`

मैले पार्टी छाडें, तपाईंहरू पनि सोच्नुहोस् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै पूर्व शिक्षामन्त्री सुमनाले श्रेष्ठेले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई पनि पार्टी छाड्ने सही समय भएकाले विचार गर्न आग्रह गरेकी छन् । पूर्वमन्त्री श्रेष्ठले आइतबार रास्वपा परित्यागको घोषणा गर्दै नेतृत्वले गरेका गल्तीहरूको भारी बोकेर पार्टीभित्र नस्बन तेस्रो पुस्तालाई आग्रह गरेकी हुन् ।

‘मैले पार्टी छोडें । कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, उनले भनिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’ नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी छन् ।

आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन् । ‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि नेपालखबरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन् । उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइ दिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’

जन्म दिनकै दिन रविले भने–अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित कारागार जाँदैछु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् । आज आफ्नो जन्मदिनमै आफूलाई उपहार स्वरुप कारागार जान लागेको उनले बताएका छन् । आफ्नो कारणले जेलबाट कैदीहरु भागे भनेर बदनामी गर्न खोजिएको रविको गुनासो छ ।

हेर्नुस् फेसबुक लाइभमा रविको भनाइ

नमस्कार । म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेसा संवादमा छु । जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन । आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु ।

संयोगले आज मेरो जन्मदिन परेछ । र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु । पछिल्लो सरकारले ममाथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नु भएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु । ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेकमाथि नै छोड्न चाहन्छु । यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन ।

बाँकी रह्यो मलाई केही दिनअघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो । अहिले चिठी नै वैधानिक छैन भनेको सुन्छु । जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनले मलाई जोगाएको होइन, जेल जोगाएको हो । आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न ।

मैले कालकुट विष पिएको धेरै भइसक्यो । अर्को एक दुई थोपो बिष पिएर म मर्दिन । मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो । कत्राकत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर, एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन, मै जिम्मा लिन्छु । तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो, मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ?

यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्, मेसमा मेजबानी खाइरहेका छन् । म जनताको भीडबाट निस्किएपछि एक्लै छु । एउटा पुलिस पनि मसँग छैन । मेरो बदनाम गराउन तल्लिन पुराना दलका केही टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखेँ । हे पुराना दलका सेनामेना साथी हो, तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?

आफ्नै पार्टी परिवारभित्रका साथीहरूप्रति मेरो कुनै गुनासो छैन । म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु । तपाईलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन । रास्वपा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु । तर पार्टी त बन्छ बन्छ । बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ । मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै ।
अब भोलिको कुरा गरौं । देशको कुरा गरौं । म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ । यसमा म कुनै हालतमा सम्झौता गर्दिन । अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन, बन्न सक्दैनथ्यो । अन्तरिम सरकारको

संवैधानिक पृष्ठभूमि जेसुकै भए पनि यो अब देशको वास्तविकता हो । यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनु पर्छ । एउटा कुरा नबिर्सौ । कलिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ । त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ र दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ ।

बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरूमा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनु पर्छ । सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सबै शक्ति र सामथ्र्य प्रदान गर्ने वचनका साथ मेरा केही माग पनि छन् ।

१ ) २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ ।

२ ) देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनु पर्छ ।

३) कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नु पर्छ । सुब्वादेखि न्यायाधिशसम्मले फेरि जाँच दिनुपर्छ ।

४) सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ।

५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ ।

मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन् । रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ । यी चिजहरू हुन सकेन भने जनताको आन्दोलनमाथि विश्वासघात हुन्छ । मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ । त्यसका लागि हामी जनस्तरबाट दवाव बढाएर सरकारलाई सहयोग गर्नेछौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना । म यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु । मैले केही योगदान दिनुप¥यो भने म यही नख्खु कारागारमै छु । भेट्न आउनु होला ।

पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ । पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन । उनीहरुले जति जाने त्यति गरे । इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु । नमस्कार

सुमनाले भनिन्–भ्रममा नपर्नु होला, कार्की ‘क्याबिनेट’ मा जान लागेको छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सुशीला कार्की नेतृत्वको सरकारमा आफू सहभागी नहुने बताएकी छन् । शुक्रबार साँझ शीतल निवासमा आयोजित प्रधानमन्त्री कार्कीको शपथ ग्रहण समारोहमा सहभागी भएपछि कतिपयले सुमना पनि यो सरकारमा मन्त्री हुनसक्ने अनुमान गरेका थिए ।

