दुर्गा प्रसाईंलाई भेट्न हिरासत पुगेका नौं जना पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पुगेका नौं जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन् । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए । उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ का संयोजक समेत रहेका प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुसन्धानका लागि प्रसाईंलाई चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । मेडिकल व्यवसायी प्रसाईंलाई प्रहरीले गए राति उनकै निवास पुगेर पक्राउ गरेको थियो ।
प्रसाईं मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने भन्दै त्यसको तयारीमा लागेको अभिव्यक्ति दिँदै आइरहेका थिए । उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ । सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो । दुर्गा प्रसाईलाई पक्राउ गरेको विरोधमा उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् । प्रसाईंका समर्थकले जिल्ला प्रशासन कार्यालय काठमाडौंअघि अहिले नारा जुलुशसहित विरोध जनाइरहेका छन् । त्यहाँ प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ । उनीहरूले प्रसाईलाई छाड्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । मंसिर ७ बाट आन्दोलनको तयारीमा रहेका प्रसाईलाई हिंसा भड्किने तथा अराजक गतिविधि गर्न उक्साउन अभिव्यक्ति दिएको भन्दै प्रहरीले मध्यरातमा पक्राउ गरेको थियो ।
