहिले एकताबद्ध भएको बताइन् । ‘धेरै टुटफुट झेलिसक्नु भयो, यहाँ आउँदा भाँडभैलो गर्नु हुन्छ कि भन्ने पनि छ । ए बाबा त्यही टुटफुट झेलिसकेको भएर त हामीले ठूलो पाठ सिक्यौं । टुटेर होइन फुटेर हुन्छ भनेर । अबको राजनीति जुटकै राजनीति हुनुपर्छ,’ उनले भनेकी छिन् ।

नेपाललाई समृद्ध हुनका लागि अब वैकल्पिक शक्तिले बहुमत ल्याउनुपर्ने बताइन् । ‘किनकी नेपाललाई समृद्ध हुनका लागि धेरै वर्ष हामीसँग छैन । अब आउने निर्वाचनबाट बहुमत यो पार्टीले ल्याउनैपर्छ, वैकल्पिक शक्तिले ल्याउनैपर्छ । तब मात्रै एक दशकसम्म हामीले विकास ल्याउन सक्छौं,’ उनले भनिन् ।

 

 

रास्वपा–विवेकशील साझाबीच एकता : नाम रास्वपा, चुनाव चिह्न घण्टी नै रहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण घोषणा गरिएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आइतबार आयोजित कार्यक्रममा दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । दुवै पार्टीबीच एकता गर्न केही दिनअघि सहमति भएको थियो ।

रवि लामिछाने नेतृत्वको रास्वपा र समीक्षा बास्कोटा नेतृत्वको विवेकशील साझाबीच एकता भएसँगै पार्टीको नाम रास्वपा नै रहने भएको छ । दुवै पार्टीबीच भएको सहमतिअनुसार नै राष्ट्रिय स्वतन्त्र पार्टी नाम रहने उपाध्यक्ष स्वर्णिम वाग्लेले जानकारी दिएका छन् । एकताका लागि सहमति पत्रमा रास्वपाका तर्फबाट कार्यबाहक अध्यक्ष डोलप्रसाद अर्यालय र उपाध्यक्ष स्वर्णिम वाग्ले तथा विवेकशील साझाको तर्फबाट अध्यक्ष समीक्षा बास्कोटा र उपाध्यक्ष प्रकाशचन्द्र परियारले हस्ताक्षर गरेका छन् । एकतापछि पनि पार्टीको चिह्न घण्टी नै रहने भएको छ । यसमा पनि दुवै दलका नेता सहमत भएको वाग्लेले जानकारी दिए ।

प्रधानमन्त्री र रास्वपाका नेताबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल जारी छ ।

छलफलमा रास्वपाका नेताहरू कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम सहभागी छन् । छलफलमा निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको नेताहरूले जनाएका छन् ।

छलफल लगत्तै ५ बजे राप्रपाका नेताहरूलाई प्रधानमन्त्रीले बालुवाटार बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले पछिल्लो समय राजनीतिक दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेकी छन् ।

रविमाथि भएको अन्यायविरुद्ध लड्न रास्वपामा आएको हुँ : पूर्व एआईजी पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले पार्टी सभापति रवि लामिछानेमाथि भएको अन्यायविरुद्ध लड्न आएको बताएका छन् ।

आज रास्वपा प्रवेश गर्दै पोखरेलले सभापति लामिछानेको आदम्य साहस र उनीमाथि जनताले गरेको विश्वास देखेर आफूलाई रास्वपा प्रवेश गर्न प्रेरित गरेको बताएका छन् । उनले भने, ‘नेपाल प्रहरीमा २९ वर्षसम्म आफ्नो इमानमा बाँचेर काम गरेको मान्छे हुँ । कुनै पनि विषयमा बोल्न डराउँदिनँ । मैले रास्वपाका अध्यक्षमाथि जुन किसिमको अन्याय भएको छ । त्यो अन्यायको विरुद्ध म पनि यहाँ समाहित भएर लड्नु पर्छ भनेर आएको हुँ ।’

भदौ २४ गतेको जेनजी आन्दोलनमा मुलुक दनदनी बलिरहँदा पुराना पार्टीका नेताहरू दुलोभित्र पसेको तर रास्वपाका सभापति लामिछानेलाई जनताले काँधमा बोकेर बाहिर ल्याएको उनको भनाई थियो । रास्वपा प्रवेश गर्दै पोखरेलले मुलुकको समृद्धि र सुशासन कायम गर्ने पार्टी रास्वपा मात्रै भएको दावी गरे । उनले जनताको आशा र भरोसा बोकेको पार्टीको सदस्यता लिन पाउँदा आफूलाई खुशी लागेको पनि बताएका छन् ।

 

रवि र छविको मुद्दाको सुनुवाई फेरि किन भयो स्थगित ?

