दुर्गा प्रसाईको चेतावनी : व्यवस्था परिवर्तन नभएसम्म मेची–महाकाली ठप्प हुन्छ
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले व्यवस्था परिवर्तन नभएसम्म मेची–महाकालीसम्मको सम्पूर्ण व्यवसायिक गतिविधि ठप्प हुने चेतावनी दिएका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले आगामी ७ मंसिरदेखि अनिश्चितकालीन आन्दोलन घोषणा गरेका छन्। प्रसाईंले भने, ‘व्यवस्था परिवर्तन नभएसम्म म महेन्द्र राजमार्गमा लगातार बस्नेछु । पूर्वी मेचीदेखि पश्चिमी महाकालीसम्म सबै दोकान, पसल र व्यवसाय बन्द हुनेछन् । नागरिकहरूले घरमै बस्नु पर्छ र आवश्यक परे मात्र बाहिर निस्किनु पर्छ ।’
उनले आन्दोलन रोक्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । उनले नेपाल प्रिमियर लिग (एनपीएल) सञ्चालनलाई मुद्दा नबनाउन समेत आग्रह गरे । उनले थपे, ‘एनपिएल १५ दिन ढिला हुँदा पनि खेलाडीहरु बुढो हुँदैनन् । घरमै बसेर एनपीएल हेर्नुहोस् । आन्दोलनमा बाधा नपार्नु होला ।’
पत्रकारले देशभर आन्दोलन हुँदा क्रिकेट खेलाडीहरु मैदानमा कसरी पुग्ने हुन् भन्ने प्रश्न गर्दा प्रसाईंले हँसाउँदै जवाफ दिए, ‘खेलाडी त कुदेर पनि पुग्छन् नि । प्रश्नमाथि प्रश्न नगर्नुस् । हामी मुख्य कुरा व्यवस्थामा छौं ।’ उनको यो कदमले व्यवसाय, यातायात र दैनिक जीवनमा व्यापक असर पर्न सक्ने देखिन्छ । विशेष गरी महेन्द्र राजमार्ग अवरुद्ध हुँदा पूर्व–पश्चिम आवाजाही ठप्प हुने, व्यापारमा ठूलो घाटा हुने र नागरिक जीवन प्रभावित हुने आशंका व्यक्त गरिएको छ ।
