सामाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ता लिइयोस् : रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । सरकारले नेपालमा दर्ता हुन नमानेका फेसबुक, एक्सलगायत २६ सामाजिक सञ्जाल बिहीबारदेखि बन्द गराएको छ ।
रास्वपाले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति आपति जनाएको हो । रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका प्रमुख सुमना श्रेष्ठको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाललाई एकै पटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो । लोकतन्त्रमा समस्या समाधान गर्ने बाटो नियमन, पारदर्शिता र कानुनी प्रक्रिया हो; सम्पूर्ण सञ्चार माध्यम नै बन्द गर्नु होइन।सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिइयोस् ।’
अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको मेरुदण्ड रहेको भन्दै यसलाई नियन्त्रण गर्ने, बन्द गर्ने वा संकूचित गरेको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १७ ले विचार र अभिव्यक्ति स्वतन्त्रतालाई र धारा १९ ले सूचना तथा सञ्चारको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । संविधाले नागरिकलाई दिएको संवैधानिक अधिकार खोस्ने सरकारको रवैयाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कडा प्रतिवाद गर्दछ । सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीत कदम हो ।’
हेर्नुस् विज्ञप्ती