तर फेसबुक लाइभमा आएर सुमनाले आफूप्रति भ्रम छरिएको बताएकी छन् । उनले भनेकी छन्, ‘भ्रममा कोही पनि नपरिदिनुहोला । म क्याबिनेटमा जान लागेको छैन ।’ उनले भनेकी छन्, ‘कलिला भाइबहिनीहरुको दाहसंस्कार सकिएको छैन । उहाँहरुको यो बलिदानबाट आएको परिवर्तनमा म जस्तो अवसर पाएर, आफ्नो काम गर्ने मौका पाएर काम गरेकाहरुले मन्त्री बन्ने सपना नराखौं भन्न चाहन्छु ।’

युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो भन्दै उनले त्यो संस्कार परिवर्तनमा केन्द्रित हुनुपर्ने बताइन् । ‘युवाहरुको बलिदान संस्कार परिवर्तनका लागि थियो । त्यो संस्कार परिवर्तनमा हामी लाग्नुपर्छ । त्यसैमा हामीले फोकस गरौं।’
कार्की नेतृत्वको क्याबिनेटलाई शुभकामना दिँदै उनले भनिन्, ‘अब हामीले सत्ता होइन सेवा सोचौं, कुर्सी होइन कर्म सोचौं…। अब नाम होइन काम गर्नुपर्छ ।’ उनले युवा विद्रोहबाट भएको यो परिवर्तनलाई सफल बनाउन पछाडि बसेर सहयोग गर्ने बताएकी छन् । ‘हामीले हाम्रो यो परिवर्तन सक्सेसफुल बनाउनै पर्छ,’ सुमनाले भनेकी छन् ।

संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्छ : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्ने बताएकी छिन् ।बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सैह्य नहुने बताएकी हुन् ।

‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसदले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भनेकी छिन् । जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने बताएकी छन् ।

सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर हिँडेका छन् । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार जस्ता कार्यालयमा जेनजीहरूले उग्र प्रदर्शन गरेर तोडफोड र आगजनी गरेका छन् । यसैबीच नेपाली सेनाले जेनजीहरूलाई संवादमा आउन आह्वान गरेको छ । आजै मात्रै जेनजीहरूले प्रधानसेनापति अशोकराज सिग्देल समक्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनाउने गरी प्रस्ताव अघि सारेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) समेतको समर्थनमा उनलाई अघि सार्दै संसद् विघटनको प्रस्ताव पनि लगिएको छ । सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नै पर्ने देखेर बिहीबार साँझ आफ्ना कुरा राखेको उनले बताएकी छिन् ।

‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसदलाई कायम चाहिँ राख्नु पर्छ,’ उनले भनेकी छिन्, ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्‍यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनु भएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।’

उनले आफू भ्रष्टाचारीको विरुद्ध जस्तै नेपालको व्यवस्था बचाउन पनि कटिबद्ध रहेको बताएकी छिन् । ‘म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सहि मान्छे जनताले निर्वाचित गरे भने कानुन बनाएर कानुको दायरामा ल्याएर तीनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ,’ उनले भनिन्, ‘बस नेपाली जनताले सहि मान्छे निर्वाचित गरेर पठाउनु पर्‍यो । यो जनताको सर्वोच्चता कायम हुन्जेसम्म मात्रै सम्भव छ ।’

रास्वपा सांसद असीम साहले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद असीम साहले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । जेनजीको प्रदर्शनमा सरकारले बर्बर दमन गरेको भन्दै उनले त्यसको विरोध र जेनजीको समर्थनमा राजीनामा दिएको बताएका छन् । ‘मलाई सांसद पदमा बसिरहन मनले दिँदै दिएन,’ उनले भने । उनले विज्ञप्ति निकालेर संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराएका छन् ।

‘जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउने जस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,’ उनले लेखेका छन् ।
उनले भनेका छन्, ‘मैले पटक–पटक सदनमा युवाको आवाज बोलें, चेतावनी दिएँ– सडक विद्रोह हुनसक्छ, यदि युवाको भावना बुझिएन भने । तर सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।’ संसद् भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो हो भन्ने प्रश्न गर्दै उनले भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको बताएका छन् ।

