रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश छन् । झाका अनुसार, यो बैठकले बिस्तारित बैठकको एजेण्डा तथा व्यवस्था तय गर्नेछ । त्यस्तै, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे बैठकमा छलफल हुनेछ ।
बैठकमा सद्भाव यात्राको कार्यसूचीसँगै बाँकी विविध विषयमा छलफल गरिने झाले जानकारी दिए । यसअघि ७ असोजमा बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले बिस्तारित बैठकको विषयमा निर्णय गरेको थियो । साथै, त्यसबेला आगामी २१ फागुनको चुनावको तयारीका लागि वाचा पत्र बनाउने भनेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन समिति बनाएको छ । प्रवक्ता झाले भनेका छन्, ‘हामी चुनावको तयारीमा लागिसक्यौं । वाचा पत्र बनाउने काम भइराखेको छ ।’ आजको बैठकमा चुनावको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ ।