रास्वपाको झण्डा लुक्दैन, अब देशभर घण्टी बज्छ : तोसिमा कार्की (भिडियाेसहित)
ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ तोसिमा कार्कीले आफू वर्तमान परिस्थितिहरुको सामना गर्दै राजनीतिमा अगाडि बढ्ने बताएकी छन् । ललितपुरमा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै नेतृ कार्कीले ‘अब पनि रास्वपाको झण्डा लुकाएर हिँड्ने ?’ भन्ने कार्यकर्ता र घरभित्रैको प्रश्नले देशको वर्तमान राजनीति कति विरोधाभासपूर्ण छ भन्ने प्रष्ट देखाउने उनको भनाइ छ ।
कार्कीले अब आधा र अधुरो परिवर्तन होइन, निर्णायक मोडको समय आएको दाबी गरिन् । उनले भनिन्, ‘यो केवल चुनाव चिन्ह फेर्ने समय होइन, पूरै राजनीतिक संस्कार र दल फेर्ने समय हो ।’ प्रधानमन्त्री बन्ने प्रस्ताव समेत आएको तर आफूले अस्वीकार गरेको प्रसंग सार्वजनिक गर्दै कार्कीले भनिन्, ‘पद ठूलो होइन, जनता र परिवर्तन ठूलो हो ।’
उनका अनुसार पछिल्ला दुई वर्षमा परिवर्तनको यात्रामा करिब ४० प्रतिशत काम अघि बढेको छ, तर पुराना राजनीतिक शक्तिहरूले बाँकी ६० प्रतिशत काम हुन नदिएको गुनासो गरिन् । ‘महलमा सत्ताधारीहरू पुगे, तर जनता अझै त्यहीं छन्’, भन्दै उनले व्यवस्थाप्रति आक्रोश पोखेकी छन् ।
पार्टीभित्र र बाहिर फैलाइएका हल्लाप्रति कडा प्रतिक्रिया दिँदै कार्कीले आफू रास्वपा र ललितपुरलाई कहिल्यै नछोड्ने स्पष्ट पारिन् । ‘म ललितपुरबाटै इतिहास लेख्न चाहन्छु’, भन्दै उनले यो क्षेत्रलाई परिवर्तनको प्रयोगशाला बनाउने प्रतिबद्धता जनाइन् ।
रास्वपा सभापति रवि लामिछानेको योगदान स्मरण गर्दै उनले आन्दोलन यहाँसम्म आइपुग्नुमा उनको बलिदान निर्णायक रहेको बताइन् । ‘अब यो आन्दोलनलाई अगाडि लैजाने जिम्मा जनताकै काँधमा छ’, उनले भनिन् । उनले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ जस्ता पात्रहरूलाई आगामी पुस्ता परिवर्तनको नेतृत्वका रूपमा अघि सार्नुपर्ने धारणा व्यक्त गरिन् ।
आगामी निर्वाचनमा रास्वपाले बहुमतको सरकार बनाउने दाबी गर्दै कार्कीले दीर्घकालीन दृष्टि प्रस्तुत गरिन् । ‘२० वर्षपछि फर्केर हेर्दा भन्न सकियोस्–देश भनेको यस्तै हुनुपर्छ’, उनले भनिन् । ललितपुर मात्र होइन, हुम्ला, जुम्ला, मधेश, सिन्धुपाल्चोकलगायत सबै भूगोलबाट जित निकाल्ने लक्ष्य पार्टीले लिएको उनको दाबी छ ।
विदेशमा रहेका नेपालीहरूलाई चाडपर्वको बहानामा स्वदेश फर्किएर प्रत्यक्ष राजनीतिक सहभागिता जनाउन आग्रह गर्दै उनले भनिन्, ‘अब भाइबर र ह्वाट्सएपमा होइन, छाती पिटेर देश बनाउनु पर्छ ।’ कार्कीले भनिन्, ‘अब घण्टी बजाउने दिन नजिकिएको छ । भोट घण्टीमै हाल्नुहोस् ।’