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको ठगीसम्बन्धी मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । आज (बिहीबार) निर्धारण गरिएको छैटौं पेशीमा लामिछाने पक्षका कानुन व्यवसायीले स्थगनको माग गरेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले सुनुवाइ सारिएको हो ।

साप्ताहिक पेशीअनुसार दुवैको मुद्दा तीन नम्बर इजलासमा न्यायाधीश मिलन राई र सानुमैया डंगोलको संयुक्त इजलासमा परेको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार जोशीको फाइल समेत एकैसाथ परेको र लामिछाने पक्षको निवेदनपछि इजलास स्थगित गरिएको हो ।

यसअघि पनि मुद्दा निरन्तर रोकिने क्रम जारी छ । पहिलो पेशीमा लगाउको आदेश जारी भएको थियो भने दोस्रोमा जिल्ला अदालतको मिसिल झिकाउने आदेश भयो । तेस्रो पेशीमा जोशीका कानुन व्यवसायीले रोक्का मागे, चौथोमा सर्वोच्च अदालतको मिसिल मागियो । पाँचौँ पेशी पनि लामिछाने पक्षकै निवेदनमा सारिएको थियो । छठौँ पेशीमा आएर पुनः लामिछानेका कानुन व्यवसायीले स्थगन मागेपछि सुनुवाइ अघि बढ्न सकेन ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी अभियोगमा थुनामा रहेका लामिछाने र जोशी दुवैको मुद्दा ‘लगाउ’ प्रक्रियामा परेकाले फाइल संयुक्त रूपमा हेरिँदै आएको छ । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्न आदेश दिएपछि पछिल्लो साता पेशी तोकिए पनि पुनः स्थगन भएको हो । सहकारी ठगीकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले आरोपअनुसारको बिगो रकम बराबरको जमानत बुझाइसकेकाले थुनाबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने दाबी गर्दै भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए । तर जिल्ला अदालत रुपन्देहीले साउन २६ गतेकै सुनुवाइमा रिहा गर्न अस्वीकार गरिसकेको छ ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले सो रकमको चौथाइ हिसाबले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएको कागजात पेस गरेका थिए । जोशीले पनि यस्तै जमानत बुझाएका थिए। तर, दुवैको व्यक्तिगत भागमा कति बिगो पर्न जाने भन्ने स्पष्ट नहुँदा अदालतले रिहा नगर्ने निर्णय लिएको थियो । हाल लामिछाने ललितपुरको नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै छन् ।

‘जेनजी’ प्रदर्शनका क्रममा उच्च अदालतमा आगजनी र तोडफोड हुँदा पनि दुवैको मुद्दाको फाइल भने सुरक्षित रहेको अदालतले जनाएको छ। तर कानुन व्यवसायीहरूका पटक–पटकको निवेदनले सुनुवाइ ढिलो भइरहेकाले मुद्दा समयमै टुंगो नलाग्ने चिन्ता व्यक्त भएको छ ।अदालतका कर्मचारीहरूका अनुसार दुई पटकसम्म मात्र पक्षहरूले सुनुवाइ रोक्न सक्ने प्रावधान छ । हालसम्म छविलाल जोशी पक्षले एक पटक र रवि लामिछाने पक्षले दुई पटक सुनुवाइ स्थगित गराइसकेका छन् । उनको तर्फबाट निरन्तर पेशी सारिँदा बाहिरी आरोप लगाउने प्रवृत्ति उचित नभएको पनि कर्मचारीहरू बताउँछन् ।

रवि र छविको मुद्दाको पेशी मिलन र सानुमैयाको इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा उच्च अदालत तुलसीपुर–बुटवलको ३ नम्बर इजलासमा पुगेको छ । यो मुद्दाको यो चौंथो पेसी हो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश मिलन राई र सानुमैया डंगोल रहेको बेञ्चमा फाइल परेको छ । ‘तीन नम्बर इजलासमा परेको छ, सुनुवाइ सुरु भएको छैन,’ कुँवरले भने ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको मुद्दा गत साता पेशी तोकिए पनि लामिछाने पक्षका कानुन व्यवसायीले स्थगन मागेपछि रोकिएको थियो । कात्तिक २० गतेको इजलासले सुरु मिसिल माग्ने आदेश दिएपछि अघिल्लो साता फेरि पेशी तोकिएको थियो, तर पुनः स्थगित भयो ।

यसअघि कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सुरू मिसिल मगाउने आदेश दिएको थियो । कात्तिक १३ गते तोकिएको पेशी भने जोशीका कानुन व्यवसायीको निवेदनमा स्थगित भएको थियो । त्यसभन्दा अघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीका मुद्दा एकै प्रकृतिका भएकाले एकसाथ हेर्न आदेश गरेको थियो ।

बिगोअनुसारको रकम बुझाएर थुनाबाहिरै बसेर मुद्दा लड्न रवि लामिछानेले माग गरेपछि उच्च अदालतले छविलाल जोशीको फाइल समेत पेस गर्न आदेश दिएको थियो । यसअघि अदालतले लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो । बिगो बमोजिमको रकम बुझाइ थुना बाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

 

रास्वपा र विवेकशील साझाको एकता घोषणा आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचमा हुने एकीकरणको घोषणा आइतबार राष्ट्रिय सभागृहमा हुने भएको छ । दुई दलको एकतामा सहमति भएसँगै विवेकशील साझा पार्टीले एकीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विवेकशील साझा पार्टीले उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलवीचको ‘वृहत्तर ध्रुबीकरण-एकीकरण प्रस्ताव’ लाई सर्वसम्मत अनुमोदन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय पारित गरेको हो ।

‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भईरहेको वेला नवयुवाहरुको आन्दोलन ‘जेनजी विद्रोह’ ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीवीचको एकीकरणलाई तीब्रत्तर बनाई दियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास,संबृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिवद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ’, संयोजक एवं उपाध्यक्ष परियारले भने । पार्टी एकीकरणका अन्य प्राविधिक विषयहरू भने दुवै दलका नेतृत्वहरुको उच्च समझदारीको टुंगो लगाइन जनाइएको छ ।

रास्वपाका सबै प्रदेश इञ्चार्जहरू जिम्मेवारी मुक्त, वैकल्पिक शक्तिहरुसँग एकता आह्वान

