रास्वपाले भन्यो–आफूखुशी उम्मेद्वारी घोषणा नगर्नू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको जस्ता अभिव्यक्ति दिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । उम्मेदवार छनोट समितिले मंगलबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा ध्यानाकर्षण भएको बताएको हो ।
‘पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ । सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ । यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा अनुरोध पनि गरेको छ ।
‘उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्ती

