`

एक्काको चाल म हो तर, अहिले चल्दिनँ : दुर्गा प्रसाई

विराटनगर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको दाबी गरेका छन् । काठमाडौंबाट गृह जिल्ला बिर्तामोड पुगेका उनलाई स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रसाईले प्रधान सेनापति अशोकराज सिग्देलले बोलाएर आफूलाई पहिलो पटक प्रधानमन्त्री बन्न अफर गरेको दावी गरे । चन्द्रगढी विमानस्थलमा उनलाई बाजागाजा र फूलमालासहित समर्थकले स्वागत गरेका थिए । उनले प्रधानसेनापतिको प्रस्ताव अस्वीकार गरेको पनि बताएका छन् ।

उनले भने, ‘मैले प्रधान सेनापतिलाई भने प्रधानसेनापति ज्यू ह्वाट नेक्स्ट ? यो सरकार फेलियर भएपछि सरकार थाम्ने को हो ? तासमा दहल, गुलाम, मिस्सी, बास्सा र एक्का हुन्छ । मिस्सी र बास्सा हुँदाहुँदै एक्का किन चलाउनु ?’ प्रसाईले आफू ‘एक्का’ भएको जिकिर समेत गरेका छन् । उनले अहिलेको राजनीतिको अन्तिम अस्त्र आफू नै भएको दाबी गरे । उनले भने, ‘दुर्गा प्रसाईले प्रधानमन्त्री सम्हालेको दिन २० लाख रूपैयाँभन्दा मुनिको ऋण मिनाहा हुनुपर्छ । मेरा एजेण्डा लागू हुनुपर्छ । उनले देशले गरिबका घरमा बडीगार्ड बिना गएर गुन्द्रुक र भात खान सक्ने प्रधानमन्त्री खोजेको भन्दै त्यसो गर्न सक्ने आफू भएको दाबी गरे ।

प्रसाईले शीर्ष तीन दलका नेता राजनीतिक सुकुमबासी भएको समेत टिप्पणी गरेका छन् । प्रसाईले भने, ‘जेनजी आन्दोलनपछि उनीहरूको उनीहरूको पैसा डढेको छ, घर जलेर नष्ट भएको छ । राजनीति सुकुमबासी भएका छन् ।’ अब उनीहरूलाई कसैले नपत्याउने प्रसाईले टिप्पणी गरे । ‘बङ्गलादेशको बाछिटा नेपालमा छिर्‍यो भन्दा सुरूमा मलाई पत्याएनन् । मैले त्यही बेला भनेको थिएँ तिमीहरू कट्टु लगाएर भाग्न पाउँदैनौँ भनेर । आज नेताको कुन हविगत भएको छ ?’, उनले प्रश्न गरे । प्रसाईले ओलीलाई वाल्मिकी बन्ने अवसर रहेको, कार्यकर्ता समेतले गल्ती गरेको र अब सच्चिएर आफ्नो घरमा आए आश्रय दिने बताए ।

दुर्गा प्रसाईको दावी : प्रधानमन्त्रीको अफर आएको थियो, जान्नँ भनें

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले जेनजी आन्दोलन लगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् । जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा आज (मंगलबार) सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।

भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्नँ भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदैछ ।’ उनले देशलाई अप्ठ्यारो पर्दा दुर्गा प्रसाईको अभियान अघि बढ्ने समेत दाबी गरे ।
‘जेनजी आन्दोलनमा पश्चिमाहरुको खेल छ, निर्णायक आन्दोलन गर्छौं’
मेडिकल व्यवसायी दुर्गा प्रसाईले जेनजीहरुको आन्दोलन पश्चिमाहरुको खेल रहेको टिप्पणी गरेका छन् । उनले आन्दोलनमा युवाहरुलाई उचालेर मार्ने पश्चिमाहरुको खेल रहेको दाबी गरेका हुन् । उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरु जेनजीका बच्चाहरुले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैंले एउटा पोष्ट गरें । यो भष्ट्रचारविरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको दुई घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो २८ वर्ष माथिका जानै हुँदैन ।

उनले भने, ‘कुनै राजनीतिक दल पनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टिमलाई यो खेल पश्चिमाहरुको खेल हो है भनेको थिए । त्यो अब प्रष्ट भयो । बच्चाहरु उचालेर मर्ने काम हुँदैछ भनेर टिमसँग सल्लाह गरें ।’ उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुप रेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।

‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरुको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो । यो त हुँदै नहुने कुरा भयो । हामी पनि छक्क पर्‍यौँ ।’ उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’

प्रसाईले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने धारणा राख्दै दशैँपछि हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । ‘हामी दशैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किराँत, बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनस्र्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’

बालेन पश्चिमाले खडा गरेका पात्र्, देशलाई संकटमा पार्दैछन् : दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड तथा आगजनीप्रति दुःख व्यक्त गरेका छन् । हिजो साँझ ७ मिनेट ११ सेकेण्डको भिडिओ सन्देशमार्फत सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, व्यक्ति, व्यापारीका घर, भाटभटेनीमा आगजनी र लुटपाट जसले गराएको त्यसले जिम्मा लिनुपर्ने उनले बताएका छन् ।

आन्दोलनमा आउन खोज्दा बालेनले नआउनू भनेकाले आफू र आफ्ना कार्यकर्ता नगएको उनले बताएका छन् । उनले भनेका छन्, ‘म चाहिँ यो कार्यक्रममा संलग्न छैन पनि । किनभने बालेनजीले नआउनू भनेर स्टाटस नै लेख्नु भएको थियो । यो कार्यक्रमको जिम्मा जसले गराएको हो, त्यसले लिनुपर्छ ।’

प्रसाईले नेपालमा पश्चिमाहरूको प्रभाव देखिन थालेको भन्दै यसको अन्तिम उद्देश्य भनेकै पश्चिमाहरूको डिजाइनमा यो देश कब्जा गर्ने रणनीति भएको दाबी गरेका छन् । उनले आन्दोलनका क्रममा घाइते भएका १५० जनालाई आफ्नो हस्पिटल बीएनसीमा निःशुल्क उपचार गरेर घर पठाउएको र अहिले पनि आईसीयूमा १५ जनाको सिरियस स्थितिमा बिना पैसा उपचार गरिरहेको पनि बताए । भिडिओमा प्रसाईले बुद्धिजीवीहरूका लागि भन्दै २०२८ सालदेखिका राजनीतिक घटनाक्रमबारे बोलेका छन् ।