काठमाडौं । आगामी २१ फागुनमा हुन लागेको निर्वाचनलाई लक्ष्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठन पुनर्संरचना तीव्र बनाउँदै सबै वैकल्पिक राजनीतिक शक्तिलाई एकजुट हुन आह्वान गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले प्रदेश इञ्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गर्दै संगठनलाई चुनाव–केन्द्रित ढंगले पुनः व्यवस्थित गर्ने निर्णय गरेको हो ।

रास्वपाले गत वैशाखमा सातै प्रदेशका इञ्चार्ज तोकेको थियो—कोशीमा सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपीन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल । तीमध्ये कोशी इञ्चार्ज सन्तोष परियारले पार्टी परित्याग गरिसकेका छन् । सचिवालय सदस्य नै रहेका यी इञ्चार्जहरूलाई पदमुक्त गरी आगामी निर्वाचनका गतिविधिमा सक्रिय रूपमा प्रयोग गर्ने तयारी भइरहेको पार्टीले जनाएको छ । रिक्त पद भने केन्द्रीय सदस्यबाट पूर्ति गरिनेछ ।

सहमहामन्त्री विपीन आचार्यका अनुसार निर्वाचन नजिकिएकाले संगठनलाई चाँडो, चुस्त र अभियान–मुखी बनाउन जिम्मेवारी हेरफेर आवश्यक भएको हो । सचिवालय बैठकले पुराना इञ्चार्जहरूलाई धन्यवाद दिँदै अबको भूमिकालाई पूर्णतः चुनाव केन्द्रित बनाउने निर्णय गरेको छ । यसैबीच, पार्टीको उच्च संवाद समितिबाट विभिन्न दल, समूह र व्यक्तिसँग भएको हालसम्मको राजनीतिक संवादबारे सचिवालयमा विस्तृत ब्रिफिङ भएको छ ।

सो आधारमा रास्वपाले सुशासन र द्रुत विकासप्रति प्रतिबद्ध सबै वैकल्पिक राजनीतिक शक्तिलाई राष्ट्रियस्तरमै एकजुट हुन औपचारिक आह्वान गरेको छ । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार ३ मंसिरमा बसेको केन्द्रीय समिति बैठकको निर्देशनअनुसार सम्भाव्य राजनीतिक सहकार्यलाई तार्किक निष्कर्षमा लैजान सचिवालय सक्रिय रूपमा लागेको छ । उनका अनुसार वैकल्पिक राजनीतिक शक्तिको सामूहिक क्षमता जुटाएर मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सकिने विश्वास पार्टीले लिएको छ ।

बैठकले संगठनात्मक र अनुशासनसम्बन्धी अन्य निर्णय पनि गरेको छ । केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा रहेका रिक्त पद पूर्तिका लागि योग्य उम्मेदवार सिफारिस गर्न केन्द्रीय समिति सदस्यलाई आग्रह गरिएको छ । सबै पालिकामा ‘र्यापिड एक्सन टिम’ गठन गरी स्थानीय संगठनलाई सुदृढ बनाउने निर्देशन पनि सचिवालयले दिएको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा पार्टी विधानअनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णयसहित बैठक सम्पन्न भएको छ । रास्वपाले आगामी निर्वाचनलाई संगठन विस्तार, आन्तरिक पुनर्संरचना र वैकल्पिक राजनीतिक ध्रुवीकरणका सम्भावनासँग जोडेर अघि बढाएको देखिन्छ ।

रास्वपाका पाँच निर्णयहरु

१. विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरूसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिको तर्फबाट ब्रिफिङ भयो । सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पु¥याउन केन्द्रीय समितिको २०८२ मङ्सिर ३ गते बसेको बैठकको निर्देशानुसार अघि बढ्न सचिवालयबाट आवश्यक सहजीकरण गर्ने निर्णय गरियो । सुशासन र द्रूत विकासप्रति समर्पित सबै वैकल्पिक शक्तिहरू मुलुकको अर्थ–राजनीतिक संरचनामा आमूल परिवर्तन गर्न सक्ने सामूहिक सामथ्र्य बनाउन एकजुट हुन आह्वान गर्ने निर्णय गरियो।

२. पार्टीको केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय लेखा आयोगमा रहेको रिक्त पदपूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य पात्रहरूको नाम सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरियो ।

३. प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो ।

४. सबै पालिकामा पार्टीको  र्‍यापिड एक्सन टिम गठन गर्ने र सोका लागि प्रदेश एवं जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरियो ।

५. कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनका आधारमा पार्टी विधानको धारा ७० बमोजिम कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय गरियो ।

 

रास्वपाका काठमाडौं सभापति बिष्टले फिर्ता लिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं सभापति प्रदीप विष्टले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। पार्टीका शीर्ष नेताहरूसहितको बैठकबाट आज सहमति बनेपछि विष्टले राजीनामा फिर्ता लिएका हुन्।

आफूले उठाएका मुद्दाहरूलाई पार्टीले सम्बोधन गर्ने र समस्या रहेका विषय समाधान गर्ने सहमति बनेसँगै राजीनामा फिर्ता लिएको विष्टले जानकारी दिए । पार्टीमा पारदर्शी, बेथिति र निर्णयहीनताका विषयमा बारम्बार प्रदेश समिति, प्रदेश ईन्चार्ज तथा केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराएको तर सम्बोधन नभएको भन्दै विष्टले पदबाट राजीनामा दिएका थिए।

मंसिर ५ गते महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र लेखेर विष्टले पदबाट राजीनामा दिएका थिए। जिल्लाको नेतृत्वमा बसेर निर्वाचन क्षेत्र, पालिका र वडाको कार्यकर्ता र मतदातालाई निरन्तर आश्वासन, भरोसा र मार्गदर्शन दिएको व्यक्ति भएर उनीहरूलाई ‘गुमराह’ मा राखिरहनु आफ्नो नैतिकताले नदिने भन्दै उनले राजीनामा दिएका थिए।

६ पटक लिखित पत्राचार, ३ पटक औपचारिक बैठक एवं अनौपचारिक संवादमार्फत तथ्य प्रस्तुत गर्दै सुधारका लागि ठोस, समयानुकूल र नीतिगत निर्देशन मागेको तर उपल्लो निकायले तदरुकता नदेखाएको उनको भनाइ थियो।

पार्टी शीर्ष नेताहरूले आफ्ना मागहरू सम्बोधन गर्ने र आन्तरिक समस्याका विषयहरू समाधान गर्न तत्परता दिने प्रतिबद्धता गरेपछि राजीनामा फिर्ता लिएको विष्टले बताए। उनले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको थिएन। विष्ट गत निर्वाचनमा प्रतिनिधि सभाका लागि काठमाडौं–१० बाट रास्वपाको उम्मेदवार बनेका थिए।

रास्वपा काठमाडौंका सभापति विष्टले दिए राजीनामा

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले पदबाट राजीनामा दिएका छन् । उनले पार्टीबाट राजीनामा नदिएको बताएका छन् । उनले पार्टी छोडेको नभई काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट राजीनामा दिएको जनाएका छन् ।

राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमितिको बैठक बोलाएका थिए । बैठकका सहभागीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका उनले धेरै सोचविचार गरेपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए । पार्टीको प्रचलनअनुसार बागमती प्रदेश समितिमा राजीनामा बुझाएको विष्टले बताए । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको तर्फबाट काठमाडौं– १० बाट उम्मेदवार थिए ।

नोट चल्नेको भोट पनि चल्नु पर्छ : तोशिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोशिमा कार्कीले आगामी संघीय निर्वाचनलाई पूर्णरूपमा समावेशी र लोकतान्त्रिक बनाउन प्रवासी नेपालीहरूलाई अनिवार्य रूपमा मतदान प्रक्रियामा सहभागी गराउनु पर्ने माग गर्दै सरकार तथा सबै राजनीतिक दलहरूलाई स्पष्ट चुनौती र आग्रह गरेकी छिन् ।

उनका अनुसार आयोजित हुन लागेका संघीय निर्वाचनहरूमा पनि ४० लाखभन्दा बढी विदेशस्थित नेपाली युवा, श्रमिक, विद्यार्थी तथा व्यवसायीहरू पुनः मताधिकारबाट वञ्चित हुन लागिरहेका छन्, जुन संविधानले सुनिश्चित गरेको मौलिक हकको उल्लंघन हो । कार्कीले भनेकी छन्, ‘देशभित्र वा देशबाहिर जहाँ बसेका भए पनि प्रत्येक नेपाली नागरिकलाई सरकार चयन प्रक्रियामा सहभागी हुन पाउने अधिकार छ । नोट चल्नेहरूको भोट पनि चल्नु पर्छ ।’

डा. कार्कीले सबै दललाई निशाना बनाउँदै भनेकी छन्, ‘तपाईंहरूले विदेश–विदेशमा बनाएको पार्टीका भातृ संगठन, समूह र मोर्चामा रहेर हजारौँ नेपालीले तपाईंहरूलाई साथ दिएका छन् । तर उनीहरूले आफ्नै देशको निर्वाचनमा भोट हाल्न नपाउँदा तपाईंहरूले के जवाफ दिनु हुन्छ ?’

उनले दलहरूलाई घोषणापत्र र भाषणमै सीमित रहन नहुने, विदेशी मतदाता दर्ता र वैदेशिक भोटिङ प्रणाली तत्काल कार्यान्वयन गर्ने राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने आवश्यकता जोड दिएकी छन् । डा. कार्कीले आगामी संघीय निर्वाचनमा नै प्रवासी नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताएकी छन् । उनले भनेकी छन्, ‘संविधानले दिएको हक लागू गर्न सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरू सबैले अग्रसर हुन जरुरी छ । विदेशमा बसेको भन्दै नागरिकलाई लोकतान्त्रिक अधिकारबाट वञ्चित गर्नु अन्याय हो ।’

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीविरुद्धको सहकारी ठगी तथा संगठित अपराध अभियोगसम्बन्धी मुद्दामा आज (बिहीबार) उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा पेसी तोकिएको छ ।गत हप्ता न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, मिसिल प्राप्त भएसँगै आज पेसी चढाइएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको भनिएको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । जिल्ला अदालतको सोही आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दालाई एकसाथ हेर्ने आदेश दिएको थियो । आज पेसी तोकिएसँगै दुवै पक्षका कानून व्यवसायीहरू बहसका लागि तयारीमा जुटेका छन् । उच्च अदालतको यो सुनुवाइले मुद्दाको भविष्य निर्धारण गर्ने भएकाले सबैको ध्यान यसमा केन्द्रित छ । आजको सुनुवाइले लामिछानेको राजनीतिक भविष्य र न्यायिक प्रक्रियामा कस्तो प्रभाव पार्छ, त्यो हेर्न बाँकी नै छ ।

आत्मसम्मानमा प्रहार भए पार्टीले अझै अब्बल साथीहरू गुमाउँदैछ : तोशिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य तोशिमा कार्कीले पार्टीको वर्तमान अवस्थाले पार्टीका धेरै अब्बल व्यक्तिहरू पार्टी छोड्दै जाने बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो धारणा राख्दै पार्टी सुधारको आवश्यकता रहेको बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि उनले कटाक्ष गरेकी छन् ।

‘घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि, आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेण्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउँलान् र खोई ? हेक्का रहोस् बेलैमा नसुध्रिए, सबै अट्ने सबै खट्ने गरी पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरू पार्टीले गुमाउँदै छ’, उनले लेखेकी छन् । पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिएको तर, अत्यधिक दबाबको कारण संस्थापन पक्ष बाध्य भएको उनको भनाइ छ । फरक विचार राख्दा मिडिया ट्रायलको बारम्बार सिकार हुनु परेको भन्दै उनले आत्मसम्मानमा प्रहार हुँदा कोही बोलेर कोही नबेलेर पार्टी त्याग्ने उनले बताइन्।

 

सहकारी प्रकरण ‘रवि थुन्ने’ राजनीतिक हतियार मात्रै : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानको नियतमाथि प्रश्न उठाएकी छन् ।

उनले लामिछानेलाई मात्र निशाना बनाउनुको सट्टा सहकारीको ठगी हुँदा मौन बस्ने राज्यका नियामक निकायहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताएकी छन् । सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले सहकारी प्रकरणलाई राजनीतिक हतियार बनाएर रवि लामिछानेलाई मात्रै थुनेपछि सबै पीडितले पैसा फिर्ता पाउँछन् भन्ने भ्रम छरिएको बताइन् ।

‘रवि लामिछानेलाई थुनिसकेपछि सबै सहकारी पीडितले पैसा पाउनु हुन्छ भने जसरी जुन खालको व्यवहार गरियो, त्यो गलत छ,’ उनले भनिन्, ‘आजको दिनसम्म पनि सहकारी पीडितहरू सडकमै हुनुहुन्छ, उहाँहरूले आफ्नो रकम फिर्ता पाउनु भएको छैन ।’

गौतमले सहकारीको सदस्य नै नभएको व्यक्तिले ऋण लिन नमिल्ने कानुनी व्यवस्थातर्फ ध्यानाकर्षण गराउँदै प्रश्न गरिन्, ‘रवि लामिछाने त सहकारीको सदस्य पनि नभएको मान्छे हो । सदस्यले मात्रै ऋण लिन पाउँछ । यदि गैर–सदस्यको नाममा ऋण निकासा भएको हो भने त्यो अवैध काम हुँदा सहकारीलाई निगरानी गर्ने निकायहरू के हेरेर बसेका थिए ?’

उनले सहकारी ठगी समस्याको समाधान व्यक्तिलाई थुनेर नभई पीडितको पैसा फिर्ता गराउनेमा केन्द्रित हुनुपर्ने बताइन् । ‘संसदीय छानबिन समितिको प्रतिवेदनले नै थुना होइन, सम्पत्ति व्यवस्थापन गर भनेको छ,’ गौतमले भनिन्, ‘तर त्यही प्रतिवेदनमा टेकेर रवि लामिछानेलाई मुद्दा चलाइन्छ । यो विरोधाभासपूर्ण छ ।’ उनले यो विषय लामिछाने राजनीतिमा आएपछि मात्र हतियारको रूपमा प्रयोग भएको दाबी गर्दै ढिलो–चाँडो अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताइन् ।

यस्तै नेतृ गौतमले आफू पार्टी छाड्ने मनस्थितिमा नरहेको पनि स्पष्ट पारेकी छन् । पार्टीका अन्य नेताहरूले राजीनामा दिइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले आफू पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेसँगै रहेको र पार्टीको नीति तथा विचारमा स्पष्ट रहेको बताइन् ।

हालै रास्वपाका नेता तथा प्रमुख सचेतक सन्तोष परियारले पार्टी परित्याग गरेका थिए । यसअघि अर्की प्रभावशाली नेतृ सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । यही पृष्ठभूमिमा गौतमलाई पार्टी छाड्ने सम्भावनाबारे प्रश्न गरिएको थियो । उनले सभापति रवि लामिछानेले पार्टी खोल्ने प्रस्ताव राख्दादेखि नै आफू जोडिएको र पार्टी खोल्नुको उद्देश्यबारे स्पष्ट रहेको बताइन् ।

‘हाम्रो सभापति रवि लामिछाने ज्यूले प्रस्ताव गर्नु भएको बेलादेखि नै म उहाँसँग जोडिएको कारणले किन पार्टी खोलेको, कसको लागि खोलेको भन्नेमा स्पष्ट छु,’ उनले भनिन्, ‘हाम्रो पार्टीले लिएका नीतिहरूको बारेमा पनि म स्पष्ट छु । त्यसकारण मैले पार्टी छाड्नेबारे सोचेको छैन । यही हो मेरो पार्टी ।’

एक जनाले रास्वपा छाडे, सय जना भित्रिन्छन् : बिराजभक्त श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले पार्टी छाड्नेहरू भन्दा पार्टी प्रवेश गर्नेहरूको भीड दिन प्रतिदिन बढ्दै गएको दावी गरेका छन् । ललितपुरको गोदावरीमा आज (शनिबार) भएको रास्वपा गोदावरी नगर समितिको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपाको लोकप्रियता घटिरहेको भन्ने भ्रम गलत रहेको प्रष्ट पारे ।

