पुस्तान्तरण र निर्वाचनमार्फत संकट समाधान अनिवार्य : कविन्द्र बुर्लाकोटी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले वर्तमान राजनीतिक अवस्थामा नेतृत्व पुस्तान्तरण अपरिहार्य भइसकेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले) को ११औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले पुराना दलहरूले समयको माग बुझेर नेतृत्व हस्तान्तरणतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।
उनले नेतृत्व पुस्तान्तरण अब विकल्प नभई अनिवार्य आवश्यकता बनेको उल्लेख गर्दै एमालेले पनि यो यथार्थलाई बुझेको आफूले महसुस गरेको बताए । जेन–जी आन्दोलनपछि सिर्जित राजनीतिक र सामाजिक अवस्थाले पुराना दलहरूलाई आत्मसमीक्षा र केही त्याग गर्न बाध्य बनाएको उनको भनाइ थियो । उनले एमालेसहित स्थापित दलहरूले नयाँ दलहरूबाट पनि सिक्ने मनस्थिति बनाउनुपर्ने विश्वास व्यक्त गर्दै देशको हितका लागि उदारता देखाउन आग्रह गरे ।
महामन्त्री बुर्लाकोटीले रास्वपा सभापति रवि लामिछानेविरुद्ध दायर मुद्दाप्रति पनि ध्यानाकर्षण गराए । उनले प्रमाणविनै लामिछानेलाई जेलमा राखिएको आरोप लगाउँदै यस विषयमा निष्पक्ष ढंगले सोच्न एमाले नेतृत्वलाई आग्रह गरे । सहकारी प्रकरणमा आफ्नो पार्टी सभापतिलाई प्रतिशोधका आधारमा थुनिएको दाबी गर्दै अन्य दलका नेताहरू ठूला आर्थिक आरोपका बाबजुद खुलेआम हिँडिरहेको अवस्थाप्रति प्रश्न उठाए ।
त्यसैगरी उनले आगामी निर्वाचन समयमै गरिनु नै वर्तमान राजनीतिक संकटको समाधानको मुख्य आधार भएको बताए । लामो समयदेखि निर्वाचन प्रक्रियामा सहभागी हुँदै आएको अनुभवी दल एमालेले घोषित मितिमै निर्वाचनमा भाग लिएर लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन भूमिका खेल्नुपर्ने उनको धारणा थियो । निर्वाचनमार्फत नयाँ नेतृत्वको विकल्प खोज्नु नै संविधान र लोकतन्त्रलाई सही बाटोमा ल्याउने उपाय भएको उनले बताए ।
जेन–जी आन्दोलनका क्रममा भएको भौतिक तथा सामाजिक क्षतिका विषयमा बोल्दै बुर्लाकोटीले विगत साढे तीन दशकदेखि सरकार सञ्चालनमा रहेका सबै दलहरूले जिम्मेवारी लिनुपर्ने बताए । आफूहरूको पार्टी पनि केही समय सरकारमा रहेकाले दोषको प्रतिशतका आधारमा जिम्मेवारी लिन तयार रहेको उनको भनाइ थियो । उनले असन्तुष्टि र विद्रोहको पृष्ठभूमिमा केही उक्साहट पनि देखिएको उल्लेख गर्दै त्यसको निष्पक्ष मूल्यांकन आवश्यक रहेको बताए । महामन्त्री बुर्लाकोटीले लोकतान्त्रिक मुलुकमा दलहरूको आन्तरिक लोकतन्त्र सुदृढ हुनु अनिवार्य रहेको उल्लेख गरे । साथै विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरू बसेकै देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन र देशभित्र पनि स्थायी ठेगानाबाहिर रहेका नागरिकलाई सहज रूपमा मतदान गर्न सक्ने प्रणाली विकास गर्न आग्रह गरे ।
शिक्षा क्षेत्रमा देखिएको राजनीतिक संरक्षण र हस्तक्षेप हटाउन सबै दलहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै उनले सुधार बिना जनताको विश्वास पुनःस्थापना हुन नसक्ने धारणा व्यक्त गरे । उनले समग्रमा राजनीतिक दलहरूले आत्मालोचना, सहकार्य र सुधारको बाटो समाउन सके मात्र देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने निष्कर्ष प्रस्तुत गरे ।
