`

रास्वपा विस्तारित बैठक : घोषित मितिमा निर्वाचन गर्न जोड, महाधिवेशन धकेलियो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई दिने विस्तारित बैठक शनिबार राति सौराहामा सकिएको छ । बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई बैठकले आह्वान समेत गरेको छ । बैठकले घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आग्रह समेत गरेको छ । रास्वपा प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले अगाडि सारेका दृष्टिकोण, एजेण्डा र उम्मेदवारको पक्षमा मतमार्फत जनविश्वास व्यक्त हुनेगरी प्रभावकारी योजना निर्माण एवं परिचालनमा केन्द्रित हुन पार्टी संरचना र पंक्तिलाई विशेष आग्रह गर्दछौँ ।’

जेनजी प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग समेत रास्वपाले गरेको छ । विज्ञप्तिमा आउँदा दिनमा राज्यका निकायमा जेनजी आन्दोलनको भावना र म्यान्डेट अनुसार उनीहरूको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ ।रास्वपाको आन्तरिक लोकतन्त्रको सुदृढीकरण र समावेशितालाई थप व्यवस्थित र प्रोत्साहित गर्ने, पार्टी रुपान्तरणको पक्षमा व्यक्त भएका आवाज र प्रस्तावलाई विधि–प्रक्रियाअन्तर्गत नै सम्बोधन गर्ने तथा निर्णय प्रक्रियामा सबै तहका समिति र सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने वातावरणलाई क्रमशः फराकिलो बनाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । देशमा बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि ध्रुवीकरण अपरिहार्य रहेकाले यसका लागि समान विचार भएका परिवर्तनकारी शक्तिहरूसँग संवाद, सहमति र सहकार्यमा जोड दिन केन्द्रीय समितिलाई विशेष आग्रह बैठकले गरेको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्व घोषित मिति (फागुन ७–९)मा महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै छ महिनाभित्र महाधिवेशन गर्नेगरी तालिका ल्याउन केन्द्रीय समितिलाई बैठकले आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा देशको पछिल्लो समग्र परिस्थिति, अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा सदस्यको घोषित निर्वाचन, जनजीविकाका सवाल र पार्टीको आन्तरिक जीवन एवं तत्कालीन कार्यभारबारे छलफल भएको थियो ।

केन्द्रीय समितिका सदस्यसहित देशभरबाट आमन्त्रित पाँच सय १२ प्रतिनिधि सहभागी रहेको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति डा. स्वर्णिम वाग्लेले चुनावी बाचापत्रको अवधारणा, महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन, सहमहामन्त्री विपिनकुमार आचार्यले उम्मेदवार छनोट रुपरेखा र सचिवालय सदस्य दीपक बोहराले हस्ताक्षर अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । ती प्रतिवेदनलाई समूहगत छलफल गरिएको थियो । विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्की, केन्द्रीय सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ तथा चितवन, झापा, रुपन्देही जिल्ला समितिले लिखित सुझाव पेस गरेको विज्ञप्तिमा जनाइएको छ ।

 

 

रास्वपाको विस्तारित बैठकमा तोसिमाको तीन पन्ने सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठकमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले आफ्नो तीन पन्ने सुझाव पेस गरेकी छन्। चितवनमा जारी विस्तारित बैठकको दोस्रो दिन कार्कीले सुझाव पेस गरेकी हुन् ।

उनीसहित प्रतिनिधिहरू शंकर श्रेष्ठ, मधु आचार्य, डा. बुद्धी शर्मा र कृष्ण भुसालले पनि सुझाव पेस गरेका छन् । आचार्य र शर्माले संयुक्त रूपमा सुझाव पेस गरेका छन् । महामन्त्री कविन्द्र बुर्लाकोटीले शनिबारको विस्तारित बैठकमा कार्कीसहित पाँच जना सदस्यहरूलाई बोल्नका लागि समय दिएका हुन् ।

सुझावमा के उल्लेख छ भन्ने विषयमा खुलाउनका लागि समय दिइएको एक प्रतिनिधिले जानकारी दिए । शुक्रबार विस्तारित बैठकमा कार्कीलाई बोल्न नदिएको भन्दै केन्द्रीय सदस्य निशा डाँगी लगायतले आपत्ति जनाएका थिए । एक प्रतिनिधिका अुनसार कार्यवाहक सभापति डिपी अर्यालले प्रतिवेदन पेस गरिरहँदा बोल्न समय माग गरेकी थिइन् । पछिल्लो समय कार्कीले पार्टीको संरचना पुनर्गठनको विषय उठाउँदै आएकी छिन् ।

त्यतिबेला बोल्न नदिएको भनेर डाँगी लगायतले आपत्ति जनाएका थिए । रास्वपाको विस्तारित बैठकमा शुक्रबार ४० जनाले धारणा राखेका थिए। रास्वपा कार्यवाहक सभापति डिपी अर्यालले आफूले ६० वटा सुझाव टिपेको जानकारी दिएका छन् । बैठक आजै सकिने जनाइएको छ ।

रास्वपाको पार्टी सदस्य संख्या साढे दुई लाख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको सदस्य संख्या दुई लाख ४१ हजार ७९९ पुगेको जनाएको छ । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको विस्तारित बैठकमा महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ ।

यद्यपि, तीमध्ये अहिलेसम्म एक लाख ७३ हजार ५९ सदस्यको मात्रै प्रमाणिकरण भएको उल्लेख गरिएको छ । तीमध्ये थारू समुदायको सदस्यता १.५ प्रतिशत, मुस्लिम समुदायको १.१ प्रतिशत, आदिवासी जनजातिको १९.३ प्रतिशत र दलित समुदायको सहभागिता ७.३ प्रतिशत छ । रास्वपामा महिला सदस्य संख्या १४ प्रतिशत रहेको जनाइएको छ ।

कुलमान लक्षित रास्वपाको टिप्पणी : पार्टी ‘कब्जा’ गर्ने नियतको खुला प्रतिवाद गर्छौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीभित्र हस्तक्षेप गर्ने वा ‘कब्जा’ गर्ने प्रयासहरूलाई खुला रूपमा प्रतिवाद गर्ने घोषणा गरेको छ । चितवनको सौराहामा शुक्रबार सुरु भएको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत पार्टीले यस्तो चेतावनी दिएको हो ।

अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘पार्टी स्थापना गर्दा अहिले नाम आएका सबैसँग सँगै जाऊँ भन्ने कुरा गर्दाको साक्षी म स्वयं हुँ । तर, त्यसबेला उहाँहरूले पत्याउनु भएन । अहिले पनि हामी उहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छौं । तर, पार्टीको इतिहास र पहिचान बुझ्न जरुरी छ । ‘कब्जा’ गर्ने नियत चाहिँ हामी खुला रूपमा प्रतिवाद गर्छौं ।’

यो भनाइ कुलमान घिसिङतर्फ लक्षित देखिएको बताइएको छ । ऊर्जा क्षेत्रका चर्चित व्यक्तित्व घिसिङले नयाँ दल गठनको तयारीसँगै रास्वपामा प्रवेशको सम्भावनामा चर्चा चलिरहेको थियो । उनले रास्वपाको कार्यकारी सभापति बन्ने शर्त राखेका थिए, तर त्यो अस्वीकार भएपछि दुवै पक्षबीचको सहकार्य सम्भावना लगभग टुटेको छ । प्रतिवेदनमा रास्वपाले पुराना तीन दलको वर्चस्व अन्त्य गर्न वैकल्पिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ । पार्टीले समान विचार र कार्यशैली भएका समूहहरूसँग हातेमालो गर्नुपर्ने र राष्ट्रिय हितका एजेण्डामा आधारित सहकार्यका लागि खुला रहने नीति लिएको छ ।

अर्यालले प्रतिवेदनमा भनेका छन्, ‘व्यक्तिगत अहं र सानातिना मतभेदभन्दा माथि उठेर एकता, मोर्चाबन्दी वा सहकार्यका लागि तत्पर हुनुपर्छ । सम्भव हुनेसँग एकता गर्ने, नहुनेसँग मोर्चाबन्दी र त्यो पनि नहुनेसँग सीमित मुद्दामा तत्कालीन सहकार्य गर्ने नीति अवलम्बन गर्नुपर्छ।’ रास्वपाको यो अभिव्यक्ति दलभित्र वैकल्पिक नेतृत्व र बाह्य सहकार्यका विषयमा चलिरहेको नयाँ समीकरणबीच आएको हो । जसले नेपालको वैकल्पिक राजनीतिक शक्तिहरूबीचको आगामी गठजोडमा नयाँ मोड ल्याउन सक्ने देखिन्छ ।

रास्वपाले भन्यो–संविधानलाई ‘ट्रयाक’ मा ल्याउने बाटो निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान राजनीतिक अनिश्चितताको एक मात्र निकास आगामी निर्वाचन नै भएको ठहर गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले शुक्रबार सौराहामा शुरु भएको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै भने, ‘जेनजी आन्दोलनपछि संविधान डिरेल भएको छ, यसलाई पुनः ट्रयाकमा ल्याउने औजार निर्वाचन नै हो ।’

अर्यालले संसद पुनर्स्थापनाबाट देशले कुनै स्थायी समाधान नपाउने दाबी गर्दै भने, ‘संसद फर्के पनि पुगिन्छ त्यही ठाउँमा—जहाँ सरकार त बन्ला, तर जेनजी आन्दोलनको म्यान्डेट र जनभावनालाई सम्बोधन गर्न सक्दैन ।’ उनले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटबारे टिप्पणी गर्दै न्यायालयले आफ्नो ‘न्यायिक भूमिका’ खेल्ने विश्वास व्यक्त गरे । तर, संसद पुनर्स्थापना भयो भने त्यसले देशलाई पुनः अराजक मोडमा धकेल्ने सम्भावना औंल्याए ।

रास्वपाको प्रतिवेदनमा भनिएको छ, ‘दलीय व्यवस्थामा विशेष परिस्थितिबाट गैरदलीय सरकार बनेको हो । अब यो सरकारको पहिलो दायित्व नै निर्वाचन गराउने हो ।’ अर्यालका अनुसार निर्वाचनले मात्र लोकतान्त्रिक प्रतिस्पर्धा पुनः स्थापित गर्छ र संविधान कार्यान्वयनको ‘ट्रयाक’ मा फर्किन्छ । पार्टीले सबै दलहरूलाई आगामी फागुन २१ को निर्वाचनलाई ‘अर्जुन दृष्टि’ का रूपमा लिन आह्वान गरेको छ । ‘देशलाई पुनः लोकतान्त्रिक बाटोमा फर्काउने शक्ति निर्वाचनमा केन्द्रित हुनुपर्छ’, प्रतिवेदनमा भनिएको छ ।

कार्यवाहक सभापति अर्यालले प्रधानमन्त्री र केही दलबीच संवादको कमीले राजनीतिक दूरी बढाउने चिन्ता व्यक्त गरे । ‘सरकार सबै दल र जनताको अभिभावक हो, त्यसैले कुनै आग्रह वा पूर्वाग्रह राख्नु हुँदैन’, उनले भने । रास्वपाले सम्पत्ति विवरण बुझाउन असफल ‘नागरिक सरकार’ लाई अनन्तकालीन समर्थन गर्न नसक्ने पनि स्पष्ट पारेको छ । ‘प्रतिशोधको राजनीतिविरुद्ध सरकार कसरी प्रस्तुत हुन्छ, सुशासन र दण्डहीनताको अन्त्यमा कति इमान्दार देखिन्छ, र निर्वाचनका तयारीमा कस्तो सक्रियता देखाउँछ—त्यसले हाम्रो शुभेच्छा निरन्तर रहन्छ कि क्रमभंग हुन्छ, निर्धारण गर्नेछ’, प्रतिवेदनमा भनिएको छ ।

 

 

चितवनमा रास्वपाको विस्तारित वैठक सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको केही बेरअघि उद्घाटन भएको छ । बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचा पत्रको प्रस्तावना प्रस्तुत गर्ने र महामन्त्री कविन्द्र बुर्लाकोटीले साङ्गठनिक संरचनाको प्रस्तावना पेस गर्ने प्रवक्ता मनिष झाले बताए ।

बैठकमा केन्द्रीय समितिसहित प्रदेश, जिल्ला तथा क्षेत्रका पदाधिकारीहरू प्रतिनिधिकारुपमा सहभागी छन् । प्रस्तावमाथि समूह विभाजन गरेर छलफल हुने उनले बताए । बैठकमा सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षरको प्रतिवेदन प्रस्तुत दीपक बोहराले प्रस्तुत गर्ने तय भएको छ । यस्तै बैठकले आगामी महाधिवेशनदेखि नयाँ वैकल्पिक शक्तिहरूसँग एकता वा सहकार्यबारे भइरहेको छलफलबारे पनि निर्णय गर्नेछ ।

रवि र छविको मुद्दामा जिल्लाको फाइल माग्ने आदेश

काठमाडौं । उच्च अदालत बुटवलको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविराज जोशीसँग सम्बन्धित मुद्दामा जिल्ला अदालत रुपन्देहीबाट फाइल माग्न आदेश दिएको छ । न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले मिसिल (मुद्दासम्बन्धी कागजात) पेश गर्न आदेश जारी गरेको हो । अदालतले जिल्ला अदालतबाट फाइल पेश भएपछिको सुनुवाइमा, रवि लामिछानेले आफूमाथि हुनसक्ने बिगो रकम जम्मा गरेर थुनामुक्त हुन पाउने सम्भावनामा सुनुवाइ गर्ने तयारी गरेको बताएको छ ।

मुद्दाको सुनुवाइको क्रममा शुरुमा छविराज जोशीका तर्फबाट अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । इजलासले मुद्दाको मिसिल अपुग भएको कारण थप कागजात माग्नुपर्ने र त्यसपछि मात्र अर्को पेशीका लागि मुद्दा अगाडि बढ्ने निर्णय सुनाएको थियो । यस कारण रविका कानून व्यवसायीले बहस गर्न पाउनु अघि आजको सुनुवाइ टुंगिएको छ । मुद्दाको अर्को पेशी कहिले तोकिने भन्ने अझै निश्चित छैन ।

यसअघि, कात्तिक १३ गते तोकिएको पेशीमा जोशीका अधिवक्ताले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको थियो। त्यसअघिका सुनुवाइमा उच्च अदालत बुटवलले रवि र जोशीको एकै प्रकृतिका मुद्दा एकैसाथ राख्न आदेश दिएको थियो । रवि लामिछानेले आफूले बुझाउनुपर्ने बिगो रकम बैंकमा जम्मा गरेर थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति मागेका थिए । उच्च अदालतले यसै क्रममा जोशीको फाइल पनि पेश गर्न आदेश दिएको हो ।

यसअघि लामिछानेले सुप्रिम सहकारी ठगी मुद्दामा थुनामा रहँदै आफ्नो भागको बिगो रकम दाखिला गरेका थिए। तर, जिल्ला अदालत रुपन्देहीले उनलाई तत्काल रिहा नगरी उच्च अदालतमा निवेदन दर्ता गर्नु परेको थियो । सुप्रिम सहकारी ठगीमा रवि लामिछानेसहितका प्रतिवादीमाथि १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ । लामिछानेले त्यसको आफ्नो हिस्साको चार भागमध्ये एक भाग बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित पेश गरेका थिए । उनले आफ्नो बचत र ऋणमा कुनै अपचलन नभएको दावी गर्दै निवेदन पेश गरेका हुन् ।

 

 

जेनजी विद्रोहले भ्रष्टाचार, नातावाद र कृपावादलाई खारेज गर्‍यो : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले जेनजी विद्रोहले भ्रष्टाचार, कुशासन, नातावाद र कृपावादलाई खारेज गरेको भन्दै मुलुकमा सुशासन कायम गर्ने चुनौती राजनीतिक दलहरुका सामु रहेको बताएका छन् । बुधवार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ मा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अमुक जाति, भाषा र संस्कृतिको मानिसले मात्र राज्यसत्ताको नेतृत्व गर्ने कुरा जेनजी विद्रोहले खारेज गरिदिएको पनि बताए।

उनले समाजलाई थप लोकतान्त्रिक, प्रगतिशील र अग्रगामी बाटोतर्फ लैजाने कुरामा राजनीतिक दलहरु थप चनाखो हुनुपर्नेमा जोड दिए । उनले राज्य संरचनामा एउटै जाति र समुदायको नेतृत्वको तथ्यांक नै मुलुकको विकासका निम्ति गम्भीर समस्याको रुपमा रहेको धारणा राखे । उनले जेनजी विद्रोहले उठाएका एजेण्डाहरुलाई आत्मसात गरेर अघि बढ्ने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध रहेको पनि बताए ।

उनले भने, ‘जेनजी आन्दोलनले भ्रष्टाचारलाई खारेज गरेको छ । कुशासनलाई खारेज गरेको छ । नातावादलाई खारेज गरेको छ । कृपावादलाई खारेज गरेको छ । अमुक जाति, भाषा र संस्कृतिको मात्र नेतृत्व हुने कुरालाई पनि खारेज गरेको छ । यी कुराहरुलाई स्थापित गर्ने कुरा राजनीतिक दलका लागि सबैभन्दा ठुलो चुनौती हो भन्ने मलाई लाग्छ । त्यसकारण नेपाली समाजलाई अझै लोकतान्त्रिक बनाउने, अझै अग्रगमनतिर लग्ने, प्रगतिशील र अग्रगामी बनाउने कुरामा दलहरु चनाखो हुनुपर्छ ।’

उनले भने, ‘अहिले हाम्रो तथ्यले नै हामीलाई बर्बाद पारिरहेको छ । यो देश कुनै पनि जाति र समुदायको बहुमत भएको देश होइन । तर एउटै जाति, एउटै समुदाय र एउटै लिंगका मानिसहरु बारम्बार राज्य सत्तामा भइरहेका कारण पनि जेनजी विद्रोह भएको हो । त्यसकारण आज जेनजी आन्दोलनले मुलुकमा जुन वातावरण सिर्जना गरेको छ । त्यसकारण राष्ट्रिय स्वतन्त्र पार्टी जेनजी आन्दोलनले स्थापित गरेका एजेण्डालाई आत्मसात गरेर अघि बढ्ने कुरामा प्रतिबद्ध रहेको छ । हामी जेनजी आन्दोलनको मर्म र मागअनुसार नै पार्टीलाई अगाडि बढाउँछौं ।’ उनले पार्टीमा रहेका समस्याहरुको समाधान खोज्दै पार्टीलाई जेनजी आन्दोलनको मर्मअनुसार अगाडि बढाउने कुरामा पार्टी गम्भीर बहस र छलफलमा रहेको पनि बताए ।

