जेनजी आन्दोलनको अगुवाइ हामीले गरेको होइन : रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ नगरेको प्रष्ट पारेको छ । केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनिष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेको भन्दा फरक भएको बताए ।
उनले भने, ‘२४ गतेको घटनामा सहभागिताका लागि हाम्रो कुनै आह्वान थिएन । आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन । अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदा समेत चुइँक्क बोलेको छैन। तर हाम्रो पार्टीकाहरूले स्वतः राजीनामा दिनुभयो ।’ अरू पार्टीले अपराधीहरूको संरक्षण गरेपछि आफूहरूले अनुसन्धानमा सघाउन पुर्याइरहेको दाबी गरे ।
‘नख्खु कारागारले सुरक्षा जोखिम छ भनेपछि रविलाई जिम्मा लिएका हौं’
रास्वपाले पार्टी सभापति रवि लामिछाने २४ भदौमा नख्खु कारागारबाट निस्कनका लागि कारागार प्रशासनले नै पटक–पटक फोन गरेर आग्रह गरेको बताएको छ । रास्वपा सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् । ‘सुरक्षा चुनौती छ भनेर उहाँहरूले नै अनुरोध गरेपछि, पटक–पटक दशौं मान्छेलाई फोन आएपछि उहाँ निस्कनु भएको अवस्था हो,’ उनले स्पष्ट पार्दै भनिन् ।
उनले कारागार प्रशासनले दिएको पत्रबारे कारागारले नै बोल्नुपर्ने बताइन् । ‘नख्खु कारागारको लेटरहेड प्रयोग भएर नै पत्र आएको छ । त्यसबारे त हामीले भन्दा पनि उहाँहरूले नै बोल्नुपर्ने होला नि,’ उनले भनिन् । पार्टी प्रवक्ता मनिष झाले पनि पत्रका बारेमा प्रश्न उठेकाबारे आपत्ति जनाए । उक्त पत्रमा भएको केरकारबारे चर्चा भए पनि त्यहीँ भएको हस्ताक्षर र स्ट्याम्पबारे भने कसैले चर्चा नगरेकोमा आपत्ति जनाए । ‘पत्रबारेमा प्रश्न उठेको हुन्छ । केरिएको ठाउँमा हस्ताक्षर र स्टाम्प देख्नु भएन,’ झाले भने ।