‘संसदमा बसेर चुप लाग्नु या यस्ता गलत नीतिहरूलाई मौन समर्थन गर्नु मेरो पुस्ता, मतदाता र मेरो देशको भविष्यसँग ठूलो विश्वासघात हुनेछ भन्ने दृढ विश्वासका साथ, मैले यो निर्णय गरेको हुँ,’ उनले लेखेका छन् । ‘सांसद मेरो लागि मात्र पद होइन, नागरिकको आवाज प्रतिनिधित्व गर्ने माध्यम हो तर जब त्यो आवाज नै दबाइयो र सरकारले नागरिकप्रतिको प्रतिबद्धता तोड्यो, त्यस्तो संसद्मा बसिरहनु मेरो लागि अब सम्भव रहेन,’ उनले भनेका छन् । अब आफू प्रदर्शनमा रहने उनको भनाइ छ ।

 

 

रास्वपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार अहिले दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो । ‘जेनजी प्रदर्शन र त्यसमाथि भएको दमनकै बारेमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने ।

जेनजी प्रदर्शनकारीले संसद भवन घेराउ गरेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । घाइते भएकाहरूको सिभिललगायतका अस्पतालहरुमा उपचार भइरहेको छ । नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यु लगाइएको भए पनि अहिले प्रदर्शनकारीले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् ।

जेनजीको प्रदर्शनलाई कारागारबाटै रविको ऐक्यबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आज (सोमबार) हुने जेनजीको प्रदर्शनलाई समर्थन जनाएका छन् ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि ललितपुरको नख्खु कारागारमा रहेका लामिछानेले सन्देश पठाउँदै ऐक्यबद्धता जनाएका हुन् ।

उनले लेखेका छन्, आजबाट तपाईहरू सडकमा ओर्लदै हुनुहुन्छ । तपाईहरुमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुनुपर्छ ।शासकहरुले तपाईहरुलाई विधि र विवेकको शासन त दिएनन् नै, आफ्ना खुसी र दुःख, सफलता र असफलता बाँड्ने सामाजिक सञ्जालको सानो कुना पनि खोसे । सत्ता र शक्तिको नशामा चूर अनि घमण्ड र प्रतिशोधको आनन्दमा मग्न यिनीहरूलाई थाहा छैन, तपाईहरूको विवेक र आवेगसँग यो देशको इतिहास बदल्ने शक्ति छ ।’

उनले भनेका छन्, ‘आजको दिन इतिहासको नयाँ सुरुवातको दिन हो । घुसपैठ हुन सक्छ सचेत हुनुहोस्, उत्तेजित बनाउन सक्छन् विवेक प्रयोग गर्नुहोस् । तपाईको आफ्नो इतिहास र यो देशको इतिहास पनि तपाईकै हातबाट लेखिँदैछ । नख्खु जेलको कालकोठरीबाट म तपाईहरूप्रति शुभेक्षा, सदभाव र ऐक्यबद्दता प्रकट गर्दछु ।’

रामहरिलाई संसदीय समिति सभापति नबनाउन रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्वाचित भएपछि संसद सचिवालयको ध्यानाकर्षण गराएको छ । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडा निर्विरोध निर्वाचित भइसकेपछि रास्वपाले आपत्ति जनाएको हो । बिहीबार मनोनयनको समयसम्म खतिवडा एक्लैको उम्मेदवारी परेपछि उनी आज निर्विरोध घोषणा भएका हुन् ।

उम्मेदवारी दिएर उनलाई चुनौती नदिएको रास्वपाले अहिले उनी निर्विरोध भइसकेपछि प्रश्न उठाएको हो । निजामती विधेयकमा भएको कुलिङ पिरियड छेडखानीमा नैतिक जिम्मेवार ठहराएपछि राज्य व्यवस्था समितिबाट राजीनामा दिएका खतिवडा संसदीय सुनुवाइ समितिको सभापति चयन भएपछि रास्वपाले प्रश्न उठाएको हो ।

रास्वपा संसदीय दलका उपनेता ले उच्च जिम्मेवारीको पदमा नियुक्ति प्रक्रियामा नैतिक मापदण्डको पालना नभएको भन्दै संसद सचिवालयको ध्यानाकर्षण गराएका हुन् । पत्रमा भनिएको छ, ‘…जनताको सार्वभौम कानून निर्माण जस्तो संवेदनशील विषयमा गैरकानुनी रूपमा प्रत्यक्ष संलग्न भई नैतिक संकटमा परी राजीनामा दिनुपरेको व्यक्तिलाई अहिले पुनः संसदीय सुनुवाइ समितिको सभापतिजस्तो अझ महत्वपूर्ण पदमा नियुक्त गर्ने प्रक्रियाले संसदकै नैतिक आचरणप्रति प्रश्न खडा गरेको छ ।’