 

सिंहदरबारमा रविलाई नभेटी किन फर्किइन् निकिता ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्न पुगेकी उनकी पत्नी निकिता पौडेल लामिछानेलाई नभेटी सिंहदरबारबाट फर्किएकी छन् । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बुधबार दिउँसो लामिछानेलाई बयानका लागि सिंहदरबार बोलाएको थियो । त्यही समयमा निकिता पनि त्यहाँ पुगेकी थिइन्, तर केही समयमै फर्किइन् ।

तर, चर्चामा आएको जस्तो उनी रविलाई भेट्न नभई आयोगलाई आवश्यक कागजातका सक्कल प्रतिलिपि बुझाउन पुगेको निकिताले स्पष्ट पारेकी छन् । आयोग परिसरबाट बाहिरिएपछि उनले भनिन्, ‘उहाँ (रवि) भित्र आयोगका पदाधिकारीहरूसँग कुरा गर्दै हुनुहुन्थ्यो । म बाहिरबाटै फर्किएँ, भेट हुने समय मिलेन ।’

आयोगले भदौ २४ गते लामिछाने जेलबाट बाहिरिएको घटनाको गहिरो अनुसन्धान गरिरहेको छ । यसअघि आइतबार नख्खु कारागारमै गएर आयोगका अधिकारीहरूले लामिछानेसँग भेट गरेका थिए । भेट सामान्य रहेको आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले बताएका थिए ।

आयोगका अनुसार आइतबारको कुराकानीलाई औपचारिक बयानको रूपमा अभिलेख गर्न बुधबार लामिछानेलाई सिंहदरबार ल्याइएको थियो । लामिछानेले सो क्रममा आफू कारागारबाट भागेको नभई प्रहरी र गृह प्रशासनको निर्णय अनुसार प्रक्रिया पूरा गरेर बाहिर आएको बताए । पछि सो कागजी प्रक्रिया कानुनी रूपमा त्रुटिपूर्ण ठहरेपछि उनी आफैं कारागार फिर्ता भएको उनको भनाइ छ । लामिछानेले उक्त प्रसंगसँग सम्बन्धित केही मूल कागजात घरमै छोडेका थिए । आयोगले ती कागजातका सक्कल प्रतिलिपि मागेपछि निकिता ती बुझाउन पुगेकी थिइन् । उनले भनिन्, ‘आयोगले ओरिजिनल डकुमेन्ट माग्नु भएको थियो, म तिनै दिएर फर्किएँ ।’

 

बयानका लागि रवि लामिछानेलाई सिंहदरबारमा पुर्‍याइयो {तस्वीरहरु}

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिँदैछ । बयानका लागि लामिछानेलाई ललितपुरको नक्खु कारागारबाट सिंहदरबारस्थित आयोगकै कार्यालयमा पुर्‍याइएको छ । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी होविन्द्र बोगटीले लामिछानेलाई सिंहदरबार पुर्‍याइ सकिएको जानकारी दिए । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको छ ।

सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा लामिछाने कारागारमा छन् । गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा ललितपुरको नक्खु कारागारबाट बाहिर आएको विषयमा आयोगले बयान लिन लागेको हो । जेनजी आन्दोलनको क्रममा रवि लामिछाने नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे बयान दिन गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई बोलाएको हो ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला २४ भदौमा असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै बाहिर निस्किएका थिए । रवि बाहिर निस्किँदा कारागार प्रशासनले दिएको भनिएको पत्रको आधिकारिकतामा समेत प्रश्न उठेको थियो । त्यसपछि रवि पुनः कारागारमै फर्किएका थिए ।

आयोगको टोली गत सोमबार २४ भदौमा भएको घटनाको वस्तुस्थिति अध्ययनका लागि कारागारमै पुगेको थियो । त्यसको अघिल्लो दिन जाँचबुझ आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग पनि बयान लिएको थियो । उक्त दिन लामिछाने कारागारले यहाँ सुरक्षा दिन नसक्ने भन्दै पत्र दिएको बताउँदै जेलबाट बाहिर आएका थिए । आयोगले लामिछानेकी पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसँग पनि बयान लिने तयारी गरेको छ ।

रवि ज्यान दाउमा राखेर लड्ने योद्धा हो : ज्वाला संग्रौला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य ज्वाला संग्रौलाले भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा रवि लामिछाने भएको दावी गरेकी छन् । उनले देशलाई पार्टी सभापति लामिछाने जस्तो निडर सपुतको आवश्यकता रहेको जिकिर गरिन् । ‘भ्रष्टाचारविरुद्ध आफ्नो पद र ज्यान दाउमा राखेर लड्ने योद्धा हो रवि !’ उनी सामाजिक सञ्जालमा लेख्छिन्, ‘यतिबेला देशलाई रबि जस्तो निडर सपुतको आवश्यकता छ !’

 

जेनजी आन्दोलनपछि धेरै पुराना पात्र पोलिटिक्सबाट एक्जिट भएका छन् : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले जेनजी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढ्नु पर्ने बताएका छन् । शुक्रवार पार्टीले आयोजना वृहत राजनीतिक संवाद कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनले सबै राजनीतिक दलहरुमा रुपान्तरणको चाप बढाएको उल्लेख गर्दै त्यसलाईं संस्थागत गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।

उपसभापति वाग्लेले मुलुकमा भएका परिवर्तनलाई वैधता दिन पनि निर्वाचनमा जानुको विकल्प नरहेको बताए । विगतमा भएको आन्दोलनको उपलब्धिलाई जोगाउँदै नयाँ उपलब्धिहरुलाई संस्थागत गर्न र मुलुकलाई सुशासनको पक्षमा लैजान पनि निर्वाचनमा जानुपर्ने अवस्थामा मुलुक रहेको उनको भनाई थियो । उपसभापति वाग्लेले भने, ‘हामीले कल्पना नै नगरेका परिवर्तनहरु पनि भएका छन् । पोलिटिक्सबाट एक्जिट भएका छन् धेरै पुराना पात्रहरु । पुराना पात्रहरुप्रति रोष पनि विष्फोट भएको हो । डा. बाबुराम भट्टराईले पनि एउटा उदाहरण प्रस्तुत गर्नुभयो । दल छोडेर उहाँले एउटा स्वतन्त्र र पूर्व प्रधानमन्त्रीको हैसियतमा अहिले हुनुहुन्छ । अन्य दलहरुमा पनि यसले जुन रुपान्तरणको चाप बढाएको छ । दबाब बढाएको छ ।’

उनले भने, ‘त्यसलाई विस्तारै संग्रह गरेर सुशासन पक्षमा हामीले यसलाई वैधता दिनेतिर जानु नै पर्ने हुन्छ । अन्तत्वगत्वा निर्वाचनबाट अनुमोदित नभई धेरै कुराले वैधता नपाउने भएको हुनाले यतातिर पनि मुलुकले सोचिराखेको छ । यसमा बहसहरु चलिरहेका छन् । त्यसले पछिल्लो आन्दोलनको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने छ । अग्रगमनको बाटोमा जानुपर्नेछ ।’

उनले थपे, ‘पहिलेका आन्दोलनबाट प्राप्त दुर्लभ उपलब्धिहरुलाई पनि जोगाउनु छ । कहिलेकाँही यो हुल आँधीबेहरीमा पुराना उपलब्धिहरुलाई बढार्ने काम हुन्छ । पश्चागमनका प्रयासहरु पनि हुने गर्दछन् । त्यसैले अगाडि नै जाने हो । तर यसका सीमाहरु छन् । विधि, विधान, संविधान धेरै मिच्न भएन । त्यो मिचिएको खण्डमा पनि डिरेल भएका कुराहरुलाई पनि ट्रयाकमा ल्याउन पर्‍यो । ट्रयाकमा ल्याउने विधिहरु पनि सीमित छन् । तर यो सबै गर्ने हामीले नै हो ।’ उपसभापति वाग्लेले संविधानबाट डिरेल भएका कतिपय कुरालाई पनि ट्रयाकमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

बालुवाटारमा रास्वपाको बृहत राजनीतिक संवाद, बाबुराम र रेशम पनि सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वृहत राजनीतिक संवाद सुरु भएको छ । रास्वपाले काठमाडौँको बालुवाटारमा वैकल्पिक राजनीतिक शक्तिहरुसँग बृहत छलफल सुरु गरेको हो । छलफलमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नाउपा, नेपालका संरक्षक रेशम चौधरी, वीरेन्द्रबहादुर बस्नेत नेतृत्वको गतिशिल लोकतान्त्रिक पार्टी, रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, जेनजी अगुवा सुदन गुरुङ पक्ष लगायतको उपस्थिति छ ।

पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उपभासपति डा. स्वर्णिम वाग्लेलाई सो छलफलको जिम्मेवारी तोकेको थियो । वैकल्पिक राजनीतिक शक्तिहरुसँग यसअघि भएको एक्ला एक्लै छलफललाई अब सामूहिक र बृहत्तर बनाउन सो छलफलको कार्यक्रम आयोजना गरिएको हो ।

