`

आलोचकलाई सुमनाको जवाफ : हो, म अवसरवादी हुँ

Nepal One HD २७ कार्तिक २०८२ ८:१०
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमना श्रेष्ठले आफूलाई अवसरवादी भन्ने आलोचकहरूलाई एक कवितामार्फत जवाफ फर्काएकी छन् ।

सामाजिक सञ्जालमा बुधबार ‘म अवसरवादी !’ शीर्षकमा एक कविता सार्वजनिक गर्दै उनले देश र जनताको सेवा गर्ने अवसर खोज्नुलाई नै आफूले अवसरवाद मान्ने गरेको बताएकी छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता ‘पागल’ बाट प्रेरित रहेको उक्त कवितामा श्रेष्ठले जनताको पीडामा मलम लगाउने, अन्धकारमा आशाको बत्ती बाल्ने र न्यायको बाटोमा हिँड्ने अवसरलाई नै आफूले रोजेको बताएकी छन्।

‘यदि सेवा गर्नु अपराध हो भने, म त्यो अपराध स्वीकार्छु,’ कवितामा लेखिएको छ, ‘यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने, म पागलपन स्वीकार्छु ।’ कवितामार्फत उनले राजनीतिक मौनतालाई पनि अपराधको संज्ञा दिइन् । परिवर्तनको घडी रोकिएमा फेरि भ्रष्टहरूको दिन फर्कने चेतावनी दिँदै उनले लेखेकी छन्, ‘तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौं, अवसरवादी भनेर चिच्याउन सक्छौ, तर म मौन रहन्न, किन भने, मौनता पनि अपराध हो ।’

हेर्नुस् सुमनाको कविता :

म अवसरवादी !

हो, म अवसरवादी हुँ,
जनताको पिडामा मलम लगाउन खोज्नु,
अन्धकारमा आशाको बत्ती बाल्न खोज्नु,
न्यायको बाटोमा सत्यको साथमा हिँड्नु,
अवसर हो भने, त्यो अवसर म रोज्छु !

हो, म अवसरवादी हुँ,

किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु,
किनकि मलाई जनताको आँशु सुकाउनु छ,
र मलाई थाहा छ,
यो परिवर्तनको घडी, कसैले रोकिदियो भने,
फेरि भ्रष्टहरुको दिन आउनेछ, सर्वत्र अध्यारो छाउनेछ ।

तिमीहरू मलाई हाँसोमा उडाउन सक्छौ,
‘अवसरवादी !’ भनेर चिच्याउन सक्छौ,
तर म मौन रहन्न,
किनभने, मौनता पनि स्वीकृति हो ।
मौनता पनि अपराध हो ।

म अवसरवादी हुँ,
शब्दमा होइन, संकल्पको अर्थमा ।
म चाहन्छु अवसर, देशलाई फेरि उठाउने,
युवालाई आस्था दिलाउने,
राजनीतिलाई जनसेवा बनाउने ।

यदि सेवा गर्नु अपराध हो भने,
म त्यो अपराध स्वीकार्छु ।
यदि परिवर्तनमा विश्वास राख्नु पागलपन हो भने,
म पागलपन स्वीकार्छु ।
किनकि मैले देखेको छु,
बढ्दो भीडमा बारुदी आँखा,
लाचार आमा, रित्तो काँख
र मानेको छु – देश मरेको छैन,
देश त केवल निदाएको छ ।

त्यसैले हो, म अवसरवादी हुँ,
सपनाको पुनर्जन्मको अवसर खोज्दै ।
जब एकदिन, यो देश बिउँझन्छ,
त्यो बिहानको घामसँगै
मेरो नाम ‘अवसरवादी’ करार हुदा पनि,
सबै भन्दा खुसि मै हुनेछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *