रविको रिहाइ आदेशपछि तोशिमा भन्छिन्–न्याय ढिलो भए पनि ढोका खुल्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोशिमा कार्कीले सार्वजनिक धारणा राख्दै न्यायिक प्रक्रियाको ढिलासुस्ती र कठोरतामाथि गम्भीर प्रश्न उठाएकी छन् ।
पार्टी सभापति रवि लामिछानेलाई उच्च अदालत बुटवलले हिजो धरौटीमा छाड्न दिएको आदेशको सन्दर्भ जोड्दै उनले एक जनप्रतिनिधि, दुई–दुई पटक भारी मतले निर्वाचित व्यक्तिलाई धरौटीमा छुट्न समेत महिनौं कुर्नुपर्ने अवस्थाले आम नागरिकहरू वर्षौदेखि कसरी मुद्दा–मामिलामा अल्झिरहेका होलान् भन्ने यथार्थ चित्रण गरेको टिप्पणी गरेकी छन्।
कार्कीका अनुसार ‘म भाग्दिन, देश छोडेर जाँदिन, धरौटी र विगो तिर्छु, अनुसन्धानमा पूरा सहयोग गर्छु’ भन्ने स्पष्ट प्रतिबद्धताका बाबजुद पनि न्यायिक प्रक्रियाले समय लिँदा त्यसले न्याय प्रणालीको संवेदनशीलता र गतिशीलतामाथि प्रश्न खडा गरेको छ । ढिलै भए पनि पार्टी सभापति रवि लामिछाने अब थुनामुक्त भई बाहिरै रहेर मुद्दा लड्न पाउने अवस्थामा पुगेको उल्लेख गर्दै उनले यसलाई न्यायको ढोका खुलेको संकेतका रूपमा लिएकी छन्।
उनले रवि लामिछानेमाथि अन्याय र प्रतिशोध भएको विषयमा ४० लाख हस्ताक्षरले जनमत व्यक्त गरिसकेको स्मरण गराउँदै बुटवल उच्च अदालतको फैसलाले न्याय प्रणाली कठोर भए पनि अन्ततः धैर्यता, निडरता र निरन्तरतासामु झुक्न बाध्य भएको सन्देश दिएको टिप्पणी गरेकी छन् । यद्यपि पूर्ण न्याय अझै बाँकी रहेको भन्दै उनले अब पेसी सर्ने मात्र नभई चाँडै मुद्दाहरूको छिनोफानो भएर न्याय सुनिश्चित होस् भन्ने कामना व्यक्त गरेकी छन् ।
विगो र धरौटी दुवै तिर्छु भन्ने अभियुक्तको अधिकारलाई लिएर देशभर उत्सव जस्तो माहोल देखिनु आफैंमा हाम्रो न्याय प्रक्रिया कति क्रुर, निर्दयी र सुस्त छ भन्ने उदाहरण भएको कार्कीको भनाइ छ । उनले न्यायिक सुधारको आवश्यकता औंल्याउँदै ‘दुश्मनलाई बरु दिन लागोस्, मुद्दा नलागोस्’ भन्ने भनाइ यस्तै यथार्थबाट जन्मिएको बताएकी छन् ।
रवि लामिछानेको रिहाइलाई खुशीभन्दा बढी आशाको क्षणका रूपमा व्याख्या गर्दै कार्कीले यसले पार्टीभित्र नयाँ ऊर्जा र उत्साह थपेको बताइन् । अब सभापतिको भौतिक उपस्थिति र प्रत्यक्ष पहलमा वैकल्पिक शक्तिहरू एकीकृत हुँदै मध्यमार्गी मूलधारको निर्णायक शक्ति बन्ने विश्वास उनले व्यक्त गरिन् । आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतसहित विजयी भई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अङ्गमा आवश्यक सुधार गर्दै भ्रष्टाचारमुक्त सरकार निर्माण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
उनका अनुसार रवि लामिछानेको रिहाइसँगै पार्टीभित्र र बाहिर नयाँ शक्तिहरू एकीकृत हुने क्रम तीव्र भएको छ । रास्वपा थप सबल, सुदृढ र विस्तारित हुँदै भ्रष्टाचारविरुद्धको संघर्षमा अग्रपंक्तिमा उभिने संकेत देखिएको उनले दाबी गरिन् । अन्त्यमा उनले देशले खोजेको निकास र विकासको मार्ग अब रास्वपाले अघि बढाइरहेको भन्दै धैर्य गर्न आग्रह गरिन् । रास्वपा निलो क्रान्ति–अबको आशा रास्वपा’ भन्ने नारासहित उनले परिवर्तन, सुधार र आशाको दियो बलिरहेको सन्देश दोहोर्याएकी छन् ।
म भाग्दिन। देश छोडेर जाँदिन। धरौटी पनि तिर्छु। विगो पनि तिर्छु। अनुसन्धानलाई पनि पूरा सघाउँछु भनि अनुरोध गरिरहँदा पनि धरौटिमा छुट्नलाई समेत दुई दुई पटक भारी मतले जनताले रुचाएको मान्छेलाई त महिनौ लाग्दो रहेछ भने अरु सामान्य नागरीकहरु मुद्दा मामिलामा कति वर्ष देखि अल्झिरहेका होलान्…
— Dr.Toshima Karki (@ToshimaKarkiDr) December 18, 2025