पार्टीले सबै वैकल्पिक राजनीतिक शक्तिहरूको नेतृत्व गर्न साझा धारणा बनाउन र जेनजी आन्दोलनको मर्मलाई लक्ष्यमा पु¥याउन यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ । एक भन्दा धेरै दल र समूहसँग समान धारणा र एजेण्डा बनाउन सो बैठक आयोजना गरिएको रास्वापा नेतहरुले बताएका छन् । नयाँ राजनीतिक शक्ति, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सहकार्यका नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफल आयोजना गरिएको उपसभापति वाग्लेले बताएका छन् ।

चार बुँदे सन्देशसहित सरकारलाई रविको चेतावनी : बारम्बार चिठ्ठा पर्दैन

काठमाडौं । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा मागेका छन् ।

राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको दाबी गर्दै उनले सरकारको मत स्पष्ट हुनुपर्ने बताएका छन् । नख्खु कारागारबाट चार बुँदे सन्देश जारी गर्दै लामिछानेले ‘एक पटक चिठ्ठा परेकालाई पटक–पटक नपर्ने’ चेतावनी पनि दिएका छन् । लामिछानेले वर्तमान सरकारप्रति रोष समेत प्रकट गरेका छन् । आफूलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधमा फसाएको दोहोर्‍याउँदै उनले वर्तमान सरकार समेत आफ्ना लागि केही नबोलेकोमा आक्रोशित देखिएका हुन् ।

उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी अहिले रास्वपाको काँधमा आएको उल्लेख गर्दै आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन् । नख्खु कारागारमा भेटेर फर्किएका उनका प्रेस सल्लाहकार प्रमोद न्यौपानेका अनुसार लामिछाने स्वस्थ, दृढ र आत्मविश्वासी छन् । उनले राजनीतिक चासो राख्नेहरूलाई सन्देश अवगत गराइदिन आग्रह गरेका छन् ।

लामिछानेका चार सन्देश :
१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेभर’ होइन । हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नै पर्छ ।
२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति भएकाले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं ।
३) एक पटक चिठ्ठा परेकाहरू पटक–पटक पनि पर्ला भन्ने सोच्छन् । तर संयोग दोहोरिँदैन । भर्खरै चिठ्ठा परेकाहरू फेरि त्यसकै लोभमा छन् । लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन ।
४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु पर्छ । यो क्षणिक लाभ–हानिको सोचले सम्भव हुँदैन । परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा म कमजोर हुने छैन, मेहनत र समय लागे पनि लक्ष्य त्यही हो ।

रास्वपाद्वारा समानुपातिकतर्फको उम्मेदवारी आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको आगामी फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी आह्वानको निर्णय गरेको छ । रास्वपा सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारी आह्वान गर्ने निर्णय गरेको हो । कात्तिक २२ गतेभित्र समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय भएको रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

‘आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीहरूको क्रममा समानुपातिकतर्फको उम्मेदवारी आह्वान गर्नका लागि आवश्यक दस्तावेजहरूबारे छलफल गरियो,’ रास्वपा सचिवालयको निर्णय छ, ‘२०८२ कात्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आह्वान गर्ने निर्णय गरियो ।’ त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलनका लागि सहजीकरण अभियान संचालन गर्ने पनि रास्वपाको निर्णय छ ।

‘निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यहि कात्तिक मसान्तसम्मको लागि समय सीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरूको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कात्तिक ११ देखि २५ सम्म संचालन गर्ने निर्णय गरियो,’ रास्वपाको निर्णय छ ।

रास्वपाले जेन–जी आन्दोलनपछिको परिस्थितिको विषयमा कात्तिक १४ मा बृहत राजनीतिक संवाद कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ । ‘आम नेपाली जनताले आशा अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरूबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थवोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यहि कात्तिक १४ गते ‘बृहत् राजनीतिक संवाद’ आयोजना गर्ने निर्णय गरिएको छ,’ रास्वपाले भनेको छ ।

 

 

रास्वपाले जेनजीहरुसँग ‘वृहत राजनीतिक संवाद’ गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) जेनजी पुस्ताहरुसँग बृहत् राजनीतिक संवाद आयोजनाको तयारी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरूबीच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको विदितै छ ।’

गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर रहेका समान विचार बोल्नेहरूलाई एकताबद्ध गर्ने प्रयास भइरहेको उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यही कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको छ ।’

वृहत् राजनीतिक संवादको उद्देश्य आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि वृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता भएको उल्लेख छ ।

 

 

चुनाव गराउन नसके मुलुक अप्ठ्यारोमा पर्छ : उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डीपी अर्यालले मुलुकलाई सही निकास दिन निर्वाचनको विकल्प नै नभएको बताएका छन् । आज (सोमबार) भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले फागुन २१ मा चुनाव गराउनुको विकल्प नभएको बताएका हुन् । ‘रास्वपा चुनावमा केन्द्रित भइसक्यो, पार्टी उपसभापति स्वर्णिम वाग्लेले नेतृत्वमा बाचा पत्र तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कार्तिक १५ गते निर्वाचन केन्द्रित कार्यक्रम घोषणा गर्दैछौं । अरू दलले पनि चुनाव सम्पन्न गर्न सहयोग गर्नुपर्छ ।’

अहिलेको सरकारले चुनाव गराउन नसके मुलुक नै अप्ठ्यारोमा पर्ने उनको भनाइ छ । त्यस्तै उनले अहिलेको अन्तरिम सरकारको मुख्य काम नै निर्वाचन गराउनु भएको पनि बताए । रास्वपाले जेनजी अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ, काठमाडौँका मेयर बालेन्द्र शाहलगायतसँग संवाद गरिरहेको विषयमा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले भने, ‘सबै शक्तिलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद भइरहेको छ । छलफलहरू सकारात्मक भइरहेका छन् ।’

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (आइतबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकमा पाँच महत्त्वपूर्ण कार्यसूचीमाथि छलफल हुनेछ ।

प्रमुख एजेण्डाहरू
– समसामयिक राजनीति र आगामी कदमः देशको वर्तमान राजनीतिक अवस्था र पार्टीले अब चाल्नुपर्ने कदमबारे गहन छलफल हुनेछ ।
– विस्तारित बैठक र महाधिवेशनको तयारीः आगामी कात्तिक २१ र २२ गते आयोजना हुने विस्तारित बैठकको तयारीबारे छलफल हुनेछ। यसैगरी, फागुन ७, ८ र ९ गतेका लागि तय भएको पहिलो महाधिवेशनको मिति सार्नेबारे पनि बैठकमा विचारविमर्श हुनेछ ।
–मतदाता नामावली दर्ता अभियानः आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएकाले कात्तिक मसान्तभित्र मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्ने समयसीमालाई मध्यनजर गर्दै पार्टीले यसलाई अभियानका रूपमा अघि बढाउने तयारी गरेको छ ।
–पार्टी गतिविधि समीक्षा र योजनाः हालसम्मका पार्टी गतिविधिहरूको समीक्षा गर्दै आगामी योजनाहरू निर्माण गरिनेछ ।
–विविध प्रस्तावहरूः माथि उल्लेखित एजेन्डाहरूबाहेक अन्य विविध प्रस्तावहरूमाथि पनि छलफल गरिनेछ ।
–पार्टीको यो बैठकले आगामी दिनका लागि महत्वपूर्ण रणनीतिहरू तय गर्ने अपेक्षा गरिएको छ । विशेषगरी, महाधिवेशनको मिति र मतदाता नामावली अभियानबारे गरिने निर्णयहरूलाई निकै चासोका साथ हेरिएको छ ।

पार्टी पुनर्गठनको मुद्दा उठाउँदा रविविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाइयो : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी पुनर्गठनको मुद्दा उठाउँदा सभापति रवि लामिछानेविरूद्ध षड्यन्त्र गरेको भाष्य बनाउन खोजिएको गुनासो गरेकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा. कार्कीले रास्वपाले गर्नुपर्ने तीन कामको सूची पनि राखेकी छन् ।

‘कृपया मिथ्या आरोपहरू लगाएर निरन्तर ममाथि प्रहार नगरिदिनु होला । यो पार्टीलाई हुर्काउन, बढाउन र सबल बनाउन दुःख गरेको छु । गर्नेछु । तर पार्टीलाई थप लोकतान्त्रिक र समय सापेक्षिक रूपान्तरित बनाउने मेरो प्रयास तपाईंहरूको विचारभन्दा फरक भयो भन्दैमा सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट निरन्तर प्रहार गरेर यो मेरो धैर्यलाई च्यालेन्ज नगरिदिनु होला,’ उनले भनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई समय सापेक्ष रूपमा मध्यममार्गी मुलधारको मुख्य शक्तिको रूपमा विकास गर्नु आफ्नो लक्ष्य रहेको उनले बताएकी छन् । रास्वपालाई वैकल्पिक शक्ति, नागरीक समाज र जेनजी सबैलाई समेट्नका लागी पार्टीमा सांगठनिक र वैचारिक पुनःगठन पुनरवलोकन आवश्यक छ भन्ने आफ्नो मान्यता रहेको उनको भनाइ छ ।

‘पार्टीलाई थप सबल सुदृढ बनाउन खोजिएको प्रयासलाई सभापति रवि लामिछाने विरुद्धको षड्यन्त्र जस्तो बनाएर भाष्य बनाउनुहुने तपाईंहरूको निरन्तर प्रहारले पूरा पार्टीलाई नै कमजोर बनाउने काम नगर्नुहोला,’ उनले भनेकी छन् ।

