मैले पार्टी छाडें, तपाईंहरू पनि सोच्नुहोस् : सुमना श्रेष्ठ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्याग्दै पूर्व शिक्षामन्त्री सुमनाले श्रेष्ठेले नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलमा रहेका तेस्रो पुस्ताका नेताहरूलाई पनि पार्टी छाड्ने सही समय भएकाले विचार गर्न आग्रह गरेकी छन् । पूर्वमन्त्री श्रेष्ठले आइतबार रास्वपा परित्यागको घोषणा गर्दै नेतृत्वले गरेका गल्तीहरूको भारी बोकेर पार्टीभित्र नस्बन तेस्रो पुस्तालाई आग्रह गरेकी हुन् ।
‘मैले पार्टी छोडें । कांग्रेस–एमालेलगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि यो सोच्नुहोस्’, उनले भनिन्, ‘आजको दिनको परिस्थिति आउन तपाईंहरूको भन्दा बढी तपाईंहरूको नेतृत्वको व्यहोराले हो । त्यो किन बोकेर बस्नु हुन्छ ? अहिले सही समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’ नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गर्दै सुमना श्रेष्ठले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेको घोषणा गरेकी छन् ।
आफूले पार्टीलाई गल्ती सुधार गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि पार्टी परित्याग गर्न बाध्य भएको श्रेष्ठले बताइन् । ‘कहिल्यै गल्ती नस्वीकार्ने । गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने । जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबेलादेखि नै आलोचना गर्दै आएको हुँ’, रास्वपा परित्यागपछि नेपालखबरलाई प्रतिक्रिया दिँदै श्रेष्ठले भनिन् । उनले थपिन्, ‘तर त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रायल हुन थाल्यो । यो स्वीकार्य छैन । अब खुला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइ दिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला ।’