श्रेष्ठले पार्टीका केही कार्यकर्ताले ‘को–को गए’ भनेर चिन्ता व्यक्त गरिरहे पनि वास्तविकताको सूचक उल्टो रहेको बताए । उनले भने, ‘एक जना जान्छन्, तर सय जना आइरहेका हुन्छन् । आज नयाँ सदस्यहरूलाई प्रवेश गराउँदा त्यो दृश्यै फरक देखियो । यो संस्थाप्रतिको र रवि दाइले देखाउनु भएको बाटोप्रतिको विश्वासको परिणाम हो ।’

उनका अनुसार, पार्टी छाड्ने घटनालाई बढी प्रचारित गरिए पनि रास्वपामा भइरहेको नयाँ ऊर्जा र आकर्षणलाई हेर्न सकिनु मुख्य समस्या हो । ‘एक जना गए सय बढ्छन्–यो मेसेज नै रास्वपाप्रतिको जनविश्वासको प्रमाण हो’, उनले भने । त्यसैगरी, सरकार जनताको वास्तविक पीडा र असन्तोषप्रति संवेदनशील नहुँदा भदौ २३ गतेको घटना जस्ता दुर्घटना भएको श्रेष्ठले बताए ।

उनले भने, ‘जनता अत्यन्तै पीडित र आक्रोशित छन् । सत्ता र शक्तिले त्यो हेर्नै चाहेन । हामीले निरन्तर चेतावनी दिएको थियौं-नसुन्दा परिणाम भदौ २३ को रुपमा प्रकट भयो ।’ श्रेष्ठले सरकार जनताको आवाजप्रति अझै उत्तरदायी नभए आगामी दिनमा थप समस्या उत्पन्न हुने चेतावनी समेत दिए ।

सन्तोषले पार्टी छाडे लगत्तै गणेशले भने–दुष्मन देखेपछि दुर्घटनामा पर्छ–पर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद र असमति सतहमा देखिन थालेका छन् । शुक्रबार मात्रै पार्टीका निवर्तमान सांसद एवं विघटित प्रतिनिधिसभामा दलको प्रमुख सचेतक रहेका सन्तोष परियारले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाइसकेका छन् ।

परियारले पार्टी छाडे लगत्तै अर्का रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको पनि असन्तुष्टियुक्त अभिव्यक्ति दिएका छन् । कार्कीले फेसबुकमा स्टाटस राखेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुष्मन देखेपछि दुर्घटनामा त पर्छ–पर्छ ।’ सँगै उनले अर्को प्रकृति बाँधेर पनि अभिव्यक्तिलाई जोडेका छन् । ‘भन्छन् नि–जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर,’ कार्कीले अगाडि लेखेका छन् ।

यसैबीच नेपाली कम्युनिष्ट पार्टीमा नगई ‘प्रगतिशील अभियान नेपाल’ चलाइरहेका जनार्दन शर्माले दल दर्ताको गृहकार्य अगाडि बढाएका छन् । जसमा रास्वपा छाडेका नेता सन्तोष परियारले पनि जोडिन पुगेका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले दल दर्ताको गृहकार्य भइरहेको बताएका हुन् ।

रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले जनाएका छन् । त्यसकै लागि परियारले आजै शुक्रबारबाट रास्वपा परित्याग गरेका छन् । उनले नयाँ राजनीतिक अभियान चलाउने भन्दै राजीनामा पत्र बुझाएका छन् । परियारले पार्टी परित्यागअघि जनार्दन शर्मासहितका नेतासँग छलफल गरेका थिए ।

शुक्रबार कुपन्डोलस्थित शर्माको सम्पर्क कार्यालयमा भएको छलफलमा परियारसँगै नेसपा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराई, नेपाली कम्युनिष्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियानका संयोजक बनेका सुदन किराँती, राम कार्कीलगायतका नेताहरू सहभागी थिए । उनीहरूले शुक्रबार नै निर्वाचन आयोगमा नाम बुझ्नका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाएका थिए । किराँतीले आफूहरू दल दर्ताको प्रयासमा रहेको बताए । ‘हामी निरन्तर छलफलमै छौं । साँझसम्म एउटा निचोडमा पुग्छौँ,’ उनले सुनाए । उनीहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग पनि मिलेर जाने विषयमा निरन्तर संवादमा छन् ।

 

 

 

रास्वपा छाडेका सन्तोष परियार जनार्दनसँग छलफलमा, रास्वपाले दियो शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले माओवादी केन्द्र छाडेका जनार्दन शर्मासँग छलफल थालेका छन् । नयाँ अभियान सुरु गर्ने भन्दै रास्वपा परित्याग गरेका परियार र शर्माबीच अहिले छलफल भइरहेको छ । ‘अहिले सन्तोष परियार र जनार्दनजी सँगै हुनुहुन्छ, उहाँहरूबीच छलफल भइरहेको छ,’ स्रोतले भन्यो । परियारले शर्माको अभियानमा जोडिनका लागि रास्वपा परित्याग गरेको स्रोतले जनाएको छ ।

परियारले पार्टीमा आन्तरिक कहल व्याप्त भएको भन्दै आजै रास्वपा छोडेका छन् । प्रतिनिधिसभामा रास्वपाको तर्फबाट प्रमुख सचेतक भएका परियार पार्टीमा सचिवालय सदस्यको जिम्मेवारीमा रहेका थिए । परियारले पार्टीलाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा आफू दुःखी रहेको बताएका छन् । उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, ‘निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु । नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुःखी छु ।’

रास्वपाले भन्यो–उहाँलाई शुभकामना
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय सदस्य सन्तोष परियारले पार्टी छोडेको जानकारी गराएको छ । परियारले पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र महामन्त्री कविन्द्र बुर्लाकोटीलाई भेटेर राजीनामा पत्र बुझाएको प्रवक्ता मनीष झाले जानकारी दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनु भएका सन्तोष परियारले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ,’ झाले भने, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’

