सन्तोषले पार्टी छाडे लगत्तै गणेशले भने–दुष्मन देखेपछि दुर्घटनामा पर्छ–पर्छ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको विवाद र असमति सतहमा देखिन थालेका छन् । शुक्रबार मात्रै पार्टीका निवर्तमान सांसद एवं विघटित प्रतिनिधिसभामा दलको प्रमुख सचेतक रहेका सन्तोष परियारले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । उनले महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाइसकेका छन् ।
परियारले पार्टी छाडे लगत्तै अर्का रास्वपा केन्द्रीय सदस्य गणेश कार्कीको पनि असन्तुष्टियुक्त अभिव्यक्ति दिएका छन् । कार्कीले फेसबुकमा स्टाटस राखेर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘समस्याहरू गल्छी भन्दा गहिरा छन् । खतराको झण्डा उठाउनेलाई नै दुष्मन देखेपछि दुर्घटनामा त पर्छ–पर्छ ।’ सँगै उनले अर्को प्रकृति बाँधेर पनि अभिव्यक्तिलाई जोडेका छन् । ‘भन्छन् नि–जति नराम्रो खबर ल्याए नि हुलाकीलाई गाली नगर,’ कार्कीले अगाडि लेखेका छन् ।
यसैबीच नेपाली कम्युनिष्ट पार्टीमा नगई ‘प्रगतिशील अभियान नेपाल’ चलाइरहेका जनार्दन शर्माले दल दर्ताको गृहकार्य अगाडि बढाएका छन् । जसमा रास्वपा छाडेका नेता सन्तोष परियारले पनि जोडिन पुगेका छन् । शुक्रबार रास्वपाको साधारण सदस्य समेत त्यागेका परियारले दल दर्ताको गृहकार्य भइरहेको बताएका हुन् ।
रास्वपा छाडेका सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की उपाध्यक्ष मानुषी यमी भट्टराई र अन्य केही दलका नेतालाई साथ लिएर नयाँ दल दर्ताको प्रयास भइरहेको नेताहरूले जनाएका छन् । त्यसकै लागि परियारले आजै शुक्रबारबाट रास्वपा परित्याग गरेका छन् । उनले नयाँ राजनीतिक अभियान चलाउने भन्दै राजीनामा पत्र बुझाएका छन् । परियारले पार्टी परित्यागअघि जनार्दन शर्मासहितका नेतासँग छलफल गरेका थिए ।
शुक्रबार कुपन्डोलस्थित शर्माको सम्पर्क कार्यालयमा भएको छलफलमा परियारसँगै नेसपा नयाँ शक्तिका डा. बाबुराम भट्टराई, मानुषी यमी भट्टराई, नेपाली कम्युनिष्ट पार्टीमा नगई प्रगतिशील राष्ट्रिय अभियानका संयोजक बनेका सुदन किराँती, राम कार्कीलगायतका नेताहरू सहभागी थिए । उनीहरूले शुक्रबार नै निर्वाचन आयोगमा नाम बुझ्नका लागि अभियानका एक केन्द्रीय सदस्यलाई खटाएका थिए । किराँतीले आफूहरू दल दर्ताको प्रयासमा रहेको बताए । ‘हामी निरन्तर छलफलमै छौं । साँझसम्म एउटा निचोडमा पुग्छौँ,’ उनले सुनाए । उनीहरू नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टी नेपालसँग पनि मिलेर जाने विषयमा निरन्तर संवादमा छन् ।