सँगै उनले तीनवटा अनुरोध पनि गरेकी छन् । पहिलो विस्तारित बैठकमा महत्त्वपूर्ण र सक्रिय सहभागिताको लागि पार्टीका नेताकार्यकर्ताहरूलाई उनले अनुरोध गरेकी छन् । रास्वपाको विस्तातिर बैठक आगामी कात्तिक २१ र २१ गते हुँदैछ ।

दोस्रो, उक्त बैठकमा प्रस्तुत हुने राजनैतिक र सांगठनिक प्रतिवेदनमाथि सहभागीहरूले राय राख्ने मात्र होइन, प्रतिवेदनहरूलाई स्वीकार्ने-अस्वीकार गर्ने-तोकिएका संशोधनसहित स्वीकार्न पाउने गरी मताधिकार दिइनुपर्ने उनको भनाइ छ ।

तेस्रो, जेनजी आन्दोलनपछिको रास्वपालाई यथास्थितिमा रहेर वैकल्पिक शक्तिहरुलाई नसमेटी आसन्न चुनावमा एक्लै जाने छुट नभएको पनि उनले बताएकी छन् । ‘हामी उदार हुनुपर्छ । साझा प्लेटफर्म बन्नुपर्छ । अब यही कुरामा पटक–पटक स्पष्टीकरण दिन बाध्य नपार्नु होला । बरू आउनुस् एक कदम अघि बढेर रिफर्मेसनको मोडालिटीमा बसह गरौं,’ उनले भनेकी छन् ।

रास्वपाको सचिवालय विस्तारमा तोसिमाको असन्तुष्टि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले सचिवालय विस्तारमा असन्तुष्टि जनाएकी छन् । उनले आफूहरूले खोजेको रिफर्मेसन कार्यकारी नेतृत्व भएको बताएकी छन् । पार्टीको महाधिवेशन कहिले गर्ने के गर्ने भन्ने विषयमा निर्णय गर्नका लागि विस्तारित बैठक बोलाइए पनि २ हप्ताअगाडि नै सचिवालय विस्तार गरिएको गुनासो उनले सामाजिक सञ्जालबाट गरेकी हुन् ।

उनले भनेकी छन्, ‘महाअधिवेशन कैले गर्ने, के गर्ने, भन्ने निर्णयको लागि २ हप्तामा हुन लागेको विस्तारित बैठक समेत नकुरी सचिवालय विस्तार गरियो । हामीले खोजेको रिफर्मेसन यो होइन । कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो ।’

पार्टीको कार्यशैली सच्याएर थप लोकतान्त्रिक हुन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीका गतिविधिहरूमा सङ्गठनको जरा जराले अपनत्व महसुस गर्न सक्नु पर्नेमा जोड दिइन् । उनले विस्तारित बैठकमा पार्टी संगठनको वृहत् सहभागिता र भोटिङ राइट्स सुनिश्चित गरिनुपर्ने बताएकी छन् । भोटिङ राइट्स नदिने भए देशभरिबाट चितवन बोलाएर समय, पैसा र श्रम खर्च गर्नुको औचित्य नभएको उनको भनाई छ ।

सभामुखले बोलाएको छलफलमा किन गएन रास्वपा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले संसद् विघटनको विषयमा पार्टीले पहिले नै वक्तव्य निकालिसकेकाले सभामुखले बोलाएको बैठकमा नगएको बताए छन् । ‘संसद् विघटनको विषयमा हामीले वक्तव्य निकालिसकेका छौँ । त्यही वक्तव्यमा हाम्रो पार्टीको धारणा स्पष्टरूपमा आइसकेको छ’, उनले भने, ‘पार्टीको सचिवालय बैठक पनि छ, त्यसैले बैठकमा नगएका हौँ ।’ उनले भने, ‘म सचिवालय बैठकमा छु, आउन सक्दिनँ भनेर जानकारी गराएको थिएँ ।’

सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापनाका लागि अदालत जाने अथवा नजाने भन्ने विषयमा आज ११ राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । उक्त छलफलमा रास्वपाका प्रतिनिधि सहभागी छैनन् । बैठकमा विघटित प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतकहरुलाई निम्त्याइएको थियो ।

घिमिरेले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) छन् । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) , जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टीलाई उनले छलफलमा बोलाएका थिए । सभामुख घिमिरेले दलहरूलाई संसद् विघटनका विषयमा पार्टीको आधिकारिक धारणा लिएर आउन आग्रह गरेका थिए ।

बैठकमा सभामुख घिमिरेसँगै राखिएको एउटा कुर्सी खाली देखिएको छ । सभामुखको सचिवालयका अनुसार उक्त कुर्सी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका लागि थियो । दाहाललाई आजको वैठकमा बोलाइएको भए पनि उनी आएनन् । आफू अर्को बैठकमा रहेकाले आउन नपाएको उनले जानकारी गराएका छन् । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले सभामुखको छेउमा सँधै एउटा कुर्सी रहने गरेको र विशिष्ट व्यक्तित्वहरु आउँदा बस्ने गरेको बताए ।

 

सभामुखले बोलाएको छलफलमा रास्वपा अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाका विषयमा सभामुख देवराज घिमिरेले आज (बुधबार) बोलाएको सर्वदलीय छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अनुपस्थित भएको छ । बैठक अहिले संसद् भवनस्थित सभामुखको कार्यकक्षमा चलिरहेको छ । तर यो तयार गर्दासम्म रास्वपा बैठकमा सहभागी भएको छैन ।

प्रतिनिधिसभा विघटनविरुद्ध न्यायिक परीक्षणका लागि जान सभामुखलाई कानुनविद्, दलका नेताहरूले सुझाव दिएका छन् । यसै क्रममा सभामुख घिमिरेले आफै रिट निवेदन लिएर सर्वोच्च अदालतमा जाने कि नजाने भन्ने विषयमा दलहरूसँग परामर्श थालेका हुन् । बैठकमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, जसपा, लोसपा, नाउपा, जनमतलगायतका राजनीतिक दलका प्रमुख सचेतकलाई बोलाएका छन् ।

विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बैठकमा सहभागी भइरहँदा चौथो ठूलो दल रास्वपा भने अनुपस्थित भएको हो । गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै प्रतिनिधि सभा विघटन गरिएको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सदन विघटन गर्दै आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य चुनाव तोकेका छन् । तर दलहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको जिकिर गर्दै पुनःस्थापनाका लागि कानुनी पहल गर्न चाहेको सन्दर्भमा सभामुखले उनीहरूसँग बैठक राखेका हुन् ।

 

अलमल गर्ने समय छैन, नयाँ भन्नेहरु एक ढिक्का हुनैपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ पुस्ताका राजनीतिक शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत देश निर्माणका लागि अब अलमल नगरी एउटै मोर्चामा उभिनु पर्ने आवश्यकता औंल्याएकी हुन् ।

कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अलमल गर्ने समय छैन । नो इफ, नो बट्स ! नयाँ भन्नेहरू एक ढिक्का हुनैपर्छ । देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू, रास्वपालगायत सबैले आ–आफ्नो हठ त्याग्नै पर्छ ।’ उनले राजनीतिक हठ र व्यक्तिगत स्वार्थले नयाँ सोचका शक्तिहरू टुक्रिँदै गएको उल्लेख गर्दै व्यङ्ग्यात्मक शैलीमा लेखेकी छन्–‘हठकै राजा महाराजा हुनुथ्यो त ओली छँदै थिए नि !’

रास्वपाको उम्मेदवार छनोट तयारी सुरु, सुझाव संकलन गर्न कार्यदल गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो फागुन २१ का लागि घोषणा गरिएको प्रतिनिधि सभा चुनावमा भाग लिन प्रक्रिया अघि बढाएको छ । रास्वपाको शुक्रबार सम्पन्न पार्टी सचिवालयको बैठकले त्यसका लागि उम्मेदवार छनोट विधिबारे सुझाव संकलन गर्न कार्यदल समेत गठन गरेको छ । प्रवक्ता मनीष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय भएको हो ।

‘मिति २०८२ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रस्तावित एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेश मार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सातै प्रदेशका सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने,’ रास्वपाको निर्णयमा भनिएको छ । रास्वपाले सुझाव संकलनको लागि ७ दिनको समयावधि तोकेको छ भने कात्तिक १५ भित्र उम्मेदवारी आह्वानको तयारी गर्ने निर्णय समेत गरेको छ ।

केन्द्रीय सल्लाहकार परिषद् गठन
रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । पाँच सदस्यीय परिषदमा विज्ञ, लब्ध प्रतिष्ठित मनोनित गरिएको रास्वपाले जनाएको छ । परिषदमा मनोनित हुनेहरुमा चितवनका जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाई भूमि, ललितपुरकी शोभा जोशी विजुक्छे, सप्तरीका बुद्धीलाल विश्वकर्मा र महोत्तरीका जयकिशोर लाल छन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका पौडेल नेपाली कांग्रेस परित्याग गरेका चितवनका नेता हुन् । परिषद्का अर्का सदस्य नमस्तेलाल सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ हुन् । विजुक्छे समाजसेवी, उद्यमी हुन् । विश्वकर्मा पेशाले इन्जिनियर हुन् भने जलस्रोत एवं सिंचाइ विज्ञ समेत हुन् । जयकिशोर लाल जनकपुर नर्सिङ क्याम्पस पूर्व प्रमुख हुन् । रास्वपाले विस्तारित बैठक चितवनमा गर्ने निर्णय गरेको छ । कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठकको व्यवस्थापनको संयोजकमा केन्द्रीय सदस्य हरि ढकाल तोकिएका छन् ।

देशभर सदभाव यात्रा गर्दै रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर सद्भाव यात्रा गर्ने तयारी गरेको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ । आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दैछ । बैठकबाट तीन चरणमा सद्भाव यात्रा गर्ने गरी मिति तय गरिनेछ ।

प्रवक्ता झाका अनुसार समाजमा अहिले द्धन्द्ध छ । राज्य र समाजलाई जोड्नुपर्ने छ । मानिसहरूलाई एकअर्कोप्रति विश्वास आर्जन हुने वातावरण बनाउनु छ र एक अर्कोप्रति सद्भाव कायम गर्ने अवस्था सिर्जना गर्नुछ । प्रवक्त झा भन्छन्, ‘हामीले गर्न लागेको सद्भाव यात्राको उदेश्य भनेको मानिसहरूबीच एक अर्कोबीच सद्भाव नखलबिलयोस् भनेर हो ।’ आन्दोलनका क्रममा छिमेकीकै घर जोगाउन नलाग्ने जस्तो अवस्था देखा परेको, एउटा पार्टीले अर्को पार्टीको भवन जलाउँदा हेरेर बस्ने अवस्था रहेको भन्दै रास्वपाले मानिसहरूबीच एक अर्कोप्रति रहेको रिस कम सद्भाव यात्रा गर्न लागेको जनाएको छ ।

समाज र राज्य दुवैलाई सन्तुलनमा लैजान खोजिएको हो । झाका अनुसार सद्भाव यात्राका क्रममा रास्वपाका नेता-कार्यकर्ताहरू समाजमा जान्छन्, मान्छेहरूसँग भेट्छन्, चिया चौतारीमा पुग्छन्, क्लवमा पुग्छन् र के कसो छ भनेर कुराकान गर्छन् । जेनजीले उठाएका विषय सदनमा आफूहरूले उठाएको तर, संख्याको कारणले धेरै गर्न नसकेको पनि भनिने उनले जानकारी दिए ।

रास्वपाले तत्काल कसैसँग सहकार्य गर्दैन : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्काल कसैसँग सहकार्यका लागि छलफल अघि नबढाएको स्पष्ट पारेको छ । रास्वपा प्रवक्ता मनिष झाले युवाहरुलाई पार्टीमा भित्र्याउने, अवसर दिने र नयाँलाई स्वागत गर्ने कुरा पार्टीको नीति नै भए पनि कुनै पार्टी वा समूहसँगै सहकार्यबारे कुनै छलफलहरु पार्टी तहबाट नभएको स्पष्ट पारेका छन् ।

रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ‘समर्थन’ मा पार्टीलाई अगाडि बढाउने योजना बनाइरहेको समाचारहरु बाहिर आइरहेका बेला पार्टी प्रवक्ता झाले यसमा कुनै सत्यता नभएको बताएका हुन् । पार्टीका शुभेच्छुकहरुले कुनै पार्टी वा समूहसँग मिलेर गए हुने भन्ने गरी गरिएका बाहिरका छलफलहरु पार्टीको आधिकारिक विचार नहुने प्रवक्ता झाले बताएका छन् ।

पछिल्लो समय रास्वपाको कार्यकारी नेतृत्वमा कुलमान घिसिङलाई राखेर अघि बढ्ने तयारी भइरहेको चर्चा बाहिरिएपछि प्रवक्ता झाले यस्तो स्पष्ट पारेका हुन् । रास्वपा सभापति रवि लामिछानेको ठाउँमा सर्वमान्य व्यक्ति राखि नेतृत्व परिवर्तन गरे आफ्नो समर्थन रहने काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) को सहमति रहेको चर्चा बजारमा सुनिएन आएको छ । यसै हल्लालाई खण्डन गर्दै प्रवक्ता झाले पार्टीमा यस विषयमा कुनै जानकारी र छलफल नभएको स्पष्ट पारेका छन् । तर, रास्वपाले युवाहरुको विचार र प्रतिनिधित्वलाई जहिल्यै स्वागत गर्ने प्रवक्ता झाले बताएका छन् ।

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् । झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ ।

बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गरिने झाले जानकारी दिए । यसअघि ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय गरेको थियो । साथै, त्यसबेला आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउने भनेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनाएको छ । प्रवक्ता झाले भनेका छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’ आजको बैठकमा चुनावको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ ।

रास्वपाका केन्द्रीय सदस्य अधिकारीले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले शुक्रबार राजीनामा दिएका हुन् । अधिकारीले राजीनामा दिएको रास्वपाका एक नेताले पुष्टि गरे । उनले भने, ‘आज राजीनामा दिनुभएको छ । उहाँ संस्थापक केन्द्रीय सदस्य हो । पदप्रति आशक्ति नभएको व्यक्ति हुनहुन्छ । रास्वपामा लागेर समृद्धि र विकास गर्न सकिन्छ भनेर जोडिनु भएको थियो । पार्टीलाई केही आरोप नगरी राजीनामा गर्नु भएको छ ।’

जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए । पार्टी परित्याग गर्नेहरुलाई फर्काउने विषयमा दुई दिने केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो । कार्यदल बनाएर संवाद गरी फर्काउन पहल गर्नुपर्ने केही नेताहरुको विचार थियो ।

रास्वपा केन्द्रीय कार्यालय भवन खाली गर्न सूचना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गरि दिन आग्रह गरेका छन् । देवकोटाले १० महिनाको भाडावापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम नपाएको बताएका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताएका छन् ।

अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडा वापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख ५० हजारमा घरभाडामा सहमति भएको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।

पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले बताएका छन् । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटा भन्छन्, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।’ स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।

रास्वपा रुपान्तरका लागि सन्तोष परियारले अघि सारे यस्ता दुई प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताउँदै यसका लागि दुई वटा विकल्प अघि सारेका छन् । उनले केन्द्रीय समिति बैठकमा दुईटा विकल्प प्रस्तुत गरेका छन् । पहिलो मंसिरमा महाधिवेशन र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना ।

यी दुईमध्ये एउटामा जानुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी फागुन ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति विगतमा तोकिएको स्मरण गरेका छन् । त्यसअनुसार पार्टी महाधिवेशन गर्ने गरी अभियान चलिरहेकै बेला परिस्थिति बदलिएकाले छिटो महाधिवेशन गर्न सकिने उनको पहिलो प्रस्ताव छ ।

‘अब यो बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि ल्याएर छिटो महाधिवेशन गर्न सक्छौं, त्यो महाधिवेशन मंसिरमा गर्न सक्छौं’ परियारले समितिमा राखेको भनाईबारे भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने अहिले भएका सबै समितिहरु भंग गरौं यो केन्द्रीय समितिलाई महाधिवेशन गर्ने आयोजक समितिमा रुपान्तरित गरौं ।’ यसो गर्दा जिल्ला जिल्लामा भएका सदस्य संख्याको भारमा प्रतिनिधि लिएर आउने र एउटा विशेष खालको महाधिवेशन गरेर अगाडि जानसकिने उनको प्रस्ताव छ । महाधिवेशनपछिको संगठन, विचार, नीति र राजनीतिक मुद्दामा आधारित भएर एउटा स्पष्ट कार्यदशासहित प्रतिनिधि सभाको चुनावमा होमिने उनको प्रस्ताव छ ।

प्रतिनिधि सभाको चुनाव फागुन २१ गतेका लागि तोकिएको छ । उक्त चुनाव समयमै हुनपर्ने र चुनावमा जाँदा महाधिवेशनपछिको संगठन लिएर जाँदा पार्टीलाई अझ धेरै फाइदा पुर्‍याउन सक्ने उनको प्रस्ताव छ । यदि मंसिरमा महाधिवेशन नगर्ने हो भने विस्तारित बैठक गर्ने र अगाडि बढ्न सकिने उनको दोस्रो प्रस्ताव छ ।

‘होइन भने एउटा विस्तारित बैठक गरौं दशैं तिहार पछाडी अथवा कहाँ गर्न सकिन्छ मिति तोकौं । विस्तारित बैठकमा कुन तहको साथीहरु सहभागी हुने त्यो पनि टुंगो लगाऔं’ परियारले भनेका छन्, ‘त्यो विस्तारित बैठकले पार्टीको संगठनको पुनर्गठन गरौं, विचारको पुनर्गठन गरौं गरौं, राजनीतिक मुद्दाको पुनर्गठन गरौं र एउटा कार्यदिशा पारित गरौं ।’

यसो गर्दा अहिले भएका मौजुदा समिति सबै आफ्नो–आफ्नो ठाउँमा रहि रहने र विस्तारित बैठकबाट पार्टी केन्द्रको सचिवालय पुनर्गठन गर्ने, पुनर्गठित केन्द्रीय समितिमा हाल केन्द्रीय समितिमा भएका व्यक्तिहरुको जिम्मेवारी हेरफेर गर्ने र अगाडि जाने उनको प्रस्ताव छ । यी दुई विकल्पमध्ये एउटा विकल्पमा जानुपर्ने उनको प्रस्ताव छ । यसो गर्दा फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनावमा जनतासामु उर्जावान संगठन लिएर जान सकिने उनको आग्रह छ ।

