संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्छ : सोविता गौतम


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले संसद विघटन गर्दा जनताको सर्वोच्चता संकटमा पर्ने बताएकी छिन् ।बिहीबार एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम सैह्य नहुने बताएकी हुन् ।
‘जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसदले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो,’ उनले भनेकी छिन् । जेनजीहरूलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने बताएकी छन् ।
सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर हिँडेका छन् । संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार जस्ता कार्यालयमा जेनजीहरूले उग्र प्रदर्शन गरेर तोडफोड र आगजनी गरेका छन् । यसैबीच नेपाली सेनाले जेनजीहरूलाई संवादमा आउन आह्वान गरेको छ । आजै मात्रै जेनजीहरूले प्रधानसेनापति अशोकराज सिग्देल समक्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार बनाउने गरी प्रस्ताव अघि सारेको छ ।
काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) समेतको समर्थनमा उनलाई अघि सार्दै संसद् विघटनको प्रस्ताव पनि लगिएको छ । सोही विषयमा आफू निर्वाचित सांसद भएकाले बोल्नै पर्ने देखेर बिहीबार साँझ आफ्ना कुरा राखेको उनले बताएकी छिन् ।
‘कुनै पनि स्वार्थप्रेरित निर्णय गर्न पाइँदैन । जेनजीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न पाइन्छ । तर, संसदलाई कायम चाहिँ राख्नु पर्छ,’ उनले भनेकी छिन्, ‘अन्तरिम सरकारले चुनाव घोषणा गर्यो भने अहिले जेनजीहरू जसरी सक्रिय हुनु भएको छ, चुनावबाट तपाईंहरूले चाहेको मान्छे ल्याउन सकिन्छ ।’
उनले आफू भ्रष्टाचारीको विरुद्ध जस्तै नेपालको व्यवस्था बचाउन पनि कटिबद्ध रहेको बताएकी छिन् । ‘म जति कटिबद्ध छु, नेपालको यो व्यवस्था बचाउन पनि उति नै कटिबद्ध छु । सहि मान्छे जनताले निर्वाचित गरे भने कानुन बनाएर कानुको दायरामा ल्याएर तीनका सम्पत्ति राष्ट्रियकरण गर्न पनि सकिन्छ,’ उनले भनिन्, ‘बस नेपाली जनताले सहि मान्छे निर्वाचित गरेर पठाउनु पर्यो । यो जनताको सर्वोच्चता कायम हुन्जेसम्म मात्रै सम्भव छ ।’