रविको मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जोडिएको सहकारी ठगीसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश गरेको छ । सुप्रिम सहकारी ठगीसम्बन्धी सक्कल मिसिल अहिले सर्वोच्च अदालतमा रहेकाले मिसिल झिकाउने आदेश भएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दाको फाइल जोगिएको थियो । यसअघि लामिछानेले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुट्कारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले २६ साउनमा उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर, लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछाले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो । पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । भैरहवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नख्खु कारागार सरुवा गरिएको छ भने जोशी भने भैरहवा कारागारमै छन् ।

 

रास्वपाले भन्यो–नोट चल्ने, भोट नचल्ने हुनु हुँदैन, ५० लाख नेपालीको मताधिकारको लडाइँ बोक्छौँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्लेले विदेशमा रहेका लाखौं नेपालीहरूले पठाएको ‘नोट’ चल्ने तर उनीहरूले दिने ‘भोट’ नचल्ने अन्यायपूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् । उनले विदेशमा रहेका करिब ५० लाख नेपालीको नैसर्गिक मताधिकार सुनिश्चित गराउने लडाइँमा रास्वपाले नेतृत्वदायी भूमिका खेल्ने र यसलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने दावी गरे गरे ।

आज (बिहीबार) विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने अधिकारको सुनिश्चितताका लागि सैद्धान्तिक र प्राविधिक प्रस्तावबारे छलफल र नेपाल पोलिसी इन्स्टिच्युटको प्रस्तुतिकरणको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘जसको नोट चल्छ, उसको भोट पनि चल्नु पर्छ, नोट चल्ने भोट नचल्ने भन्ने हुँदैन । विदेशमा रहनु भएका ४० देखि ५० लाख नेपालीहरूको यो नैसर्गिक र आधारभूत राजनीतिक हक–अधिकार अब रास्वपाले बोक्छ । यसको लागि लड्छ र यो गराएरै छाड्छ ।’ सरकारमा इच्छाशक्ति भए आगामी फागुन २१ गतेकै निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन सकिने उनले बताए ।

प्राविधिक तयारीका लागि १२ देखि १३ हप्ताको समय पर्याप्त हुने शोधकर्ताहरूको निष्कर्ष रहेको उल्लेख गर्दै उनले भने, ‘इच्छाशक्ति हुने हो भने यो सम्भव छ । नोभेम्बर २५ सम्म कानुनी र प्राविधिक तयारी गर्न सकियो भने फागुन २१ कै निर्वाचनका लागि यो सम्भव छ ।’ डा. वाग्लेले देशको कुल मतदाताको ठूलो हिस्सा निर्वाचन प्रक्रियाबाट बाहिर रहँदा निर्वाचनको शासकीय वैधतामाथि नै प्रश्न उठेको तर्क गरेका छन् ।

तथ्यांक प्रस्तुत गर्दै उनले भने, ‘झण्डै ३ करोडको देशमा १ करोड ८० लाख मतदाता छन्, तर पछिल्लो निर्वाचनमा जम्मा १ करोड १० लाख मत मात्र खस्यो । सबैभन्दा ठूलो दलले केवल २७ लाख मत पाएको छ । यो ‘डेमोक्रेटिक डिस्इन्फ्रान्चाइजमेन्ट’ (लोकतान्त्रिक मताधिकारबाट वञ्चितीकरण) हो, यति ठूलो खर्च र तयारीमा गरिएको निर्वाचनको वैधतामाथि नै गम्भीर प्रश्न उठाउँछ ।’ रास्वपाले स्थापनाकालदेखि नै यो मुद्दालाई निरन्तर उठाउँदै आएको स्मरण गराउँदै उनले सरकारलाई यस कार्यमा आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न पार्टी तयार रहेको बताए ।

विदेशमा रहेका नेपालीहरू मतदान गर्न अत्यन्तै इच्छुक रहेको सर्वेक्षणले देखाएको बताउँदै उनले थपे, ‘एक सर्वेक्षणमा सोधिएका मध्ये दुई तिहाइ (६७ प्रतिशत) ले मतदान गर्न इच्छुक छौं भनेका छन् । तीमध्ये ४० देखि ५० प्रतिशतको नाम मतदाता सूचीमा अहिले नै दर्ता भइसकेको छ । केवल कानुनी प्रबन्ध मिलाइदिने हो भने आधाजसोले तत्कालै मतदान गर्न पाउने अवस्था छ ।’ सर्वोच्च अदालतले पटक–पटक आदेश दिइसकेको र निर्वाचन आयोगले पनि सरकारले तयारी गरे आफूहरू तयार रहेको बताइसकेको अवस्थामा अब सरकारले यसलाई गम्भीरतापूर्वक लिएर तत्काल काम अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

आलोचकलाई सुमनाको जवाफ : हो, म अवसरवादी हुँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आफूलाई अवसरवादी भन्ने आलोचकहरूलाई एक कवितामार्फत जवाफ फर्काएकी छन् ।

सामाजिक सञ्जालमा बुधबार ‘म अवसरवादी !’ शीर्षकमा एक कविता सार्वजनिक गर्दै उनले देश र जनताको सेवा गर्ने अवसर खोज्नुलाई नै आफूले अवसरवाद मान्ने गरेको बताएकी छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता ‘पागल’ बाट प्रेरित रहेको उक्त कवितामा श्रेष्ठले जनताको पीडामा मलम लगाउने, अन्धकारमा आशाको बत्ती बाल्ने र न्यायको बाटोमा हिँड्ने अवसरलाई नै आफूले रोजेको बताएकी छन्।

‘यदि सेवा गर्नु अपराध हो भने, म त्यो अपराध स्वीकार्छु,’ कवितामा लेखिएको छ, ‘यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, म पागलपन स्वीकार्छु ।’ कवितामार्फत उनले राजनीतिक मौनतालाई पनि अपराधको संज्ञा दिइन् । परिवर्तनको घडी रोकिएमा फेरि भ्रष्टहरूको दिन फर्कने चेतावनी दिँदै उनले लेखेकी छन्, ‘तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौं, अवसरवादी भनेर चिच्याउन सक्छौ, तर म मौन रहन्न, किन भने, मौनता पनि अपराध हो ।’

हेर्नुस् सुमनाको कविता :

म अवसरवादी !

हो, म अवसरवादी हुँ,
जनताको पिडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु !

हो, म अवसरवादी हुँ,

किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँशु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरुको दिन आउनेछ, सर्वत्र अध्यारो छाउनेछ ।

तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
‘अवसरवादी !’ भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न,
किनभने, मौनता पनि स्वीकृति हो ।
मौनता पनि अपराध हो ।

म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा ।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने ।

यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु ।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु ।
किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काँख
र मानेको छु – देश मरेको छैन,
देश त केवल निदाएको छ ।

त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै ।
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम ‘अवसरवादी’ करार हुदा पनि,
सबै भन्दा खुसि मै हुनेछु ।

तोसिमाको आक्रोश : तपाईंहरूको अश्लील गाली खान राजनीतिमा आएको होइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूलाई अनाहकमा गाली आइरहेको भन्दै चित्त दुःखाएकी छन् । देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस् भन्ने आफ्नो एक मात्र ध्येय रहेको उनले बताएकी छन् । रास्वपाभित्र ‘रिफर्मेसन’ को आवाज उठाइरहेकी कार्की पछिल्लो समय सभापति रवि लामिछानेका अनुयायीहरुको निशानामा छिन् ।

उनलाई सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया र गालीगलौजको वर्षा हुने गरेको छ । उनले रास्वपामा रवि लामिछानेको विकल्प खोजेको हल्लापछि यसरी गाली आउन थालेको हो । यद्यपि, कार्की आफूले सभापतिको विकल्प खोजेको नभएर सिंगो संरनात्मक हेरफेरको पक्षमा रहेको बताउँछिन् । उनले आज सामाजिक सञ्जालमा स्टाटस लेख्दै जीवनभर दुख गरेर डाक्टर तथा सर्जन भएपछि परिवारको सपनालाई तिलाञ्जलि दिएर राजनीतिमा आएको उल्लेख गरेकी छन् ।

हेर्नुस् उनको स्टाटस :
जीवनभर दुःख गरेर पढेर, सपना अर्थ र परिश्रमको लगानी गरेर डाक्टर अनि सर्जन भएको म, मेरो परिवारको सपनालाई तिलाञ्जलि दिएर म तपाईँहरूको अश्लील गाली र अपशब्दको सिकार बन्नलाई राजनितिमा आएको होईन । खल्तीमा पैसो नभएकै कारण मेरो आँखा अगाडि मैले बिरामीले उपचार नपाएको, बेड नपाएको, औषधि नपाएको, आईसीयू नपाएको देखेको छु र ती दृश्यहरूले मलाई दुखेको छ । यो देशमा पैसाको अभावले बिरामीहरु उपचार नपाएर मर्नु नपरोस् । गरिबभन्दा गरिब बिरामीले पनि गुणस्तरीय उपचार पाओस् भन्ने एक मात्र लक्ष्य हो मेरो । यसैको लागि राजनीतिमा आएको हुँ र अन्तिम श्वास रहेसम्म प्रत्येक नेपालीको स्वास्थ्य अधिकारको लागि लड्नेछु । आशा छ यो लक्ष्य पूरा गर्न तपाईंहरू सबैले साथ दिनु हुनेछ ।

 

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान, जेनजी र प्रवासबाट फर्केकालाई आरक्षण

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको आवेदन आह्वान गरेको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको उम्मेदवार छनोटको रूपरेखाअनुसार आवेदन आह्वान गरिएको हो ।

रास्वपाले उम्मेदवार बन्न इच्छुकका लागि केही सर्त तथा मापदण्ड निर्धारण गरेको छ । पार्टीका अनुसार उम्मेदवारले सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था वैध रहेको, जात वा लिंगका आधारमा अपमान वा कमजोर वर्गमाथि शोषणजस्ता आचरण नगरेको र आम्दानी पारदर्शी भएको स्वघोषणा गर्नुपर्नेछ ।

छनोट प्रक्रिया पारदर्शी, विधिसम्मत र निष्पक्ष रहोस् भन्ने उद्देश्यले रास्वपाले अडिट समिति गठन गर्ने जनाएको छ । पार्टीले समानुपातिक बन्दसूचीको प्रारूपलाई संविधानले तोकेको जातीय क्लस्टरका साथै जनसांख्यिक र प्रादेशिक अनुपातका आधारमा तयार पारेको बताएको छ । यसअनुसार, २०७९ सालको आम निर्वाचनमा प्राप्त मतको प्रादेशिक अनुपातलाई समेत आधार मानेर ११० जनाको बन्दसूची निर्माण गरिएको रास्वपाको दाबी छ ।