रास्वपाले जेनजीहरुसँग ‘वृहत राजनीतिक संवाद’ गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाले) जेनजी पुस्ताहरुसँग बृहत् राजनीतिक संवाद आयोजनाको तयारी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकपछि प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति र समूहसँग वार्ता गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरूको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरूबीच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरू गरिरहेको विदितै छ ।’
गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर रहेका समान विचार बोल्नेहरूलाई एकताबद्ध गर्ने प्रयास भइरहेको उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘प्रवास र स्वदेशका आम नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यही कार्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने निर्णय गरिएको छ ।’
वृहत् राजनीतिक संवादको उद्देश्य आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ, लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवद्र्धनका लागि वृहत् एकता र सहकार्यको रेखाङ्कन र उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता भएको उल्लेख छ ।