केही गरी फागुन २१ मा चुनाव भएन भने महाधिवेशन वा विस्तावित बैठकबाट आएको पुनर्गठित केन्द्रीय समिति र पुनर्गठित केन्द्रीय सचिवालयले पुनर्गठित विचार र राजनीतिक मुद्दाहरु लिएर पार्टी संगठन निर्माणमा लाग्न सकिने उनको आग्रह छ । उनले भनेका छन्, ‘यो दुईटा प्रस्ताव छ यो दुईटा प्रस्ताव भन्दा दायाँ बायाँ गर्‍यौं भने हाम्रो राजनीति कठिन छ ।’ यससँगै नयाँ र वैकल्पिक अन्य शक्तिलाई समेत समेटेर रास्वपा अगाडि बढ्न सक्नुपर्ने परियारको अर्को प्रस्ताव छ । रास्वपा बाहिर रहेका परिवर्तन पक्षधर शक्तिलाई जोड्न सक्नुपर्ने र यसका लागि पार्टीले नीति नै बनाएर अगाडि बढ्नुपर्ने नेता परियारको आग्रह छ ।

नक्खु कारागारको आगलागी घटनाबारे मनिष झा : ममाथि छानबिन गर्नुस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनका क्रममा नक्खु कारागारमा रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि कारागार जलाउन नेतृत्व गरेको भनेर आरोप लगाइएको दाबी गरेका छन् । मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा झाले भने, ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जानु मेरो धर्म होइन ?’

उनले आफ्नै पार्टी सभापति २ मिटर टाढा रहेको र त्यो आरोप लाग्ने डर रहेको भन्दै सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगायो भन्ने डरले गर्दा पनि आफू रोक्न गएको बताए । उनले आफूले आजगजी गर्न रोकेको भिडिओ हालेर आफ्नो मानमर्दन गरेको बताए । उनले थपे, ‘अब दाहसंस्कारमा नजाने ? तिमीले नै मारेको भन्देला । छिमेकीमा आगो लाग्दा नजाने ? तिमीले नै लगाएको भन्देला । सडकमा दुर्घटना हुँदा बचाउन नजाने ? तिमीले नै लडाएको भन्देला । किनकी आगो निभाउन जाँदा तैले लगाइस् भन्ने समाज छ यहाँ ।’

आफूले रोक्दै गर्दा रातो टिसर्टको मान्छे भिडियोमा समेत देखिएको भन्दै उनले मलाई जान भनेको र आफू फर्किएको बताए । उनले आफूमाथि छानबिन गर्न समेत भनेका छन् । ‘मेरो छानबिन नहोस् भनेको होइन, ममाथि पनि छानबिन होस्। जुन समिति बनेको छ, त्यसका आधारमा अरू भिडियो पनि लिएर जापान बस्ने मानिस (रविन) लाई अपलोड गर्न लगाइएको पनि झाले बताएका छन् ।

रास्वपा वैठकमा सुमनाबारे के भयो छलफल ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा भर्खरै पार्टी छोडेर गएकी सुमना श्रेष्ठबारे छलफल भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सुमना लगायतका तीन जना केन्द्रीय सदस्यबारे छलफल भएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।

रास्वपाले पूर्व सहमहामन्त्री श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । बैठकले श्रेष्ठले पार्टीलाई पुर्‍याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो । श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् ।

श्रेष्ठले पार्टी छोडेको विषयमा बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले भने, ‘सुमनाजीको बारेमा छलफल भयो उहाँले पार्टीलाई अहिलेसम्म योगदान गर्नुभयो त्यसको सम्मान गरेको छ । यस्तै पूर्वमहामन्त्री मुकुल ढकालले स्थापनाकालदेखि दस्ताबेजीकरण गर्न सहजीकरण गर्नुभयो त्यसका लागि धन्यवाद छ’, उनले भने, ‘आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ । उहाँहरू बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन । जहाँसम्म नेतृत्वले अवसर दिनुभएको थियो । सहयात्रा टुङ्गिएको छ । अर्को कुरा उहाँले एजेण्डा छोड्नु भएको छैन । यही देशमा बस्नुभएको छ । उहाँबाट धेरै कुरा सिक्न पायौँ । नयाँ यात्राको लागि स्वागत छ ।’

बैठकमा केही नेताहरूले श्रेष्ठलाई फर्काउने विषयमा मत राखेको पनि झाले जानकारी गराए । ‘पार्टीमा केही साथीहरुले उहाँलाई फर्काउन संवाद गर्ने हो कि, कार्यदल बनाएर छलफल गर्ने हो कि भन्ने कुरा पनि राख्नु भएको छ,’ झाले भने, ‘उहाँले पनि सबै ढोका बन्द भएको भन्नु भएको छैन ।’

 

जेनजी आन्दोलनको अगुवाइ हामीले गरेको होइन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ नगरेको प्रष्ट पारेको छ । केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनिष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेको भन्दा फरक भएको बताए ।

उनले भने, ‘२४ गतेको घटनामा सहभागिताका लागि हाम्रो कुनै आह्वान थिएन । आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन । अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदा समेत चुइँक्क बोलेको छैन। तर हाम्रो पार्टीकाहरूले स्वतः राजीनामा दिनुभयो ।’ अरू पार्टीले अपराधीहरूको संरक्षण गरेपछि आफूहरूले अनुसन्धानमा सघाउन पुर्‍याइरहेको दाबी गरे ।

‘नख्खु कारागारले सुरक्षा जोखिम छ भनेपछि रविलाई जिम्मा लिएका हौं’
रास्वपाले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटक–पटक फोन गरेर आग्रह गरेको बताएको छ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटक–पटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनु भएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् ।

उनले कारागार प्रशासनले दिएको पत्रबारे कारागारले नै बोल्नुपर्ने बताइन् । ‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि,’ उनले भनिन् । पार्टी प्रवक्ता मनिष झाले पनि पत्रका बारेमा प्रश्न उठेकाबारे आपत्ति जनाए । उक्त पत्रमा भएको केरकारबारे चर्चा भए पनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेकोमा आपत्ति जनाए । ‘पत्रबारेमा प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नु भएन,’ झाले भने ।

रास्वपाको बैठकमा रविको मार्गप्रशस्त र नख्खु प्रकरण छानबिनको माग गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसिरहेको छ। मंगलबार बिहानबाट पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो ।बैठकमा समसामयिक राजनीतिक परिस्थितिसहित सात एजेन्डामा छलफल हुने रास्वपाले जनाएको छ ।

भदौ २३ गतेको जेन्जीको आन्दोलनको विषयलाई लिएर रास्वपाभित्र मतभेद छ । जेन्जीको आन्दोलनपश्चात सांसदहरुले सामुहिक राजीनामा दिएका थिए । पूर्व सांसद सुमना श्रेष्ठका अनुसार पार्टीका नेताहरुले झण्डा नलैजाने तर व्यक्तिगत रुपमा आन्दोलनमा सहभागी हुन पाइने कार्यकर्तालाई निर्देशन दिइएको थियो ।

यता भदौ २४ गते नख्खु कारागारमा रहेका सभापति रवि लामिछानेलाई निकाल्न रास्वपाका शीर्ष नेताहरु नै पुगेका थिए । लामिछाने विजयी भावमा कारमा बाहिरिएका थिए भने त्यसपश्चात कारागारमा आगजनी भएको थियो । रास्वपाका सहमहामन्त्री विपिन आचार्यले प्रदर्शनको उग्रताको नेतृत्व वा संलग्न पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकै स्तरबाट भएपनि छानबिन र कारबाहीको दायरामा आउनु पर्ने बताएका थिए ।

‘रास्वपाको ठूलो समर्थन आधार युवाहरू हुन् । तसर्थ शान्तिपूर्ण रूपमा युवाहरूले राखेका मागमा पार्टीको नैतिक समर्थन हुनु र शान्तिपूर्ण र स्वस्फुर्त सहभागिता स्वभाविक हो । तर यदि रास्वपाका नेतृत्व र जिम्मेवार तह र तप्कामा रहेका कुनै पनि व्यक्तिहरू सो स्थानमा भीडलाई बोलाउने, उक्साउने वा भीडलाई उत्तेजित पार्ने कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा संलग्न छन् भने सो कार्य क्षम्य हुनु हुँदैन ।’

उनले भने, ‘नख्खु कारागार वरपर त्यस दिन भएका प्रदर्शनको सरकारले सकेसम्म छिटो छानबिन र अनुसन्धान गर्छ भन्ने विश्वास छ । उग्रताको नेतृत्व वा संलग्नता चाहे म, मभन्दा माथिल्लो तहका पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकैस्तरबाट भए पनि छानबिन र कारबाहीको दायरामा आउनु पर्छ । अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आवद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछु ।’

आचार्यले भनेका छन्, ‘भदौ २४ गते नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।’

बैठकमा कम्तीमा ४ जना प्रदेश सभापतिहरूले रास्वपा सभापति रवि लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । रास्वपामा प्रदेश सभापतिहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था छ । आजको केन्द्रीय समिति बैठकमा प्रदेशहरुबो राजनीतिक प्रस्ताव पेश गर्न भनिएको थियो । त्यसमा चारवटाले सभापतिले आफ्नो मुद्दाको कानूनी निरुपण नहुञ्जेलका लागि पद त्याग गर्न वा संरक्षणको भूमिकामा बस्न प्रस्ताव गर्न लागेका हुन् ।