नैतिकता र पारदर्शीता लोकतान्त्रिक प्रणालीका मूल आधार भएको उल्लेख गर्दै संसदको जिम्मेवारी भनेकै सदन र समितिहरूलाई जनताले विश्वास गर्ने संस्थाको रूपमा स्थापित गर्नु भएको उल्लेख गरेका छन् । पत्रमा भनिएको छ, ‘विवादास्पद पृष्ठभूमि भएका व्यक्तिलाई पुनः उच्च ओहदाको जिम्मेवारी दिने कार्यले संसदको गरिमा मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पु¥याएको अवस्था छ । यसैले, यस्तो संवेदनशील पदमा नियुक्ति गर्दा नैतिक मापदण्ड, सार्वजनिक विश्वास र पारदर्शीताको आधारमा निर्णय गर्न र निजको नियुक्ति प्रक्रिया तत्काल स्थगित गर्न अनुरोध गर्दछौँ ।’

सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिइयोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ ।

रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपति जनाएको हो । रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख सुमना श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाललाई एकै पटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो । लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो; सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन।सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् ।’

अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड रहेको भन्दै यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकूचित गरेको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधाले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ । सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो ।’
हेर्नुस् विज्ञप्ती

रास्वपा उम्मेदवार लेखजंगले देखाए सम्बन्ध विच्छेदका कागजात

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुपन्दहेही–३ का उम्मेदवार डा. लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे स्पष्ट पारेका छन् । थापाले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) भइसकेको प्रमाण कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज देखाएका हुन् ।

डा. थापा रास्वपाबाट नौं आकांक्षीमध्येबाट उम्मेदवार बनेपछि उनीबारे बहुविवाहको समाचारहरु सार्वजनिक बाहिरिएका थिए । अदालती कागजात फेसबुकमार्फत सार्वजनिक गर्दै थापाले लेखेका छन्, परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एक जना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले डा. थापाको बहुविवाहबारे उम्मेदवार छनोट प्रक्रियाकै समयमा सूचना आएपछि पार्टीको अफिसियल टिमले भेरिफाई गर्दा पहिलो श्रीमती सुलोचना घिमिरेसँग डिभोर्स गरिसकेको पाइएको बताएका छन् । ‘पार्टीले आन्तरिकरुपमा उम्मेदवार छनोट प्रक्रिया शुरु गरेपछि नै उहाँको बहुविवाहको सूचना पार्टीमा आएको थियो, हामीले त्यसबारेमा भेरिफाई गर्दा पहिलो श्रीमतीसँग डिभोर्स भएको पायौं’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीले सोधपुछ गर्दा विगतमा बहुविवाह भए पनि दुई वर्षअघि नै डिभोर्स गरेको उहाँले बताउनु भयो, हामी त्यसमा विश्वस्त भयौं ।’

लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् । महामन्त्री बुर्लाकोटीले सुनाए, ‘बहुविवाह अन्त्य भएको विषयलाई अनावश्यक उछालिएको छ, त्यो अफवाह मात्रै हो ।’ पहिलो पत्नीबाट जन्मिएको बच्चा पनि लेखजंगसँगै रहेकाले सौहाद्र्धपूर्ण सम्बन्ध हुनु स्वाभाविक भएको उनको तर्क छ । ‘डिभोर्स हुने वित्तिकै झैझगडा नै गर्नुपर्ने, बोलचाल र मित्रता नहुने भन्ने पुरानो मान्यता हो, अहिलेको समाजमा त्यस्तो नहुन पनि सक्छ’ बुर्लाकोटीले भने ।

सिद्धार्थनगर नगरपालिका–९ अञ्चलपुरका लेखजंगलाई रास्वपाले गत शुक्रबार र शनिबार सञ्चालन गरेको प्राइमरी इलेक्सनको मत र अरू प्रक्रियाका आधारमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । २०८० असार ७ गते पार्टी सदस्यताको आवेदन फर्म भरेका थापाको सदस्यता भने प्राविधिक कारण २०८२ मा मात्र प्रमाणित भएको पार्टीले जनाएको छ । त्यसअघि उनी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसदको सूचीमा थिए ।