रास्वपा केन्द्रीय कार्यालय भवन खाली गर्न सूचना


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय भवन घरधनी भरतमणि देवकोटाले तीन महिनाभित्र खाली गरि दिन आग्रह गरेका छन् । देवकोटाले १० महिनाको भाडावापतको रकम र पार्टीलाई सापट दिएको ठूलो रकम नपाएको बताएका छन् । लामो समयसम्मको भाडा नपाएको र सुरक्षाको कारणले घर छोड्न रास्वपालाई जानकारी गराएको उनले बताएका छन् ।
अमेरिकामा रहेका देवकोटाले भने, ‘१० महिनाको भाडा वापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । के कति अहिले नभनौं ।’ देवकोटाका अनुसार मासिक तीन लाख ५० हजारमा घरभाडामा सहमति भएको थियो । रास्वपाको अनुशासन आयोगका प्रमुख रहेका देवकोटा अमेरिका गएपछि उनको स्थानमा अर्को व्यक्तिलाई कार्यवाहक तोकिएको थियो ।
पार्टीमा आफ्नो संलग्नता र घर भाडा फरक–फरक विषय भएको तर रास्वपाले त्यही अनुसारको व्यवहार नगरेको उनले बताएका छन् । ‘पार्टीमा म संलग्न हुने एउटा पाटो हो । घर भाडा अर्को विषय हो,’ देवकोटा भन्छन्, ‘पार्टीले त्यसलाई बुझ्ने गाम्भिर्यता देखाएन ।’ स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय त्यहाँ सानो भएको भनी देवकोटाको घर बनस्थलीमा सारिएको थियो । रास्वपा सभापति रवि लामिछाने दोस्रो पटक गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत नियुक्त भएका थिए ।