स्रोतका अनुसार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश समिति सभापतिले मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा छन् । कोशीका सभापति सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले केन्द्रीय समिति बैठकमा यो प्रस्ताव गर्ने बुझिएको छ । बाँकी तीन सभापतिको भने लाइन क्लियर भएको छैन ।

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (मंगलबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय चःमतिमा मंगलबार बिहान ८ बजे बस्ने बैठकमा ६ वटा कार्यसूची तय गरिएको छ ।

प्रवक्ता मनिष झाका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । पार्टीका सातै प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रदेश सभापतिहरूले राख्ने कार्यसूची तय गरिएको छ । यस्तै परिवर्तित अवस्थाका सन्दर्भमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिइने झाले बताए ।

चौथो कार्यसूचीमा पार्टी संगठन एवं विभागबारे छ। केही रिक्त विभागहरू पूर्ति गरिने सम्भावना छ । पाँचौं कार्यसूचीमा आगामी फागुन २१ गतेलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनीतिबारे पनि छलफल हुनेछ । त्यस्तै बैठकमा पार्टीको पहिलो महाधिवेशनबारे पनि छलफल हुनेछ । महाधिवेशन फागुन ७, ८, ९ गते तय गरिएको छ ।

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले मंगलबार बैठक बोलाएका हुन् । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहान ८ बजेका लागि बैठक तय भएको रास्वपाले जानकारी दिएको छ ।

बैठकमा समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा छन् । पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति र पार्टीको महाधिवेशन सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ।

पार्टीप्रति प्रश्न उठ्न थालेको स्थितिलाई हामीले आत्मसात गर्नुपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टी रिफर्मेसनको प्रस्ताव राखेकी छन् । पछिल्लो समय विभिन्न कारणले पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै रिफर्मेसन प्रस्ताव राखेकी हुन् ।

प्रस्तावमा भनिएको छ, ‘लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनको जगमा उभिएको नैतिक र जनउत्तरदायी सरकार निर्माण गर्ने लक्षका साथ स्थापित हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई आम जनताले निकै ठुलो आशा र भरोसापूर्वक हेरिरहेका छन् । तर पछिल्लो समय विभिन्न कारणले हाम्रो पार्टीप्रति केही प्रश्नहरू उठ्न थालेको स्थितिलाई हामीले आत्मसाथ गर्नैपर्छ ।’

अझै यो वर्तमान संवेदनशील परिस्थितिमा पार्टीले खेल्ने भूमिकाले नयाँ नेपाल निर्माण गर्ने यात्रामा जनताबाट सुशासनको म्यान्डेट सहित अघि बढ्न मुख्य शक्तिको रूपमा पार्टीलाई विकास गर्नुपर्ने उल्लेख छ ।

यस्ता छन् तोसिमाका चार प्रस्ताव

‘अन्तरिम सरकार गठन हुँदा लिक बाहिर गएको संविधान चुनावले सही मार्गमा ल्याउँछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकार गठन गर्ने समयमा संविधान लिक बाहिर गएको ठहर गरेको छ । अन्तरिम सरकार बनाउन अक्षरभन्दा भावना खोज्नुपर्ने बाध्यात्मक परिस्थितिमा संविधान लिक बाहिर गएको रास्वपाको निष्कर्ष छ ।

वर्तमान सरकारले घोषणा गरेको चुनावमार्फत संविधान पुनः सही दिशामा आउने अपेक्षा रास्वपाले गरेको छ । संविधान दिवसको अवसरमार शुभकामना सन्देश दिंदै कार्यवाह क सभापति डीपी अर्यालले भने, ‘निर्वाचन सफल बनाउने राष्ट्रिय अभिभारामा सामूहिक र सार्थक खबरदारी एवं पहलकदमीका लागि सम्बद्ध सबैमा आह्वान गर्दछौं ।’

संविधानमा निहित लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक न्याय र समानताका सिद्धान्तहरूलाई व्यवहारमा उतार्न रास्वपा दृढ रहेको अर्यालले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘संवैधानिक सुधारको मुद्दा पनि निरन्तर उठाउँदै आएको स्मरण गराउँछौं । संविधान परिमार्जन नगरी मुलुकमा आमूल सुधारको सुरुवात हुन्न भन्ने हाम्रो अडानलाई पछिल्लो जेन–जी विद्रोह र त्यसक्रममा उठेका आवाज र व्यक्त भावनाले पनि पुष्टि गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

व्यापारी र कर्मचारी धम्काउने गतिविधिमा रास्वपा संलग्न छैन : प्रवक्ता झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई आफ्नो पार्टीको नाम लिएर डर, त्रास, धम्की देखाई फोन र मेसेज गरिरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता मनिष झाले आज एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको प्रस्ट पारेका छन् ।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरुलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ’यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ ।’

सुमनाले छाडिन् रबिको साथ, रास्वपामा गएको पहिरो थामिएला कि बढ्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले आज एकाएक पार्टी छोडेको घोषणा गरिन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा तीन विषयमा असन्तुष्टि जनाउँदै उनले पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले ग्रुपमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरे पनि पार्टीमा औपचारिक पत्र आइनपुगेको बताएका छन्।

अर्का एक केन्द्रीय सदस्यका अनुसार सुमनाले ग्रुपमा आफूमाथि मिडिया ट्रायल गरेको, आफ्ना कुराहरू पार्टीले सुनुवाइ नगरेको र पार्टीमा काम गर्ने अवस्था नभएको भन्दै पार्टी छोडेको घोषणा गरेकी हुन् । आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताएकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि श्रेष्ठले भनिन् । उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइ दिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

उसो त केहि दिनअघि भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीको शपग ग्रहण कार्यक्रममा नेतृ सुमना श्रेष्ठ भौतिक रुपमै उपस्थित भएका थिइन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बाहेक ठूला अन्य पूर्व प्रधानमन्त्री र विटघित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समेत अनुपस्थित शपथ ग्रहण समारोहमा सुमना श्रेष्ठ उपस्थित थिइन् ।

उक्त शपथ ग्रहण समारोहमा सुमनाको उपस्थितिलाई लिएर सामाजिक सञ्जालहरुमा उनी जेनजी आन्दोलनतिर समाहित हुन लागेको हो कि भन्ने अनुमान गरेका थिए । रास्वपामा रहँदै पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको विचार नजिकको भन्ने आरोप खेप्दै आएकी सुमनले शपथ ग्रहण समारोहमा आफ्नो उपस्थितिका बारे सामाजिक सञ्जालबाटै स्पष्टिकरण दिएकी थिइन् ।

सामाजिक सञ्जालहरुमा उनी सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री बन्न लागेको हो कि भन्ने अनुमान गरिएको थियो । तर उनले लगतै रास्वपा छाड्न लागेको कुनै जानकारी नदिई आफू सुशीला कार्कीको सरकारमा नजाने स्पष्ट पारेकी थिइन् । उनले जेनजीको आन्दोलनपछि सरकारमा जाने नभई जनताको सेवाका बारेमा सोच्नु पर्ने बताएकी थिइन् । आज नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै मन्त्रिमण्डल गठनका लागि छलफल अघि बढाइरहेका बेला नेतृ श्रेष्ठले रास्वपा त्यागेको घोषणा गरेकी हुन् ।

नेतृ श्रेष्ठले कार्की नेतृत्वको सरकारमा नजाने सामाजिक सञ्जालबाट बताइसकेको भए पनि मन्त्रिमण्डल विस्तार भइनसकेका कारण र शपथ ग्रहण समारोहमा भौतिक रुपमै उपस्थित भएकी सुमना कतै सरकारमा जाने बाटो खुल्ला गर्न रास्वपा त्यागेकी त होइनन् भन्ने आशंका र कौतुहलता भने बाँकी नै रहेको छ ।

पछिल्लो समय संकट, चुनौति र विभिन्न अप्ठ्याराहरुसँग लड्दै आएको रास्वपामा पार्टीको प्रभावशाली नेतृ श्रेष्ठको यो पार्टी परित्यागको घोषणाले अर्को संकट थपिएको छ । सुमनाबाट सुरु भएको पार्टी परित्यागको लहर बढ्ने हो कि भन्ने चिन्ता नेतृत्वपंक्ति देखिएको छ । रास्वपामा नेताहरुले खुलेर नबोले पनि भित्रभित्रै पार्टी नेताहरुमा असन्तुष्टि चुलिँदो अवस्थामा रहेको राजनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

उसो त हिजो मात्र रास्वपा सभापति रवि लामिछानेले पुनः नख्खु कारागार फर्किदै गर्दा पार्टीका नेताहरुलाई एकतावद्ध भएर वर्तमान राजनीतिक परिस्थिति अनुसार चल्न आग्रह गरेका थिए । सँग उनले कसैलाई पार्टीप्रति रुची हराएको र बाहिरिन मन भए आफू वाधक नबन्ने बताएका थिए । सभापति लामिछानेको यस्तो अभिव्यक्तिपछि सुमनको पार्टी परित्यागको घोषणा आएको हो । सुमनाको पार्टी त्यागको घोषणाले रास्वपामा सानो भए पनि पहिरो गएको छ । यो पहिरो थामिन्छ कि अझ बढ्दै जान्छ त्यो भने भविष्यले बताउने छ ।