भारतीय सुरक्षा संयन्त्रको निगरानीमा दुर्गा प्रसाई : दिल्ली विमानस्थलमै ‘केरकार’
काठमाडौं । राजसंस्था पुनर्स्थापनाको नारा दिएर राजनीतिक गतिविधि गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले भारतको उच्च सुरक्षा निकायको निगरानीमा परेका छन् । नेपालमा दलविरोधी र हिन्दुराष्ट्र पक्षधर आन्दोलनको तयारी गरिरहेका प्रसाईको गतिविधिले भारतको सुरक्षा चासो बढाएपछि भारतको बाह्य गुप्तचर निकाय ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ ले उनीमाथि निगरानी बढाएको उच्च सुरक्षा स्रोतहरूले पुष्टि गरेका छन् ।
भारत भ्रमणका क्रममा प्रसाईलाई दिल्ली विमानस्थलमै रोकेर सोधपुछ गरिएको छ । शुक्रबार साँझ नयाँदिल्लीबाट नेपाल फर्किने क्रममा उनलाई भारतीय अध्यागमन अधिकारीहरूले करिब ४० मिनेटसम्म केरकार गरेका थिए । अध्यागमनले उनलाई ‘होल्ड’ गरेपछि दिल्लीस्थित नेपाली दूतावाससम्म जानकारी पुगेको थियो । त्यसपछि राजदूत शंकर शर्माले भारतीय अधिकारीहरूसँग छलफल गरेपछि मात्र प्रसाईलाई नेपाल एयरलाइन्सको उडान आरए २१८ मार्फत काठमाडौं फर्किन अनुमति दिइएको स्रोतले जनायो ।
भारतले प्रसाईको गतिविधिले दुई देशबीचको सम्बन्धमा तनाव ल्याउन सक्ने भन्दै निगरानीमा राखेको बताइन्छ । दिल्लीस्थित भारतीय अधिकारीहरूले प्रसाईले ‘भारतको समर्थन रहेको’ भन्ने अतिरञ्जित अभिव्यक्ति दिइरहेको र त्यसले भारतको कूटनीतिक छविमा असर पार्न सक्ने निष्कर्ष निकालेका थिए ।
नेपालस्थित भारतीय दूतावासले पनि यसअघि नै प्रसाईको भारत भ्रमणबारे परराष्ट्र मन्त्रालयसँग चासो लिएको थियो । भारतले उनलाई नेपालबाट उड्नै नदिने तयारी गरेको भए पनि नेपाली गृह मन्त्रालयले ‘अहिले रोके अर्को झमेला हुन्छ’ भन्दै विमानस्थल अध्यागमनलाई नरोक्न निर्देशन दिएको स्रोतको दाबी छ ।
दिल्ली पुगेपछि प्रसाईले भारतका केही नेतासँग भेट्न खोजे पनि रअले कडाइका साथ रोकेको बताइन्छ । स्रोतका अनुसार भारतका कुनै पनि दलका नेता वा अधिकारीले उनलाई भेट्ने अनुमति पाएका थिएनन् । भारतले आफ्नो औपचारिक धारणा सार्वजनिक गर्दै ‘प्रसाईको राजनीतिक सक्रियतासँग भारतको कुनै सरोकार छैन’ भन्दै दूरी कायम गरेको भारतीय टेलिभिजन एनडीटीभीले हालै उद्धृत गरेको थियो । भारतीय अधिकारीहरूका अनुसार नेपालसँग स्थिर सम्बन्ध कायम राख्न केन्द्रित भारत अहिले कुनै पनि प्रकारको आन्तरिक हस्तक्षेप गर्न नचाहने पक्षमा छ ।
दिल्ली विमानस्थलमा केरकारपछि प्रसाईले इमेलमार्फत नेपाल सरकारमाथि नै रोकेको आरोप लगाएका छन् । उनले विशेष गरी नेपाली राजदूत शर्मामाथि आक्रोश पोख्दै भने, ‘मलाई भारतले होइन, नेपाल सरकारले रोक्ने प्रयास गरेको हो । कांग्रेसका नेताहरू स्वतन्त्र रूपमा विदेश जाने तर मलाई स्वदेश फर्कनै नदिने ? यो के प्रकारको प्रशासन हो ?’ तर, दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीका अनुसार प्रसाईलाई भारतको सुरक्षा संयन्त्रले निगरानीमा राखेको र दूतावासको आग्रहमा मात्र उनलाई फर्कन अनुमति दिइएको थियो ।
यसअघि गत चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि प्रसाई भारतको काँकडभिट्टा नाकामार्फत फरार भएका थिए । त्यतिबेला उनी दिल्ली, प्रयागराज र लखनउसम्म पुगेको प्रहरी अनुसन्धानले देखाएको थियो । प्रसाईले त्यस क्रममा भारतीय जनता पार्टी (बीजेपी) नजिकका राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रदेश नेतासँग पनि सम्पर्क गरेको प्रमाण प्रहरीले फेला पारेको थियो । तर, भारतले उनको त्यस्तो सम्पर्कलाई औपचारिक रूपमा अस्वीकार गर्दै कुनै सहयोग नगरेको स्पष्ट पारेको थियो ।
त्यसैबेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रदर्शन गर्दै उनले ‘भारत हाम्रो साथमा छ’ भन्ने सन्देश दिन खोजेका थिए । तर, पछि मुख्यमन्त्री आदित्यनाथले नेपाली राजदूतसँग भेटमा ‘नेपालको आन्तरिक विषयमा कुनै पोजिसन छैन’ भन्दै आफू तटस्थ रहेको प्रष्ट पारेका थिए ।
