`

रविको चेतावनी : संसद पुनर्स्थापना भन्दै षड्यन्त्रको आँखा नचम्काइयोस्

Nepal One HD ६ पुष २०८२ १६:४१
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जेलबाट रिहा भएर करिब आठ महिनापछि पार्टी केन्द्रीय कार्यालयमा फर्किदा जनताको शक्तिमा आफ्नो विश्वास व्यक्त गरेका छन् । उनले ४० लाख नागरिकले हस्ताक्षर अभियानमार्फत समर्थन देखाएर ‘तपाईं एक्लै हुनुहुन्न’ भन्ने हौसला दिएको बताए । लामिछानेले भने, ‘मलाई जनताको ताकतमा पूर्ण विश्वास छ । मैले अझै विभिन्न व्यक्तिसँग भेटघाट गरेर कुरा बुझ्न बाँकी छ, त्यसपछि राजनीतिक टिप्पणी विस्तारमा गर्नेछु । न्यायको लडाइँ अझै जारी छ, तर म विश्वास गर्छु–सत्यले कहिल्यै हार्दैन ।’

उनले आफ्नो अनुपस्थितिमा पार्टीको जिम्मेवारी सम्हालेका कार्यवाहक सभापति डीपी अर्यालको योगदानको प्रशंसा गर्दै अन्य सबै सहकर्मीको योगदानलाई पनि स्मरण गरे । साथै, पार्टीबाट छुट्टिएका साथीहरूलाई शुभकामना दिँदै भने, ‘आफ्नै कारणले छुट्टिएर गएका साथीहरूलाई पनि म शुभकामना दिन चाहन्छु । हाम्रा लागि तपाईंहरूले धेरै योगदान दिनुभयो ।’

लामिछानेले संसद पुनर्स्थापनाका लागि भइरहेको गतिविधिप्रति चासो व्यक्त गर्दै षड्यन्त्रमा नचम्किन आग्रह गरे। उनले भने, ‘सुनिरहेको छु, संसद पुनर्स्थापनाका लागि दौडधुप सुरु भइसकेको छ । कुन संसद ब्युँझाउन खोजिएको हो ? जनताको मुद्दा राख्दाराख्दै माइक काट्ने संसद् ब्युँझाउन खोजिएको हो ? षड्यन्त्रको आँखा बन्द गर्नुहोस्, धेरै आँखा नचम्काउनुहोस् ।’

सिंहदरबारको भत्किएको संरचनालाई मात्र पुनर्निर्माण गर्ने होइन, त्यसलाई पूर्ण रूपमा बदल्नुपर्ने आवश्यकता भएको लामिछानेको भनाइ थियो । उनले जेनजीले गरेको योगदानलाई पूरा गर्नका लागि नयाँ संरचना निर्माण र सुधारको आवश्यकता रहेको पनि जोड दिए । लामिछानेले भने, ‘जनताको साथ र हौसला पाएका हामी अझै न्याय र परिवर्तनको यात्रामा लागिरहनेछौँ ।’

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *