रास्वपा वैठकमा सुमनाबारे के भयो छलफल ?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा भर्खरै पार्टी छोडेर गएकी सुमना श्रेष्ठबारे छलफल भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा सुमना लगायतका तीन जना केन्द्रीय सदस्यबारे छलफल भएको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् ।
रास्वपाले पूर्व सहमहामन्त्री श्रेष्ठलाई नयाँ यात्राका लागि शुभकामना दिएको छ । बैठकले श्रेष्ठले पार्टीलाई पुर्याएको योगदानको कदर गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो । श्रेष्ठले गत हप्ता पार्टी सभापति रवि लामिछानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा छोडेकी थिइन् ।
श्रेष्ठले पार्टी छोडेको विषयमा बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता मनिष झाले भने, ‘सुमनाजीको बारेमा छलफल भयो उहाँले पार्टीलाई अहिलेसम्म योगदान गर्नुभयो त्यसको सम्मान गरेको छ । यस्तै पूर्वमहामन्त्री मुकुल ढकालले स्थापनाकालदेखि दस्ताबेजीकरण गर्न सहजीकरण गर्नुभयो त्यसका लागि धन्यवाद छ’, उनले भने, ‘आफ्नो निर्णय लिन उहाँ स्वतन्त्र हुनुहुन्छ । उहाँहरू बारेमा कसैले पनि नकारात्मक टिप्पणी गरेको छैन । जहाँसम्म नेतृत्वले अवसर दिनुभएको थियो । सहयात्रा टुङ्गिएको छ । अर्को कुरा उहाँले एजेण्डा छोड्नु भएको छैन । यही देशमा बस्नुभएको छ । उहाँबाट धेरै कुरा सिक्न पायौँ । नयाँ यात्राको लागि स्वागत छ ।’
बैठकमा केही नेताहरूले श्रेष्ठलाई फर्काउने विषयमा मत राखेको पनि झाले जानकारी गराए । ‘पार्टीमा केही साथीहरुले उहाँलाई फर्काउन संवाद गर्ने हो कि, कार्यदल बनाएर छलफल गर्ने हो कि भन्ने कुरा पनि राख्नु भएको छ,’ झाले भने, ‘उहाँले पनि सबै ढोका बन्द भएको भन्नु भएको छैन ।’